+
+
Shares

रास्वपाभित्र रवि-बालेनबीच संघर्ष चलिरहेको छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:३१

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको बताएका छन् ।

दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने ।

रास्वपाभित्रको संघर्ष बाहिर समेत देखिनेगरी घटनाहरू भइराखेको उनले बताए । ‘त्यो संघर्ष कहाँ पुग्यो भन्दा अदालतमा पुगेको छ कसको पक्षमा । अनि त्यो संघर्ष कहाँ पुगेको छ भने प्रहरीमा गएर आइजीपी फेर्नेमा’ उनले भने ।

सर्वोच्च अदालतमा हालै चार जना नयाँ न्यायाधिश नियुक्त भएका छन् । यसबीचमा प्रहरी महानिरीक्षक (आईजीपी) फेरिएका छन् ।

रास्वपाभित्रको संघर्षकै कारण मिडियाहरूमाथि समेत हस्तक्षेप बढेको नेता पुनको निष्कर्ष छ । र पार्टी भित्रै पनि एक पक्ष र अर्को पक्ष हेर्ने प्रवृति देखा परेको उनको भनाइ छ । ‘त्यो संघर्ष कहाँ पुगेको छ ? मिडिया कसको ? सभापतिको पक्षकालाई पक्रने, अर्को पक्षका थुन्ने, अर्को पक्ष के गर्नेमा’ नेता पुन भन्छन्, ‘त्यो संघर्ष कहाँ पुगेको छ भने दलहरूमा पनि सभापति नजिक भयो भने थुन्दिने, पक्रदिने, तर्साउने अनि प्रधानमन्त्री नजिक भयो भने छोड्दिने जस्तो भइराखेको छ ।’

कुनै पनि काम विधि र प्रक्रिया सम्मत भन्दा पनि नजिकपना हेरेर गर्ने प्रवृति देखा परेको उनले बताए ।‘यो स्वेच्छाचारिता यो निरंकुशता बढेर गइराखेको छ । कुनै विधि, विधान, कानुन प्रमाणसंगत, कानुनसम्मत भन्ने कुरै छैन’ उनी भन्छन्, रातारात कसलाई के पर्यो उठाइदिने खालको देखिराख्नुभएको छ ।’

यहाँनेर नेता पुनले सरकारले बिभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको पनि स्मरण गरे । ‘पूर्व प्रधानन्यायाधीशका बदमासी होलान्, कमजोरी होलान् तर चाहिँ रातारात बिना कारण उठाएर लाने । अर्को मान्छेलाई उठाएर लाने, सचिवहरूलाई उठाएर लान्छ भोलि केही पनि छैन’ नेता पुन भन्छन्, ‘व्यापारी उद्योगीलाई उठाएर लान्छ भोलि केही पनि छैन त्यहीँ छोड भनेपछि यस्ता खालका एकदम स्वेच्छाचारी ढंगले राज्य सञ्चालनका कुराहरू एक पछि बढेर गएका छन् ।’

यसको कारण सत्तारुढ दल रास्वपाभित्र चलिराखेकमो पार्टी सभापति लामिछाने र प्रधानमन्त्रीबीच संघर्ष रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?