काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका, चीन र रुसले विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् ।
चीनको सेन्जेनमा आयोजित एपेक सम्मेलनलाई सम्बोधन गर्दै सीले एपेक इतिहासबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै कठिन समयमा मात्रै वास्तविक जिम्मेवारीको पहिचान हुने बताए । सीले आजको विश्व छुट्टाछुट्टै टापुहरूको समूह नरहेको पनि बताए ।
‘मानवता यस्तो विश्वव्यापी गाउँमा बसिरहेको छ, जहाँ सबैको भविष्य एकअर्कासँग जोडिएको छ,’ उनले भने ।
राष्ट्रपति सीले विश्वव्यापी गाउँमा ठूला शक्तिको विशेष जिम्मेवारी हुने पनि बताए । चीनले पछिल्ला केही वर्षदेखि ठूला राष्ट्रहरूबीच शान्तिपूर्ण सहअस्तित्व, स्थिरता र सन्तुलित विकासमा आधारित सम्बन्ध प्रवर्द्धन गर्दै आएको उनले बताए ।
यस्ता सम्बन्ध सम्बन्धित देशका साथै समग्र विश्वकै हितमा हुने उनको भनाइ थियो ।
सीले चीन, रुस र अमेरिकालाई विश्वसामु उदाहरण प्रस्तुत गर्न पनि आग्रह गरे ।
चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का नेताहरूको बैठकमा सहभागी हुन चीनको सेन्जेनमा भेला भएका छन् ।
प्रतिक्रिया 4