+
+
Shares

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

‘सेल ब्रोडकास्टिङ’ प्रणालीमार्फत एसएमएस जस्तो मोबाइलको ‘इनबक्स’ सन्देश आउने नभई मोबाइल स्क्रिनमा ‘अलर्ट’ का रूपमा देखिन्छ । प्रयोगकर्ताले उक्त सन्देश नहेरेसम्म वा बन्द नगरेसम्म मोबाइलमा आवाज बजिरहन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिमकार्ड र इन्टरनेटविहीन मोबाइलमा पनि विपद् सन्देश पठाउने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको परीक्षण आज काठमाडौंको बलम्बु क्षेत्रमा हुँदैछ।
  • सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा तोकिएको क्षेत्रमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ।
  • प्रारम्भिक परीक्षण सफल भएमा यो प्रणालीलाई बाढी, पहिरोलगायत उच्च जोखिम क्षेत्रहरूमा चरणबद्ध रूपमा लागू गर्ने योजना छ।

४ मंसिर, काठमाडौं । सिमकार्ड र इन्टरनेट जडान नगरिएका मोबाइलमा पनि विपद्‍को सन्देश प्राप्त हुने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ ।

विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सीबीएस) को परीक्षण गर्न लागिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा आज काठमाडौंको बलम्बु क्षेत्रमा प्राविधिक परीक्षण गर्न लागिएको हो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ ।

विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्न लागिएको उनले बताए ।

सेल ब्रोडकास्टिङ प्रणाली के हो ?

सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो ।

यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन्छ ।

सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्‍याउन सक्छ ।

‘सेल ब्रोडकास्टिङ’ प्रणालीमार्फत एसएमएस जस्तो मोबाइलको ‘इनबक्स’ सन्देश आउने नभई मोबाइल स्क्रिनमा ‘अलर्ट’ का रूपमा देखिन्छ । प्रयोगकर्ताले उक्त सन्देश नहेरेसम्म वा बन्द नगरेसम्म मोबाइलमा आवाज बजिरहन्छ । सन्देश पाउनेले उक्त सन्देश नपढेसम्म मोबाइलमा अरू काम गर्न नमिल्ने भएकाले विपत्सम्बन्धी सन्देश पढ्न वा हेर्नैपर्ने बाध्यता हुन्छ ।

यसबाट विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।

प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ ।

यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?