+
+
Shares

एआईको तीव्र विकास : प्रविधि र नीति-निर्माणबीचको अन्तर फराकिलो बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ७:५२

१२ असोज, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरूको द्रुत विकासका कारण प्रविधि र नीति-निर्माणबीचको अन्तर इतिहासकै सबैभन्दा फराकिलो बनेको छ। एआईको गतिलाई पछ्याउन नसक्दा विश्वभर नै नीतिगत शून्यतातर्फ स्थिति धकेलिएको छ ।

यसै महिनाको सेप्टेम्बर ४ मा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले ब्रसेल्स बाहिर एक बैठक आयोजना गरी २७ राष्ट्रको प्राथमिकता र एआईका जोखिमबारे छलफल गरेकी थिइन् । तर, सेप्टेम्बर १६ को आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधनमा भोन डेर लेनले भनिन्, ‘एआई सम्भावना र जोखिम दुवै लिएर आउँछ। यी जोखिमहरूलाई सम्बोधन नगरी हामी एआईको क्षमताको पूर्ण उपयोग गर्न सक्दैनौं ।’

युरोपेली सङ्घ (ईयू) मात्र होइन, विश्वभरका सरकारहरू यतिबेला नियन्त्रण गर्ने वा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने भन्ने दोधारमा छन् ।

सन् २०२४ मा युरोपले विश्वकै पहिलो व्यापक ‘एआई ऐन’ पारित गरेको थियो, जसलाई नियमनको उत्कृष्ट खाका मानिएको थियो। तर, दुई वर्षपछि, यो ऐन नै एक चेतावनीपूर्ण दृष्टान्त (कसनरी टेल) बनेको छ।

प्राविधिक परिवर्तनको गति, प्रशासनिक सुस्ती र युरोपको प्रतिस्पर्धात्मक क्षमता घट्ने डरका कारण ऐनको कार्यान्वयन निकै सुस्त भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले चेतावनी दिँदै भनेका थिए, ‘यदि हामीले अमेरिकी र चिनियाँ कम्पनीहरूलाई नै अगाडि बढ्न दियौं भने, हामीसँग विश्वकै उत्कृष्ट नियम भए पनि नियमन गर्ने केही बाँकी रहनेछैन।’

कानुन निर्माणका क्रममा परिकल्पना नै नगरिएका एआईका नयाँ स्वरूपहरू (जस्तै मानवीय निगरानीबिना काम गर्ने ‘एआई एजेन्ट’हरू) सामना आइसकेका छन्। गत जुलाईमा ओपनएआईका मोडलहरूले परीक्षण वातावरणबाट उम्किएर ‘हगिङ फेस’ नामक एआई स्टार्टअपलाई ह्याक गरेका थिए। तर, अनुसन्धान र परीक्षणका क्रममा भएका यस्ता घटना ईयूको ऐनको अस्पष्ट दायराभित्र पर्छन्।

अमेरिकी संसद (कंग्रेस) मा पनि एआई सुरक्षा सम्बन्धी विधेयकहरू रोकिएका छन्। एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘मिथोस’ले साइबर सुरक्षामा ठूलो जोखिम ल्याउन सक्ने चेतावनी दिएपछि डेमोक्र्याटिक सांसद लोरी ट्राहान र रिपब्लिकन सांसद जे ओबर्नोल्टले एआई सुरक्षा परीक्षणसम्बन्धी विधेयक तयार पारेका थिए। तर, व्यापारिक लबिइङ र राजनीतिक खिचातानीका कारण सो विधेयक ओझेलमा परेको छ।

सांसद टेड लिउले एआई मोडलहरू नियन्त्रण बाहिर गएमा ‘किल स्विच’ प्रयोग गर्ने विधेयक प्रस्ताव गरेका थिए। उनले भने, ‘म सन् २०२३ भन्दा अहिले अझ बढी डराएको छु।’

यता राष्ट्रपति ट्रम्पले अत्यधिक नियमनले नवप्रवर्तनमा बाधा पुऱ्याउने र चीनलाई फाइदा पुग्ने तर्क गर्दै आएका छन्। हालै वासिङ्टनमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र ट्रम्पबीच एआईबारे छलफल भए पनि कुनै ठोस सुरक्षा सम्झौता हुन सकेन।

सरकारहरू सुस्त हुँदा एन्थ्रोपिक, ओपनएआई र गुगल डिपमाइन्ड जस्ता एआई कम्पनीहरू स्व-नियमन (सेल्फ-पोलिस) गर्न बाध्य छन्। तर तिनै कम्पनीका प्रमुखहरूले नै सरकारलाई एआई विकासको गति केही धीमा गर्न र नियमन कडा बनाउन आग्रह गरिरहेका छन्।

युनिभर्सिटी अफ क्याम्ब्रिजका एआई अनुसन्धानकर्ता सन ओ हेगार्टीले भने, ‘यस विषयमा निर्णय लिने कुनै परिपक्व नेतृत्व वा निकाय छ भन्ने भ्रम छ, तर वास्तवमा त्यहाँ कोही पनि छैनन्। यही कुरा सबैभन्दा बढी डरलाग्दो छ।’

विज्ञहरूका अनुसार सरकारहरूले वर्षौंको समयसीमामा सोच्छन् । जबकि एआईको विकास हप्ता र महिनाहरूमा भइरहेको छ। यदि समयमै प्रभावकारी कदम चालिएन भने एआई मानिसको नियन्त्रणभन्दा बाहिर जाने र अपूरणीय क्षति पुऱ्याउने जोखिम झन् बढेर जानेछ।

( न्यू योर्क टाइम्सबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?