+
+
Shares

इलाममा हर्क साम्पाङका चार सभा, उद्देश्य चुनावी तयारी

‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् ।

सुदीप श्रेष्ठ सुदीप श्रेष्ठ
२०८३ मंसिर ३ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा इलाम र पाँचथर सीमावर्ती पञ्चमीदेखि फिक्कलसम्मका स्थानमा आमसभा गरेर स्थानीय निर्वाचन तयारी तीव्र पारेको छ।
  • फाकफोकथुममा साम्पाङ पुग्दा ०८१ वैशाखको उपनिर्वाचनताका उनले गरेको व्यङ्ग्यका कारण चासो देखिएको थियो, तर नेताहरूले त्यसले नकारात्मक प्रभाव नपारेको दाबी गरेका छन्।
  • पार्टीले इलाममा एमालेका पूर्वजिल्ला सचिव उमेश गुरुङ र माइजोगमाईका पूर्वअध्यक्ष जितबहादुर राईलाई अघि सारेर संगठन विस्तार गर्ने रणनीति लिएको छ।

३ मंसिर, इलाम । स्थानीय निर्वाचनको तयारीमा होमिएको श्रम संस्कृति पार्टीले इलाममा पनि गतिविधि बढाएको छ ।

अध्यक्ष हर्क साम्पाङकै उपस्थितिमा इलाम र पाँचथरको सीमावर्ती क्षेत्रदेखि व्यापारिक केन्द्रहरूमा केही कार्यक्रम भइसकेको छ ।

‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् । चुनावी तयारीकै क्रममा फाकफोकथुम गाउँपालिका, इलाम र पाँचथरको सीमावर्ती पञ्चमी बजार, सदरमुकाम इलाम बजार र फिक्कल बजारमा आमसभा भइसकेको छ ।

२९ कात्तिमा पञ्चमीमा, १ मंसिरमा फाकफोकथुमको आमचोक तथा २ मंसिरमा इलाम बजार र फिक्कल बजारमा सभा भएको छ ।

हर्कको त्यो व्यङ्ग्य, यो स्वागत

सभा सम्बोधन गर्न हर्क साम्पाङ फाकफोकथुम पुग्नुलाई भने चासोका साथ हेरिएको छ । ०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनका क्रममा साम्पाङले दिएको अभिव्यक्तिका कारण उनको उपस्थितिलाई चासोका साथ हेरिएको हो ।

सुवास नेम्वाङको निधनपछि इलाम–२ का लगि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई साम्पाङले समर्थन गरेका थिए । तर मुढा चिन्हमा अपेक्षित नतिजा नआएपछि धरान उपमहानगरका तत्कालीन मेयर साम्पाङले फाकफोकथुमको नामै बिगोरेर व्यंग्य गरेका थिए ।

‘त्यो ख्वाक खुक थुम भन्ने ठाउँ इलाममै थियो ?,’ त्यसबेला साम्पाङले सामाजिक सञ्जालमा लेखेका थिए ।

श्रम संस्कृतिका नेता सुदीप राई भने हर्क साम्पाङले त्यसबेला दिएको टिप्पणीले अहिले कुनै नकारात्मक प्रभाव नपारेको दाबी गर्छन् ।

‘अध्यक्षज्यूको त्यो स्टाटसले केही गलत प्रभाव पारेको छैन । बरू फाकफोकथुमवासीले उहाँलाई झन् भव्य स्वागत गर्नुभयो,’ राई भन्छन् ।

गत २१ फागुनको निर्वाचनमा आफूले पनि सबैभन्दा ठूलो आतिथ्य फाकफोकथुमवासीबाटै पाएको अनुभव पनि उनले सुनाए ।

पञ्चमीदेखि फिक्कलसम्म

फाकफोकथुमअघि साम्पाङले इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिकालाई लक्षित गर्दै सीमावर्ती पञ्चमी बजारमा आयोजित आमसभालाई सम्बोधन गरे ।

दुवै जिल्लाका नागरिकको व्यापारिक तथा सामाजिक केन्द्र मानिने पञ्चमीमा सभा गरेर पार्टीले जिल्ला सीमाभन्दा बाहिर पनि संगठनात्मक पहुँच विस्तार गर्ने रणनीति लिएको छ ।

