+
+
Shares
रिपोर्ट :

शवको सनाखत गर्नै सास्ती

यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: परिवार चिनेर जिम्मा लगाउनु हो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ भदौ १८ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि शिक्षण अस्पतालको शवगृहमा भोटेकोशी बाढी र अन्य विपद्का १७७ शव आएपछि पहिचान र व्यवस्थापनमा चाप बढेको छ ।
  • डा. गोपाल चौधरीका अनुसार १२९ शवको पोस्टमार्टम सकिएको, ८५ अस्थायी गाड्न पठाइएको र २१ शव परिवारले पहिचान गरी लगेका छन् ।
  • अनुहारले सनाखत गर्न नसकिएकाले मृतक र आफन्तको नमुना मिलाएर डीएनए प्रोफाइलिङबाट पहिचान गर्ने काम भइरहेको छ ।

१८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृह बाहिर एउटा दर्दनाक दृश्य देखिन्छ ।

कोही रुँदै आफन्तका तस्वीर नियालिरहेका छन् त कोही शवगृहको ढोकातिर टोलाउँदै छन् । कसैको आँखामा आशा झल्किन्छ त कसैको अनुहारमा निराशाको बादल मडारिइरहेको छ । कोही आफन्त हराएको पीडा सहन नसकेर भुइँमै मुर्छित भइरहेका छन् ।

अस्पताल परिसरमा एम्बुलेन्स र शववाहन आउने–जाने क्रम जारी छ । पीपीई लगाएका सुरक्षाकर्मी र उद्धारमा खटिएका युवाहरू एम्बुलेन्सबाट शव निकालेर शवगृहभित्र लैजान व्यस्त छन् ।

यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: सही परिवारको जिम्मा लगाउनु हो ।

भोटेकोशी बाढी तथा अन्य विपद्बाट ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिका शव टिचिङ अस्पतालमा ल्याइएपछि अहिले शवगृह क्षमताभन्दा बढी चापमा छ ।

टिचिङ अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पछिल्लो तथ्यांकमा अस्पतालमा १७७ शव व्यवस्थापनका लागि आएका छन् । तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भएको छ । ८५ शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने २१ शव परिवारले पहिचान गरी लगिसकेका छन् ।

यो संख्या अस्पतालको क्षमताभन्दा निकै बढी हो । टिचिङ अस्पतालमा करिब १५० शव राख्न सक्ने क्षमता छ । त्यो क्षमता पहिले नै नाघिसकेको छ । ठाउँ अभाव भएपछि एकै दिन करिब ३१ शव पशुपतिको चिस्यान गृहमा पठाउनुपरेको डा. चौधरी बताउँछन् ।

८–९ दिनपछि अनुहारले पहिचान हुँदैन शव

बाढीमा बेपत्ता भएका धेरै व्यक्तिका शव लामो समयपछि फेला परेका छन् । ८–९ दिन बितिसकेकाले अधिकांश शवमा कुहिने प्रक्रिया अर्थात् डिकम्पोजिसन अत्यधिक भइसकेको छ ।

त्यसको असर शवको स्वरूपमा स्पष्ट देखिन्छ । अनुहार बिग्रिएका छन् ।  कतिपय टुक्रा–टुक्रा छन् । सग्लो देखिने शवसमेत अनुहार हेरेर पहिचान गर्न कठिन छ ।

टिचिङ अस्पतालमा शव व्यवस्थापनमा खटिएका एसपी प्रदीप सिंहका अनुसार अहिले अनुहार हेरेर सनाखत गर्ने अवस्था लगभग समाप्त भएको छ ।

‘ट्याटु, हातखुट्टाको विशेष अवस्था वा शरीरमा रहेका अन्य विशिष्ट चिह्नबाट केही शव पहिचान गर्न सकिने अवस्थामा छन्,’ उनी भन्छन्, ‘तर अधिकांश शव अनुहार हेरेर मात्र पहिचान गर्न सम्भव छैन ।’

