News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी–त्रिशूली बाढीपछि काठमाडौंका त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा आफन्त खोज्नेहरूको भीड लागेको छ।
- अस्पताल प्रशासनका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ४१ जना बाढी–पहिरोपीडित बिरामी उपचाररत छन् र थपिन सक्ने भन्दै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ।
- बाढीमा परेका शम्भुलाल श्रेष्ठको आपतकालीन शल्यक्रिया भइरहेको छ भने उनका करिब ८–९ जना परिवार सदस्य अझै सम्पर्कविहीन छन्।
११ भदौ, काठमाडौं । बिहीबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल सदाका दिनभन्दा खचाखच देखियो । हिजो बिहान रसुवाको भोटेकोशी / त्रिशुली नदीमा आएको भीषण बाढीले गरेको मानवीय क्षतिको नतिजा अस्पतालमा पनि देखियो । अकल्पनीय बाढीको बहावमा हेलिएका आफन्तहरूको जानकारी लिन त्रिवि शिक्षण अस्पतालमा आएका हुन् ।
सम्पर्कमा नआएका र कुनै अत्तोपत्तो नलागेका मानिसहरूको नाम टिपाउनका लागि डेस्कमा मानिसहरू गुजुमुज्ज थुप्रिएका थिए । कोही भने प्रशासन बुझ्न नसक्दा उपस्थित सुरक्षाकर्मीहरूलाई पनि सोधिरहेका थिए ।
त्रिवि शिक्षण अस्पतालको उपचार कक्षभित्र चिकित्सकहरू पनि जीवन बचाउन दौडिरहेका थिए । अस्पतालको प्रशासन अनुसार हाल ४१ जना बिरामी उपचारत भए पनि अझै थपिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सोही अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।
त्यही डेस्कमा आफन्तजनको नाम दर्ता गराउन आएका काभ्रेका एक नागरिकले अनलाइनखबरको सँग कुरा गर्दै भने, ‘हामीले आफ्नो कुरा राख्न हुन्थ्यो । तर साथी जीवित छ या मरेको भन्ने कुरा यकिन नभई कसरी जानकारी दिने !’ उनको अनुहारमा साथीहरू हराएको पीडा स्पष्ट झल्किन्थ्यो । टूरका लागि भनेर रसुवा लागेका साथीहरू बुधवारको बाढीपछि सम्पर्कविहीन अवस्थामा छन् ।

उनीलाई अन्य साथीहरूले पनि साथ – सहयोग गर्नका लागि आएका थिए ।
अस्पतालमा बाढीपहिरोमा परेर उपचाररत मानिसहरूको सूचीहरू टाँसिएका थिए । सूचीअघि जम्मा भएको भीडलाई सकेसम्म पन्छाउन खोज्दै कपनकी सुन्तली तामाङ अघि आइन् । माथिदेखि तलसम्म अङ्कित नामहरूमा आफ्नो भाईको नाम नदेखेपछि उनी थप भावुक भइन् ।
आफ्नो भाइ रसुवामा जारी कुन प्रोजेक्टसँग संलग्न थिए, उनलाई यकिन थाहा थिएन । उनी आतेसको भावमा आफ्नो पीडा सुनाउँदै भनिन्, ‘म टिचिङ सेन्टरमा पनि पुगेर आए । त्यहाँ पनि भाइको नाम भेटिन् ।”

त्रिवि शिक्षण अस्पतालमा भेटिएका अधिकांश मानिसहरू विरामीहरूको स्वास्थ्य अवस्था बुझ्ने भन्दा पनि बाढीमा हराएका आफन्तजनहरूको सोधपुछका लागी आएका थिए ।
रसुवा गोसाईकुण्ड गाउँपालिका–५, स्यापुबेसीका सिंगे तामाङ बिहीबार दिउँसो टिचिङ अस्पतालमा भौतारिरहेका थिए । उनले आईसीयूमा उपचाररत दाइ पेमा तामाङको स्वास्थ्य लाभको कामना गरिरहेका थिए ।
उनका दाइ पेमा बुधबार भोटेकोशीमा आएको बाढीमा परेर घाइते भएका थिए । दाइ घाइते भएको सुन्न साथ डिउटीमा गएका सिंगे घर फर्किए र दाइलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याए ।
उनका दाइ अहिले जीवन रक्षाका लागि लडिरहेका छन् भने उनले दाइको जीवन रक्षाका लागि याचना गरिरहेका छन् । उनका दाइसँगै अन्य आफन्तहरू पनि बेपत्ता भएका छन् ।
‘हाम्रो घर केही माथि हुँदा बच्यो । दाइ बजार जानुभएकोले बाढीमा पर्नुभो । आफन्त त धेरै नै परेका छन्,’ उनले भने ।

