२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले विस्तारित स्वास्थ्य सेवा (ईएचएस) विस्तार गरेको छ । अस्पतालले सोमबारदेखि शुक्रबारसम्म हरेक दिन अपराह्न ४ बजेदेखि यो सेवा सञ्चालन गर्दै आएको छ ।
यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् ।
अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार विस्तारित स्वास्थ्य सेवा छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । बिरामीको दर्ता, टिकट, बिलिङ तथा प्रयोगशाला र रेडियोलोजिकल परीक्षणका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ ।
यसले सेवा प्रवाहलाई व्यवस्थित बनाउनुका साथै बिरामीको प्रतीक्षा समय घटाउन सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।
यो सेवाको एउटा महत्त्वपूर्ण पक्ष शल्यक्रिया पनि हो । चिकित्सकीय रूपमा शल्यक्रियाका लागि उपयुक्त ठहरिएका र शल्यक्रियापूर्व गरिने एनेस्थेसिया परीक्षण (पीएसी) पूरा गरेका बिरामीको तीन कार्यदिनभित्र शल्यक्रिया गर्न सकिने व्यवस्था गरिएको रोस्याराले जानकारी दिए ।
यस्तो शल्यक्रिया वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछ ।
नियमित कार्यालय समयमा अस्पताल आउन नसक्ने कर्मचारी, व्यवसायी तथा अन्य पेसाकर्मीलाई यो सेवाले विशेष सुविधा पुग्ने अस्पतालको विश्वास छ ।
बिरामीले छुट्टै सेवा प्रणालीमार्फत विशेषज्ञ चिकित्सकको परामर्श र आवश्यक स्वास्थ्य परीक्षणसमेत सहज रूपमा गराउन सक्नेछन् ।
हाल आइतबारबाहेक सातामा पाँच दिन सञ्चालन भइरहेको यो सेवा आगामी दिनमा आइतबारसमेत विस्तार गर्ने अस्पतालको तयारी छ ।
प्रतिक्रिया 4