त्यसैले अस्पताल परिसरमा विशेष पहिचानयोग्य चिह्न भएका शवका तस्वीर राखेर आफन्तबाट सनाखत गराउने प्रयास भइरहेको छ । तर टुक्रा–टुक्रा अवस्थामा आएका शवका लागि तस्वीर राखेर पनि पहिचान गराउन कठिन छ । यही कारण अहिले शवको पहिचानको सबैभन्दा भरपर्दो माध्यम डीएनए प्रोफाइलिङ बनेको छ ।

अनुहार होइन, डीएनएले चिनाउँछ

मानिसको शरीरको बाहिरी स्वरूप नष्ट भए पनि डीएनएमा रहेको आनुवंशिक सूचना सहजै हराउँदैन । त्यसैले डिकम्पोज्ड वा टुक्रा–टुक्रा अवस्थामा रहेका शवको वैज्ञानिक पहिचानका लागि डीएनए परीक्षण महत्वपूर्ण बनेको छ ।

डा. चौधरीका अनुसार मृतकको नमुना टिचिङ अस्पतालमै संकलन गरिन्छ । आफन्तको नमुना भने महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा संकलन गरिन्छ ।

डीएनए मिलानका लागि सबैभन्दा नजिकको रक्तसम्बन्ध भएका व्यक्तिको नमुना उपयोगी हुन्छ । विशेषगरी आमा, बुबा, छोरा वा छोरीबाट लिइएको नमुनासँग मिलान गर्दा पहिचानको सम्भावना उच्च हुन्छ ।

यस प्रक्रियाले आफन्तलाई शव हेरेर अनुमान गर्नुपर्ने बाध्यताबाट पनि जोगाउँछ । किनकि, विपद्मा ज्यान गुमाएका व्यक्तिको शव अत्यधिक बिग्रिएको अवस्थामा आफन्तले भावनात्मक दबाबमा गलत सनाखत गर्न सक्ने सम्भावना पनि रहन्छ ।

‘शव बाहिर राख्न मिल्दैन’

शवको संख्या बढ्दै जाँदा भण्डारणमा समस्या भएको छ । विशेषगरी डिकम्पोज्ड शवलाई खुला वा सामान्य वातावरणमा राख्न मिल्दैन । शवबाट निस्कने दुर्गन्ध र जैविक जोखिमका कारण बन्द तथा उपयुक्त चिस्यानयुक्त स्थानमा राख्नुपर्ने हुन्छ । तर अस्पतालको शवगृहको क्षमता सीमित छ ।

‘कुहिएका शव बाहिर राख्न मिल्दैन,’ डा. चौधरी भन्छन्, ‘दुर्गन्ध फैलिन्छ, संक्रमणको जोखिम बढ्छ । त्यसैले सीमित क्षमताभित्रै बन्द ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’

यसको असर शवगृहमा मात्र परेको छैन, लगातार शव व्यवस्थापन भइरहेकाले अस्पताल आसपासको वातावरणसमेत प्रभावित भएको छ । बिरामी, बिरामीका आफन्त तथा नजिकै रहेका अन्य संस्थासमेत दुर्गन्धबाट प्रभावित भएका छन् ।

एक हप्तादेखि लगातार काम, कर्मचारीमा थकान

शवको संख्या र अवस्था जति चुनौतीपूर्ण छ, त्यसलाई व्यवस्थापन गर्ने जनशक्तिको अवस्था पनि त्यत्तिकै कठिन छ ।

एक साताभन्दा बढी समयदेखि चिकित्सक, प्रहरी र कर्मचारीहरू लगातार डिकम्पोज्ड शवसँग काम गरिरहेका छन् । दुर्गन्ध, गर्मी, जैविक जोखिम र मानसिक दबाबका बीच उनीहरू दिनरात खटिएका छन् ।

तर, फरेन्सिक चिकित्सकको संख्या सीमित भएकाले पर्याप्त रोटेसन गर्न सकिने अवस्था छैन । लगातार एउटै प्रकारको अत्यन्त संवेदनशील र मानसिक रूपमा कठिन काम गर्नुपर्दा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा शारीरिक र मानसिक थकान बढिरहेको छ ।

शव व्यवस्थापन आफैंमा प्राविधिक मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि कठिन काम हो । एकातिर शवको अवस्था हेर्नुपर्ने बाध्यता छ, अर्कोतिर बाहिर आफन्तहरू आफ्नो मान्छे भेटिने आशामा प्रतीक्षारत छन् ।