त्रिशु्लीकी ३५ वर्षीया सुनिता तामाङका भाइ पनि टिचिङ हस्पिटलकै परिसरमा भौतारिरहेका थिए । दिदी भेटिने आशमा ती युवक अस्पताल पुगेका थिए । उनका अनुसार, दिदी त्रिशु्लीमा काम गर्न भएको बेला बाढीमा परेकी हुन् ।
‘दिदी चाहिँ खोलामा काम गर्नका लागि गएको रैछ । ७ जनाको ग्रुप रैछ । सबै हराए,’ उनी भन्छन्, ‘भान्जाभान्जी छन् ।’
त्रिशुलीकै भेलमा बगेकी सुस्मा श्रेष्ठका दाई बहिनीलाई खोज्दै अस्पतालमा पुगेका थिए । अस्पतालले राखेको उपचाररत बिरामीहरुको सूची केलाउँदै सुस्मा दाई उनलाई भेट्ने आसामा थिए । उनले सामाजिक सञ्जालमा आफ्नो बहिनीलाई रेक्स्यू गरेको देखेका थिए । भिडियो देखाउँदै उनले भने, ‘फेसबुकमा रेक्स्यु गरेको देखेको थिए । यहाँ नाम रैनछ ।’

नुवाकोटको विदुरबाट बेपत्ता भएको सानु कान्छालाई खोज्न उनका ससुरा त्रिवि शिक्षण अस्पताल आइपुगेका थिए । ‘छोरी र नाति यता आएका थिए,’ उनी भन्छन्, ‘घर नै थियो । अहिले केही पनि छैन ।’
धार्केका जीवन श्रेष्ठका दिदीहरू पनि २४ घन्टाभन्दा लामो समयदेखि उनलाई खोजिरहेका छन् । ‘धार्केबाट ७ जना सम्पर्कविहीन भएका हुन् । हिजो पनि आएको हो । २४ घन्टा बितिसक्यो । केही खबर भएको छैन । घर धान्ने नै उही थियो,’ जीवनकी दिदीले भनिन् ।
जीवनलाई खोज्नका लागि उनले ठूला अस्पतालहरू सबै चहारिन् । सार्वजनिक लिस्टहरूमा नाम खोजिन । आफूसँगै सहयोगार्थ आएका मानिसहरू पनि उनीजतिकै खटिएका छन् । तर, समग्र प्रयासका बाबजुद पनि जीवनको कुनै समाचार प्राप्त गर्न नसक्दा उनका आशाका झिना त्यान्द्राहरू टुटदै गएका छन् ।
‘अब त भाइ भेटिएला भन्ने आश पनि मरिसक्यो । के कुरामा विश्वास गरेर थप आशा राख्नु,’ यसो भनिरहँदा उनका आँखा रसाइरहन्छन् ।
गोरखा पालुङटारका टिका गुरुङ पनि आफन्तको खोजीका क्रममा बिहीबार दिउँसो राष्ट्रिय ट्रमा सेन्टर परिसरमा थिए । गोरखाबाट गोसाइकुण्ड जाँदै गरेको ३४ यात्रु सवार बस बेपत्ता भएपछि उनी भेटिने आसमा ट्रमा सेन्टरमा त पुगे । तर, उनले कोही पनि आफन्तजनलाई फेला पार्न सकेका छैनन् ।
‘दुईटा माइक्रो सम्पर्कमा आएको छ । ३४ जना चढेको एउटा गाडी चाहिँ सम्पर्कमा छैन ,’ उनी भन्छन् ।
उनी पनि अरू झैँ अस्पताल चहारिरहनु, सोधपुछ गरिरहनुको अपवाद बन्न सकेका छैनन् । टिचिङ अस्पतालमा कसैको नाम नभेटेपछि अटेसमटेस भावनालाई थाम्दै ट्रमा सेन्टर आएका हुन् ।

बाढी–पहिरोको वितण्डापछि काठमाडौँका अस्पताल परिसरमा एकाबिहानै भेटिने अनुहारहरूमा त्रास, पर्खाइ र आशङ्काहरू स्पष्ट देखिन्छन्।
सार्वजनिक भएको घाइतेहरूको नामको सूची पछ्याउँदै आफ्ना आफन्त खोज्न भौँतारिइरहेका मध्ये एक जना हुन्, बेत्रावतीका ५८ वर्षीय शम्भुलाल श्रेष्ठका भतिज।
‘लिस्टमा नाम देखेपछि म हतार हतार गरेर आएको हुँ,’ अनलाइनखबरलाई उनले भने ।
बाढी–पहिरोमा परी गम्भीर घाइते भएका ५८ वर्षीय शम्भुलाल श्रेष्ठको नाम मिडियामा आएपछि काठमाडौँमा रहेका उनका भतिज हतार–हतार अस्पताल पुगेका थिए। अस्पताल पुग्दा शम्भुलालको आपतकालीन शल्यक्रिया भइरहेको थियो। तर, काकाको अवस्था कस्तो छ भन्नेबारे अझै स्पष्ट जानकारी पाउन सकेका छैनन्।
यो त्रासदी एक जना घाइतेको उपचारमा मात्र सीमित छैन ।यसको पछाडि ठूलो पारिवारिक वियोग लुकेको छ। घटना घटेका बेला घरमै रहेका शम्भुलालका श्रीमती , छोरा र छोरीसहित परिवारका करिब आठ–नौ जना सदस्यहरू अहिलेसम्म पूर्ण रूपमा सम्पर्कविहीन छन्। उनका एक छोरा भने वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका छन्।
प्रतिक्रिया 4