News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमका गाउँघरमा असार–साउनमा रोपेको धान पाकेपछि किसान धान काट्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् ।
- म्याङलुङ–५ का किसान खेम लिम्बूका अनुसार युवा विदेश र शहर पस्दा गाउँमा कृषि काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ ।
- म्याङलुङ–६ की किसान विरुदा बुढाथोकीले बाली बचाउन बिहानदेखि बेलुकासम्म खेतमै काम गर्नुपरेको बताइन् ।
२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई धान थन्क्याउने चटारो परेको छ ।
किसानका लागि यो समय खुसीसँगै चिन्ताको पनि हो । खेतमा पाकेर पहेँलिएको धान समयमै भित्र्याउन नसके वर्षा, हावाहुरी र अन्य प्राकृतिक प्रकोपले क्षति पुर्याउने डर उत्तिकै छ । त्यसैले बिहानको झिसमिसेदेखि साँझ नपरेसम्म किसान खेतबारीमै व्यस्त देखिन्छन् ।
कोही कचिया लिएर धान काटिरहेका छन् त कोही काटेको धान बोकेर खलियानसम्म पुर्याउन व्यस्त छन् । कतै धानका बिटा लगाइँदै छ भने कतै दाउनी गरेर धान र पराल छुट्याउने काम भइरहेको छ । म्याङलुङ नगरपालिका–५ का किसान खेम लिम्बूका अनुसार पछिल्लो समय गाउँमा कृषि काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ ।
पहिले गाउँका युवा, महिला र पुरुष मिलेर सामूहिक रूपमा खेतीपाती गर्ने चलन थियो। अहिले रोजगारीका लागि युवा पुस्ता विदेशिने र शहर पस्ने क्रम बढेपछि गाउँमा खेतबारीको काम गर्ने उमेर ढल्केका मानिस मात्रै बढी छन् । नगद दिएर कामदार खोज्दा पनि सहजै नपाइने अवस्था रहेको लिम्बूले बताए । धान काट्ने मौसममा गाउँघरमा देखिने अर्मपर्मको परम्परा अझै कायम छ । एकअर्काको खेतमा पालैपालो काम सघाउने चलनले किसानलाई केही राहत दिएको छ । तर परिवारका सदस्य नै कम हुँदै गएपछि पुरानो श्रम संस्कृतिले पनि सबै समस्या समाधान गर्न सकेको छैन । पहिले छिमेकी र आफन्त मिलेर एकै दिनमा धेरै खेतको धान काट्ने गरिन्थ्यो। अहिले भने थोरै जनशक्तिका भरमा धेरै काम सक्नुपर्ने बाध्यता छ ।
म्याङलुङ नगरपालिका–६ की किसान विरुदा बुढाथोकीलाई यतिबेला बिहानदेखि बेलुकासम्म खेतमै बिताउनुपरेको छ । पाकेको धान खेतमै राखिरहँदा मौसम बिग्रिने डर हुन्छ । त्यसैले थकान र उमेरको पर्वाह नगरी उहाँ बाली भित्र्याउने काममा जुटि रहेका छन् ।
‘बिहानै खेत पुगिन्छ, बेलुका घर फर्किँदा शरीर थाकेर चुक्छ, तर बाली बचाउनुपर्छ भन्ने हुटहुटीले सास फेर्नसमेत फुर्सद हुँदैन,’ उनी भन्छिन् । धान काट्ने मौसमसँगै गाउँघरमा पहिले देखिने रमाइलो वातावरण पनि अहिले केही बदलिएको छ । कुनै समय धान काट्ने र दाउनी गर्ने क्रममा किसानहरू सामूहिक रूपमा जुट्थे। कामसँगै लोकभाका गाउने, हाँसोठट्टा गर्ने र एकअर्कालाई सघाउने चलन थियो। धान काट्दै, बोकेर खलियानसम्म पुर्याउँदै र दाउनी गर्दै बित्ने दिनले गाउँमा छुट्टै रौनक ल्याउँथ्यो।
किसान रविन्द्र लिम्बूका अनुसार अहिले पनि धान काट्ने र थन्क्याउने क्रममा पुरानो संस्कृतिको झल्को देखिन्छ । तर पहिलेको जस्तो सामूहिक सहभागिता र सहजता भने छैन ।
‘धान काट्दै, बोक्दै, गीत गाउँदै खेतमा रमाउने पुरानै माहोल त छ,’ उनले भने , ‘तर हतारो, अभाव र चिन्ताले अहिलेको मेहनत अरू वर्षजस्तो सहज छैन ।’
तेह्रथुमका ग्रामीण बस्तीमा अझै पनि धेरै परिवारको जीविकोपार्जनको मुख्य आधार कृषि नै हो । धान खेती उनीहरूको खाद्यान्न सुरक्षासँग प्रत्यक्ष जोडिएको छ । तर पछिल्लो समय युवा जनशक्तिको पलायन, खेतीयोग्य जमिन बाँझिने क्रम र कृषि श्रमको बढ्दो अभावले परम्परागत खेती कम हुँदै गएको छ ।
प्रतिक्रिया 4