‘सबै शव काठमाडौं ल्याउनुपर्ने अवस्था’

काठमाडौं जिल्लामा विपद्बाट आएका शवको पोस्टमार्टम गर्ने प्रमुख केन्द्र टिचिङ अस्पताल भएकाले विभिन्न जिल्लाबाट शव यहाँ ल्याउने क्रम जारी छ ।

बाढी प्रभावित जिल्लाबाट शव ल्याइँदै छ । तर सबै शव एकैपटक काठमाडौं ल्याउँदा टिचिङमा चाप झन् बढ्छ । डा. चौधरीका अनुसार सकेसम्म सम्बन्धित जिल्लामै प्रहरी र चिकित्सक परिचालन गरेर प्रारम्भिक पहिचान, नमुना संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था प्रभावकारी हुनसक्छ ।

तर, त्यसका लागि सम्बन्धित ठाउँमा फरेन्सिक विशेषज्ञ, आवश्यक पूर्वाधार र डीएनए नमुना संकलनको सुविधा उपलब्ध हुनुपर्छ ।

अहिले त्यो सुविधा सबै प्रभावित क्षेत्रमा समान रूपमा उपलब्ध छैन । त्यसैले पहिचान हुन नसकेका वा थप फरेन्सिक परीक्षण आवश्यक भएका शव टिचिङ अस्पताल ल्याउने गरिएको छ । स्थलगत रूपमा सनाखत भएका शव भने त्यहीँ आफन्तलाई जिम्मा लगाएर पठाउने गरिएको छ ।

शवगृहमा प्रहरीको अर्को काम– फोटो हेर्दै सनाखत

शवगृहभित्र प्रहरीहरू पालैपालो खटिएका छन् । एउटै टोली लामो समयसम्म डिकम्पोज्ड शवसँग काम गर्न नसक्ने भएकाले प्रहरीहरू परिवर्तन भएर काम गरिरहेका छन् ।

बाहिर आफन्तहरू शवको तस्वीर हेरेर आफ्नो मान्छे खोजिरहेका हुन्छन् ।  भित्र प्रहरीहरू शवको विवरण टिपिरहेका हुन्छन् । चिकित्सकहरू पोस्टमार्टम र नमुना संकलनमा व्यस्त छन् । यसरी अहिले टिचिङको शवगृह शव राख्ने ठाउँ मात्र नभई पहिचानको केन्द्र बनेको छ ।

शवको अवस्था, शरीरमा रहेका विशेष चिह्न, कपडा, गहना वा अन्य विवरणले सम्भावित पहिचानतर्फ संकेत गर्छ । त्यसपछि आवश्यकताअनुसार डीएनए परीक्षणबाट वैज्ञानिक रूपमा पुष्टि गर्ने प्रक्रिया अघि बढ्छ ।

दुर्गन्धबीच सरसफाइमा युवा

टिचिङ अस्पतालको शवगृहमा शव व्यवस्थापनसँगै सरसफाइको चुनौती पनि उत्तिकै ठूलो छ । ८–९ दिनसम्म कुहिने अवस्थामा रहेका शवबाट निस्कने दुर्गन्ध, चुहिने रगत तथा अन्य जैविक फोहोरका कारण शवगृह वरपरको वातावरण असहज बनेको छ । यस्तो अवस्थामा शव ल्याउने, भित्र लैजाने र पहिचानको प्रक्रियामा सहयोग गर्ने कामसँगै तत्काल सरसफाइ गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ ।

यही काममा अहिले युवाहरूको समूह खटिएका छन् । पीपीई, मास्क, सेनिटाइजर र फिनाइल प्रयोग गरेर उनीहरू शवगृह वरपरको क्षेत्र सफा राख्ने प्रयास गरिरहेका छन् ।

एम्बुलेन्सबाट शव निकाल्दा चुहिएको रगत वा अन्य फोहोर तत्काल सफा गर्ने, बाटो पखाल्ने तथा शव व्यवस्थापनका क्रममा आवश्यक सहयोग गर्ने काम उनीहरूले गरिरहेका छन् ।

