+
+
Shares

काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं–तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ र ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको ब्रेकथ्रु भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले सुरुङ ब्रेकथ्रु गर्दै द्रुतमार्ग सम्पन्न भएपछि यात्रा समय, इन्धन खर्च र सञ्चालन खर्च घट्ने तथा आर्थिक विकासमा योगदान पुग्ने बताए।
  • नेपाली सेनाले खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहण विवाद समाधान भएपछि ६.५ किलोमिटर सडक खण्डको ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने जनाएको छ।

२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको पनि आज ब्रेकथ्रु भएको छ ।

३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन् । सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै अब थप सुरुङ निर्माणका काम अघि बढ्ने सेनाको अपेक्षा छ ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । उच्च प्रविधियुक्त पुलसहित द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अघि बढिरहेको सेनाले जनाएको छ ।

तर, आयोजना निर्माणका क्रममा ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद अझै चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ ।

यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताए ।

उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा समय र दूरी घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने बताए ।

राष्ट्रपति पौडेलले द्रुतमार्गले भौतिक पूर्वाधारमा मात्रै नभई सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने बताए । उनका अनुसार यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउनेछ ।

‘काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने, ‘यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ ।’

द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे । विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए ।

उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?