+
+
Shares

त्यो ‘आइकोनिक’ र्‍याप ब्याटलमा बालेनसँग भिड्ने युवा कहाँ होलान् ?

पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो ।

शिव मुखिया शिव मुखिया
२०८३ असोज ११ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमबुद्धले सुरु गरेको रअबार्जको पहिलो र्‍याप ब्याटलमा बालेन र लिटल ग्रिजल भिडेका थिए।
  • ग्रिजलले बालेनसँगको ब्याटलपछि पनि र्‍याप, एल्बम, टुर र अन्य रचनात्मक काम निरन्तर जारी राखेका थिए ।

हिउँदको कुनै मध्यान्ह काठमाडौंको अनाम गल्लीमा घमासान र्‍याप ब्याटल हुँदै थियो । त्यसका सूत्रधार थिए, यमबुद्ध ।

त्यसताका यमबुद्ध, कोलिन विक्रम राणाहरूको अगुवाइमा र्‍याप ब्याटल सुरु गरिएको थियो । त्यसलाई उनीहरूले नाम दिएका थिए, रअबार्ज ।

रअबार्जको यो ब्याटल रिङभित्र दुई खेलाडी तैनाथ थिए । एकातिर, बालेन । अर्कोतिर लिटल ग्रिजल । यो कुनै भव्य र तामझामपूर्ण भने थिएन । र्‍याप संगीतको झंकारले भर्खर तंग्रिँदै गरेका सहरी युवाहरू यहाँ भेला भएका थिए । उनीहरूले यसलाई ‘नेपालकै पहिलो र्‍याप ब्याटल लिग’  भनी नाम दिएका थिए । यही ब्याटल, जसले नयाँ इतिहासको कोरियोग्राफी गर्दै थियो ।

दन्त्यकथा जसरी सुरु भएको यो प्रसंगलाई एकछिन यहीँ थाती राखौँ । किनभने यहाँ एउटा रोचक कुराको संयोग जुरेको छ, जुन भन्नैपर्ने हुन्छ ।

बालेन, जसको आइकोनिक फेसन हो सेतो र कालो । त्यस क्षण पनि उनी कालो इस्टकोट र त्यसभित्र निख्खर सेतो सर्टमा थिए । ब्ल्याक एन्ड ह्वाइट बालेनसँग भिड्न उत्सुक युवा थिए, निषेश महर्जन । उनले आफूलाई लिटल ग्रिजल भनी चिनाएका थिए । ग्रिजलको अर्थ चाहिँ ‘ग्रे’ अर्थात् खैरो ।

यी दुई त्यस्ता लाक्षणिक रङ हुन्, जसले नितान्त फरक विचार र जीवनदर्शनलाई प्रतिनिधित्व गर्छन् ।

यो भारी कुरा अब यहीँ रोकौँ । किनभने हामी रअबार्जको त्यो समयखण्डमा फर्कनुछ, जहाँ उत्सुक युवाहरू एकदम चनाखो भएर उभिएका छन् । त्यो पल, जसले सर्वकालीन र्‍याप ब्याटलको उद्घोष गर्दैछ ।

त्यस दिन यमबुद्धले दुई युवालाई स्पटलाइनमा उभ्याए । अनि यसरी चिनाए, ‘दायाँतिर अन्डरडगहरूको प्रतिनिधित्व गर्दै हामीसँग छन्, लिटल ग्रिजल । अनि बायाँपट्टि लिगमा डेब्यु गर्दैछन् गेमका सबैभन्दा ट्यालेन्टेड र भर्सटाइल, बालेन ।’

अन्ततः अन्डरडगको तर्फबाट चोटिला शब्द प्रहार गर्दै प्रवेश गरे, लिटल ग्रिजल ।

‘तेरो स्वेग देखेर अहिले नै मलाई दिक्क भो

दोहोरी खेल्नलाई हो कि क्या हो

लगाएर आइस् इस्टकोट…?’

त्यसपछि बालेनको झाँको झार्न उनले के–के भन्छन्, सुनिसाध्य हुँदैन । किनभने र्‍याप ब्याटलको प्रारूप नै यस्तो हुन्छ कि जहाँ शब्दहरूलाई स्वच्छन्द चलमलाउन छुट हुन्छ । ‘तँ..तँ..म.म..’ बाट सुरु हुने यो काव्यिक छेडखानीमा धेरै कुरा चल्छ । त्यस दिन धेरै कुरा चल्यो । अनि एउटा रोचक विन्दुमा पुगेर यसको पटाक्षेप भयो । यसरी,

‘नेपहपको हिस्ट्रीमा आज तैले जस्तो रिबटल कसैले खाएको थिएन

हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएकै थिएन ।’

…………………………..

त्यसपछि साँच्चै इतिहास फेरियो । बालेन फेरिए र उनको धरातल फेरियो । तर, लिटल ग्रिजल ?

कहाँ गए उनी ? के भए उनी ?

