१० भदौं, काठमाडौं । रसुवा बाढीमा घाइते भएका सात जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूमध्ये चार जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
‘अस्पतालमा तीन जना आइपुग्नु भएको छ । एक जनाको अवस्था गम्भीर छ,’ मरासिनीले अनलाइनखबरसँग भने ।
उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको छ । तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको मरासिनीले बताए ।
त्यसैगरी १२ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालका आकस्मिक कक्षका चिकित्सक राम प्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये अधिकांश गम्भीर छ ।
‘दुई जनाको अवस्था ठीकै छ । अन्य घाइतेको अवस्था गम्भीर नै छ,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘दुई जनालाई भेन्टिलेटरमा राखिसकेका छौं । बिरामी आउने क्रम जारी छ ।’
घाइतेहरूको उपचारका लागि अस्पतालले ‘डिजास्टर कोड’ सक्रिय गरी आवश्यक तयारी गरेको उनले बताए ।
आईसीयू, भेन्टिलेटरसहितका शय्या तयारी अवस्थामा राखिएको र थप घाइते आएमा पनि तत्काल उपचार गर्न सकिने व्यवस्था मिलाइएको छ ।
‘उपचारका लागि हामी पूर्ण तयारी अवस्थामा छौँ । अस्पतालको डिजास्टर कोड सक्रिय गरिएको छ । आईसीयू, भेन्टिलेटरसहितका शय्या तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।
उनका अनुसार बाढीका घाइतेलाई आवश्यक परेमा हवाई मार्गमार्फत ल्याउन अस्पतालको हेलिप्याडसमेत तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया 4