+
+
Shares

रसुवा बाढीका १० शव शिक्षण अस्पतालमा, ९ जनाको पहिचान खुल्न बाँकी

प्रत्यक्ष रूपमा पहिचान हुन नसके शवको हुलिया र शरीरमा रहेका विशेष चिन्हका आधारमा पनि पहिचान गरिने अस्पतालले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको विनाशकारी बाढीबाट प्रभावित १० जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेको छ, जसमध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।
  • अस्पतालले शवको फोटो, हुलिया, औंठाछाप, दाँत, व्यक्तिगत सामग्री र अन्तिममा डीएनए परीक्षणबाट पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • रसुवा बाढीबाट प्रभावित ४१ जना बिरामी शिक्षण अस्पताल पुगेका छन्, जसमध्ये ६ जना आईसीयूमा उपचाररत छन् र एक जनाको मृत्यु भएको छ ।

११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएकामध्ये १० जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइपुगेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका शवमध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

९ जनाको पहिचान हुन बाँकी छ ।

शवलाई अस्पतालको फोरेन्सिक विभागमा राखिएको छ । शरीरमा धेरै घाउ लाग्ने, शव सुनिने, माटोले पुरिने र पानीमा भिजेकाले अधिकांश शवको प्रत्यक्ष पहिचान गर्न कठिन भएको रोस्याराले बताए ।

‘पहिलो चरणमा शवको फोटो सार्वजनिक गरेर आफन्तमार्फत पहिचान गर्ने प्रयास गर्छौं,’ रोस्याराले अनलाइनखबरसँग भने, ‘फोटो हेरेर आफन्तले आफ्नो मान्छे भएको दाबी गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर पहिचान पुष्टि गर्छौं ।’

प्रत्यक्ष रूपमा पहिचान हुन नसके शवको हुलिया र शरीरमा रहेका विशेष चिन्हका आधारमा पनि पहिचान गरिने अस्पतालले जनाएको छ ।

पहिचानयोग्य अवस्थामा रहेको शव परिवारका सदस्यले प्रत्यक्ष रूपमा चिन्ने, शरीरमा भएको ट्याटु, विशेष दाग, लुगा, घडी, गहना वा अन्य व्यक्तिगत सामग्रीका आधारमा पहिचान गरिन्छ ।

त्यसबाट पनि पहिचान खुल्न नसके औंठाछाप परीक्षण गरिनेछ । आफन्त वा सम्बन्धित निकायसँग उपलब्ध औंठाछापसँग शवको औंठाछाप मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ । औंठाछापबाट पनि पहिचान हुन नसके दाँतको बनावट तथा अन्य विवरणका आधारमा परीक्षण गरिनेछ ।

यी सबै विधिबाट समेत पहिचान खुल्न नसके अन्तिम विकल्पका रूपमा डीएनए परीक्षण गरिने रोस्याराले बताए । शवको पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिने उनले जानकारी दिए ।

यसैबीच, रसुवा बाढीबाट प्रभावित ४१ जना बिरामी शिक्षण अस्पताल पुगेका छन् । उनीहरूमध्ये ६ जना आईसीयूमा उपचाररत छन् । एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?