सोसल प्लेटफर्महरू पछ्याउँदै जाँदा उनी कहिले पाटन वा भक्तपुरतिरको टौवामा उभिएर कुनै दार्शनिक चिन्तनमा डुबेजस्तो देखिए । कहिले स्वयम्भूको अग्लाइबाट आफैँलाई नियालिरहेका जस्ता भेटिए । कहिले चिताहरू जलिरहेको पल्लो छेउमा निःशब्द ठिङ्ग उभिइरहेको देखिए । कहिले चारतिर टेको लगाएको खण्डहर घरलाई थामेर बसेजस्तै अटल देखिए ।

फेरि खोज्दै जाँदा देखिए, समुद्री छालहरूमा । गगनचुम्बी सहरहरूमा । आफ्नै सुनसान तर रोमान्टिक दुनियाँमा । पछिल्लो फोटोले बताइरहेको थियो, सबैलाई उत्सुक बनाएर एकाएक हराएका लिटल ग्रिजल बेलायतमा छन् ।

सन् २०२५ को कुनै घमाइलो मध्यान्ह उनले समुद्री तटमा उभिएर फोटो खिचाएका छन् । र, क्याप्सनमा लेखेका छन्, ‘सिफोर्ड बेलायत ।’

……………….

के बालेनसँगको त्यो आइकनिक र्‍याप ब्याटलपछि उनी गुपचुप विदेश हान्निए ?

सोसल प्लेटफर्महरूमा देखिने उनका सिर्जनाहरूले त्यसो भन्न दिँदैन । फेसबुक, युट्युब र इन्स्टाग्रामले भन्छ, ‘उनी यहीँ थिए र रचनात्मक दिनहरू बिताइरहेका थिए ।’

रअबार्जको यामपछि उनी धमाधम र्‍याप संगीतमा फर्कन्छन् । ब्रामिन, नास्टीसँग सहकार्य गर्छन् । ‘खरानी’ शीर्षकको सोलो एल्बम निकाल्छन् । ‘तरिका’ नामक प्रोजेक्ट सुरु गर्छन् । ‘हिपहप जात्रा’ नामको सांगीतिक टुरमा पोखरा, धरान, चितवनदेखि काठमाडौंसम्म फन्को लगाउँछन् । त्यसबखत उनलाई एउटा पोडकास्टमा सोधिन्छ, ‘कुनै कुराको पछुतो छ ?’

जवाफमा उनी दार्शनिक पाराले भन्छन्, ‘छैन । हरेक क्षणमा जे राम्रो गर्नुपर्ने हो, त्यो गरेको जस्तो लाग्छ । जीवनमा जे–जे आइलाग्छ, त्योसँग त्यसरी नै डिल गर्दै जानुपर्छ । समयले पनि सिकाउँछ अब कस्तो पाइला चाल्ने भनेर ।’

यद्यपि उनका र्‍याप गीतहरूमा केही छटपटी, केही असन्तुष्टि व्यक्त भएको भेटिन्छ । ‘हिपहप कि नेपहप’ शीर्षकमा उनी गाउँछन्–

‘बालेनसँगको ब्याटलमा चोक भयो

त्यसैले अहिले ग्रिजल दाई निकै डोप छन् ।’

यसलाई सेयर गर्दै बालेन लेख्छन्, ‘अति बबाल..ग्रिजलको यो धमकेदार ट्रयाकमा झुमौं ।’ यस्तै अर्को र्‍याप गाउँछन्, जसको शीर्षक छ–‘सक्दैन सक्दैन सक्दैन ।’

ग्रिजललाई ढाडस दिँदै बालेन लेख्छन्, ‘ग्रिजलको ‘सक्दैन त’ नेक्स्ट लेभलको छ ।’

भर्खर मात्र उनले एउटा भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘आज भेडर पाँच वर्षको भयो । यो पूरै एल्बममा मैले विभिन्न ध्वनिसँग खेल्दै, नयाँ–नयाँ प्रयोग गर्दै र आफ्नै चेतनाको गहिराइमा पुग्ने प्रयास गरेको थिएँ । यो मेरो अँध्यारो पक्ष अर्थात् मेरो ‘शेडो सेल्फ’लाई प्रतिनिधित्व गर्न र त्यसलाई स्वीकार गर्न सिर्जना गरिएको थियो । यो एल्बमले अँध्यारोबाट उज्यालोतर्फको यात्रालाई पछ्याउँछ ।

एल्बमको अन्तिम भागमा अकिरा देखापर्छ । जापानी भाषामा ‘अकिरा’ को अर्थ ‘उज्यालो’ हुन्छ। त्यसैले, आफ्नै भित्रको अँध्यारोबाट गुज्रिसकेपछि अन्ततः उज्यालो अर्थात् ‘द एब्सोल्युट’ तर्फ फर्किरहेको हो कि?