शवको संख्या धेरै भएकाले काम निरन्तर चलिरहेको छ । एउटा समूहले केही समय काम गरेपछि अर्को समूहले जिम्मेवारी सम्हाल्ने गरी दुई सिफ्टमा युवा परिचालन गरिएको छ । एकैपटक धेरै शव आउँदा केही समयमै शवगृह वरपरको अवस्था फेरि उस्तै हुने भएकाले सरसफाइको काम पनि पटक–पटक दोहोर्‍याउनुपर्ने अवस्था छ ।

शवसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नु शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि कठिन छ । अझ कतिपय शव चिन्नै नसकिने गरी बिग्रिएको र कतिपय टुक्रा–टुक्रा रहेकाले त्यसको व्यवस्थापनमा खटिएका युवाहरूले पनि असहज महसुस गरिरहेका छन् ।

तैपनि, शवगृह बाहिर आफन्तको प्रतीक्षामा बसेका परिवारलाई थप पीडा नहोस् र अस्पताल परिसरमा संक्रमण तथा दुर्गन्धको जोखिम कम होस् भनेर उनीहरू काम गरिरहेका छन् ।

विपद्को सुरुवाती दिनदेखि नुवाकोटलगायत क्षेत्रमा उद्धारमा खटिएको यो टोली अहिले शव व्यवस्थापनमा केन्द्रित भएको हो । टिमका अनुसार राज्यका सम्बन्धित निकायसँग समन्वय गरेर काम भइरहेको छ ।

शव आउने क्रम तीव्र, जाने क्रम सुस्त

टिचिङमा अहिले देखिएको अर्को समस्या हो– शव आउने र आफन्तको जिम्मा लगाएर पठाउने गति समान छैन । विभिन्न जिल्लाबाट शव आउने क्रम बढिरहेको छ । तर धेरै शवको पहिचान हुन नसकेका कारण आफन्तलाई जिम्मा लगाएर पठाउन सकिएको छैन । फलस्वरूप शवगृहमा चाप बढ्दै गएको छ ।

पहिचान भएका शव परिवारलाई जिम्मा लगाइन्छ । पहिचान हुन नसकेका शवबाट डीएनए नमुना संकलन गरिन्छ र आवश्यक प्रक्रिया पूरा गरी अस्थायी व्यवस्थापनतर्फ पठाइन्छ । यसबीच आफन्तका लागि भने प्रतीक्षाको समय झन् लामो भइरहेको छ ।

एउटा शवभित्र एउटा परिवारको प्रतीक्षा

टिचिङ अस्पतालको शवगृह बाहिर उभिएका प्रत्येक व्यक्तिका पछाडि एउटा परिवार छ । कसैले श्रीमान् खोजिरहेका छन्, कसैले छोरा, कसैले बुबा, आमा वा दाजुभाइ ।

शव पहिचान नहुँदासम्म उनीहरूको शोक पनि अधुरै रहन्छ । त्यसैले अहिले शव व्यवस्थापनको प्रश्न केवल शव कहाँ राख्ने भन्ने होइन । कसरी सुरक्षित राख्ने, कसरी वैज्ञानिक रूपमा पहिचान गर्ने, कसरी सही परिवारसम्म पुर्‍याउने र कसरी मृतकलाई सम्मानपूर्वक अन्तिम व्यवस्थापन गर्ने भन्ने प्रश्न हो ।

टिचिङ अस्पतालमा भइरहेको अहिलेको कामले विपद्पछिको व्यवस्थापनमा फरेन्सिक चिकित्सा, प्रहरी अनुसन्धान, डीएनए प्रविधि, शव भण्डारण र मानवीय संवेदनशिलता एकैसाथ आवश्यक हुने देखाएको छ ।

बाढीले मानिसहरूलाई परिवारबाट छुटायो । अहिले चिकित्सक, प्रहरी र उद्धारकर्मीहरू त्यही छुटेको सम्बन्धलाई डीएनएको वैज्ञानिक प्रमाणबाट फेरि जोड्ने प्रयासमा छन् । र, शवगृह बाहिर आफन्तहरू अझै उही प्रश्नको उत्तर कुरिरहेका छन् ‘भित्र रहेको शव मेरो मान्छेको हो कि होइन ?’

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?