+
+
Shares

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

रासस रासस
२०८३ कात्तिक २९ गते ७:१४

२९ कात्तिक, भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।

भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती गर्न थालेको बताइन् । जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताइन् ।

बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवाखेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवाखेती विकल्प बनेको उनले बताइन् ।

अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छन् । अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछिन् । अदुवाखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ ।

अदुवा स्थानीय बजारमा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको पोखरेलले बताइन् । अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि खासै समस्या नरहेको उनको भनाइ छ । स्थानीय बजारमा राम्रो मूल्य पाउने र तथा धुलो बनाएर पनि बिक्री गर्न सकिने भएकाले नष्ट हुने सम्भावना कम रहेको पोखरेले बताइन् ।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । खेतबारीमा लगाएको धान, मकै, कोदोलगायतका बाली नष्ट गर्ने भएकाले बाँदर किसानको मुख्य समस्याका रूपमा देखिएको छ । स्थानीयस्तरमा अदुवाको बजार मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?