यो साँच्चिकै गज्जबको यात्रा थियो ।’

………………

बालेनसँग त्यसरी ‘मुखै छाडेर’ खुलमखुला भिड्न सक्ने कुनै माइकालाल यो दुनियाँमा जन्मिएको छ ?

जवाफ हो, छैन ।

पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो । आखिर लिटल ग्रिजललाई पनि दुर्लभ पात्रका रूपमा बिर्निमाण गरिदियो ।

यस अर्थमा धेरैले ठट्यौलीको शैलीमा भनिरहेका छन्, ‘ग्रिजल ब्रो क्या भाग्यमानी ।’

तर उनी ‘भाग्यवादी’ होइन, उनी कर्मयोगी रहेछन् । जतिबेला उनी सिडीहरूमा सुनेर, नोकिया फोनमा ‘भर्चुअल डिजे’ सफ्टवेयर डाउनलोड गरेर, डिजिटल क्यामेराले खिचेर हिपहप संगीतको अभ्यास गर्थे । त्यसबेला धेरैले भन्थे, ‘भाइ लभ सङ गर, चल्छ ।’

तर, उनलाई चल्नु थिएन । केही गर्नु थियो । त्यो कुरा गर्नु थियो, जो उनको मनको तरंगबाट पैदा हुन्थ्यो ।

‘मैले जे गर्नु थियो त्यसले मभित्रको कुरा व्यक्त होस् भन्ने चाहन्थें,’ एक अन्तर्वार्तामा उनी भन्छन्, ‘जसले मेरो आर्ट बुझ्छ, उसले मेरो सह्राना गर्छ भन्ने लाग्छ ।’

कुन गीत हिट हुन्छ ? त्यो थाहा हुँदैन । ‘हामीले भनेको काम गरिरहने हो । आजभन्दा भोलि राम्रो र भोलिभन्दा पर्सि राम्रो गर्ने हो,’ उनको अनुभवले यसै भन्छ ।

रअबार्जको ब्याटलअघि र पछि उनी अविच्छिन्न आफ्नो कर्ममा तल्लीन रहे । १३ वर्षअघि कुनै सडकमा ‘द अन्डरडग’ अंकित टी–सर्ट लगाएर र्‍याप गाइरहेका थिए उनी । ‘थेराफ्लु’ शीर्षकको यो गीत उनले आफ्नो युट्युब ‘ग्रिजल टीभी’ मा राखेका छन् । आज भन्दा एक महिनाअघि पनि उनले त्यही अर्को भिडियो पोस्ट गरेका छन्, ‘सेतो एयरफोर्स’ शीर्षकमा ।

यो निरन्तरता र लगावले भन्छ, ‘ग्रिजल कतै हराएका छैनन् । यहीँ कतै हिपहप संगीतभित्र छन् ।’

त्यसबीचमा उनले ‘जात्रा’, ‘लोनली हार्टस्’, ‘लभ स्टोरी फ्रम हेल’, ‘परेवा’, ‘दास’ जस्ता दर्जनौँ र्‍याप गीत गाएका छन् । भिडियो बनाएका छन् ।

बी–बोइङ हुँदै हिपहपमा छिरेका ग्रिजलले ग्राफिक डिजाइनिङ, फाइन आर्टमा आफूलाई पोख्त बनाए । पछिल्लो समय उनी कम्प्युटर इन्जिनियरिङ गर्दैछन् । ‘ब्रेक स्टेशन’ नामक पोडकास्टमा उनी भन्दै थिए, ‘मलाई कोडिङमा रुचि छ, वेबसाइट बनाउन मन लाग्छ । अहिले चाहिँ कम्प्युटर इन्जिनियरिङमा मास्टर्स गर्न सोचिरहेको छु ।’

त्यही सेरोफेरोमा उनीहरू एउटा रमाइलो प्रसंगमा प्रवेश गर्छन् । प्रस्तोता भन्छन्, ‘१२ को परीक्षापछि विद्यार्थीहरूले बिदाइको दिन टी–सर्टमा एउटा लाइन लेखेको देख्यौ ।’

ग्रिजल भन्छन्, ‘अँ, कताकता देखिरहेको थिएँ… खाडीमा भेटौँला भन्ने ।’

जति पढे पनि आखिर जाने खाडी नै हो । गर्ने मजदुरी नै हो । उनीहरू यस्तै यस्तै कुरा गर्छन् । अनि फेरि ग्रिजल भन्छन्, ‘देशमै अवसर मिल्यो भने युवाहरू विदेश जाँदैनन् होला । बाहिर कति दुःख छ । सबैले विदेश विदेश भन्छन् । यहाँबाट हेर्दा ग्ल्यामर देखिन्छ । तर त्यहाँको दुःख त्यहीँ गएपछि थाहा हुन्छ ।’

…………………

१६ मार्च २०२५ । बेलायतको कुनै सुकिलो सडकमा हिँडिरहेको फोटो राख्दै ग्रिजल लेख्छन्, ‘पृथ्वी मेरो घर, आकाश मेरो छाना ।’

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?