News Summary
Generated by OK AI. Editorially reviewed.- केजीएफले पाँच रुपैयाँमा खाना खुवाउने अभियानलाई निरन्तरता दिन ५ मंसिर शनिबार बिर्तामोडको न्युटन स्कुलअगाडि च्यारिटी कन्सर्ट गर्ने भएको छ।
- सामाजिक सांस्कृतिक खेलकुद कृषि मानव सेवा प्रतिष्ठान केजीएफले ‘हरेक दिन खाना’ अभियानमार्फत आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा भोजन उपलब्ध गराउँदै आएको छ।
- कन्सर्टमा अभया एन्ड द स्टिम इन्जिन्स, यबी द गोट, प्रशान्त शिवाकोटी र बादल लिम्बूले प्रस्तुति दिने आयोजकले जनाएको छ।
१ मंसिर, बिर्तामोड । विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा सक्रिय केजीएफले आफ्नो भोजन अभियानलाई निरन्तरता दिन तथा सामाजिक सेवाका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले आगामी ५ मंसिर शनिबार बितामोडस्थित न्युटन स्कुलअगाडि सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
केजीएफ अर्थात् सामाजिक सांस्कृतिक खेलकुद कृषि मानव सेवा प्रतिष्ठानले ‘हरेक दिन खाना’ अभियान सञ्चालन गर्दै आएको छ ।
संस्थाले सार्वजनिक गरेको विवरणमा समेत ‘यो ब्रह्माण्डमा सबैलाई बाँच्ने अधिकार छ, तर कोही खाना नपाएर मर्ने अवस्था छ’ भन्ने मान्यतालाई अभियानको आधार बनाइएको बताएको छ ।
यस अभियानअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना उपलब्ध गराइँदै आएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार दैनिक भोजन व्यवस्थापनमा ठूलो रकम खर्च हुने गरेको छ र सहयोगी हातहरूको साथबाट अभियानलाई निरन्तरता दिइँदै आएको छ ।
केजीएफका संस्थापक अध्यक्ष ये हाङका अनुसार खाना खुवाउने अभियान कुनै प्रचार वा दया देखाउने उद्देश्यले नभई भोकका कारण कसैले पनि अपमानित वा असहाय महसुस गर्न नपरोस् भन्ने सोचबाट सुरु गरिएको हो ।
‘हामीले पाँच रुपैयाँमा खाना खुवाउनुको उद्देश्य पैसा कमाउनु होइन, खाना खान नसक्ने अवस्थामा रहेका मानिसलाई सम्मानपूर्वक भोजनको पहुँच दिनु हो । हाम्रो समाजमा कोही मानिस भोककै कारण मर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो । त्यसैले हामीले आफ्नो क्षमताअनुसार यो अभियान सुरु गरेका हौं,’ हाङले भने ।
च्यारिटी कन्सर्टमा विभिन्न पुस्ताका कलाकार तथा संगीतकर्मीको प्रस्तुति रहनेछ । कार्यक्रममा अभया एन्ड द स्टिम इन्जिन्स, यबी द गोट, प्रशान्त शिवाकोटी तथा नेपाली आइिडयल विजेता गायक तथा संगीतकार बादल लिम्बूले प्रस्तुति दिने आयोजकले बताएको छ ।
विशेषगरी पाँच रुपैयाँमा खाना खुवाउने अभियानलाई निरन्तरता दिन तथा आवश्यकतामा रहेका व्यक्तिसम्म भोजनको पहुँच पुर्याउन कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा संस्थाको छ ।
केजीएफले मानव सेवासँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ ।
‘हामीले सुरु गरेको अभियानलाई हाम्रो मात्रै भनेर सीमित गर्न चाहँदैनौँ। समाजमा कोही भोकै नबसोस् भन्ने चाहना सबैको हुनुपर्छ। च्यारिटी कन्सर्टमार्फत हामी यही सन्देश फैलाउन चाहन्छौं,’ हाङले भने।
प्रतिक्रिया 4