त्यसैगरी बुधबार सदरमुकाम इलाम बजार र सूर्योदय नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र फिक्कल बजारमा आमसभा आयोजना गरी सहरी तथा बजार क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद बढाउने प्रयास देखिन्छ ।

इलाम बजारमा आयोजित कार्यक्रममा इलाम जिल्ला कार्यसमिति उपाध्यक्ष संगिता भण्डारीलाई पहिलो मन्तव्य दिने अभ्यास गराएर गैर जनजाति बर्गलाई समेत आकर्षिक गर्ने प्रयास देखिन्छ ।

संगठन विस्तारको सन्देश

आमसभा मार्फत राजनीतिक सन्देश प्रवाह गर्नुका साथै श्रम संस्कृति पार्टीले पुराना दलका स्थापित नेताहरूलाई भित्र्याउने क्रमलाई पनि तीव्रता दिएको छ ।

केही महिना अघि मात्र श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका पूर्वजिल्ला सचिव उमेश गुरुङ र माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राईलाई बुधबार इलाममा आयोजित कार्यक्रममा ‘फ्रण्ट फेस’ को रुपमा श्रम संस्कृतिले पेश गरेको थियो ।

एमालेको जिल्ला संगठनमा लामो समय काम गरेका गुरुङको प्रवेशलाई इलामको राजनीतिमा अर्थपूर्ण मानिएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका राई २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए ।

स्थापित स्थानीय व्यक्तित्वहरू भित्रिएसँगै माङसेबुङ, फाकफोकथुम, माइजोगमाई र सूर्योदयलगायतका स्थानीय तहमा पार्टीको संगठनात्मक आधार बलियो बन्ने श्रम संस्कृति पार्टी, इलामले दावी गर्दै आएको छ ।

कोशी केन्द्रित अभियान

श्रम संस्कृति पार्टीले कोशी प्रदेशलाई आफ्नो मुख्य आधार क्षेत्र बनाउँदै आगामी प्रदेश र स्थानीय निर्वाचनको तयारी थालेको छ ।

यसअघि भदौमा सार्वजनिक ‘केचना–सगरमाथा हातेमालो’ अभियानमार्फत श्रमदानसँगै संगठन निर्माणलाई अघि बढाएको पार्टीले अध्यक्ष साम्पाङलाई भावी प्रधानमन्त्री र वरिष्ठ नेता सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने लक्ष्य राखेको थियो ।

गत प्रतिनिधिसभा निर्वाचनको मतपरिणामले पनि कोशीमा यो पार्टीको बलियो उपस्थिति पुष्टि गरिसकेको छ । प्रदेशका १४ जिल्लाबाट २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै श्रम संस्कृति पार्टी कोशीको दोस्रो ठूलो राजनीतिक शक्ति बनेको थियो ।

पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको थियो । इलाममा मात्रै पार्टीको चुनावी प्रभाव उल्लेखनीय देखिएको थियो ।

इलाम–१ मा पार्टीका उम्मेदवार विनोद नेम्वाङ १३ हजार ६३२ मतसहित निकटतम प्रतिस्पर्धी बनेका थिए भने इलाम–२ मा सुदीप राईले १४ हजार ४०० मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा प्राप्त उत्साहजनक मतलाई स्थानीय तहको निर्वाचनमा संगठनात्मक जितमा रूपान्तरण गर्नु श्रम संस्कृति पार्टीका लागि मुख्य चुनौती हो । स्थानीय चुनावमा राष्ट्रिय राजनीतिक मुद्दामात्र नभई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय सेवा प्रवाहजस्ता प्रत्यक्ष सरोकारका विषयले मतदाताको निर्णयमा भूमिका खेल्छन् ।

गैरजनजाति मतदाताको प्रत्यक्ष उपस्थिति शुन्यजस्तै रहेको श्रम संस्कृति पार्टीमा गैर जनजाति प्रतिनिधिहरू समेट्नु पनि सो पार्टीको चुनौती हो । इलाममा साम्पाङको लगातारको सक्रियता, चार स्थानका आमसभा र पुराना दलका नेताहरूको प्रवेशले चुनावी माहोल तताएको छ ।

तर सभामा देखिएको यो उत्साह र पार्टी प्रवेशको लहर आगामी स्थानीय तह निर्वाचनको मतपेटिकामा कति रूपान्तरण हुन्छ, त्यो हेर्न बाँकी छ ।

लेखक
सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?