+
+
Shares

एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते ११:५७

‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको खुलेर आलोचना गरेका छन् ।

उता, कार्यक्रमका सञ्चालक सलमान खानले पनि गुल्लूलाई खेलमा गम्भीर हुन र खुलेर आफ्नो पक्ष राख्न सुझाव दिएका छन् ।

‘वीकेन्डका वार’मा सलमानले घरका सदस्यलाई विभिन्न विषयमा प्रश्न गर्दै उनीहरूको खेलको समीक्षा गरेका थिए । यस क्रममा उनले कुनै पनि विषयमा आफ्नो धारणा नराख्ने र आवश्यक पर्दा स्ट्यान्ड नलिने सदस्यको नाम सोधे ।

अधिकांश प्रतिस्पर्धीले गुल्लूको नाम लिए । त्यसपछि सलमानले उनलाई खेललाई गम्भीरतापूर्वक लिन र फ्रन्ट फुटमा आएर खेल्न सुझाव दिए ।

गुल्लूका लागि सबैभन्दा अप्ठ्यारो क्षण भने त्यतिबेला आयो, जब एल्विशको भिडियो सन्देश देखाइयो । सलमानले बाहिरबाट आएका भिडियो क्लिप देखाउँदै गुल्लूको खेलबारे एल्विशको धारणा सुनाएका थिए ।

रोचक कुरा के थियो भने एल्विशलाई गुल्लूसँग मनमुटाव भएका प्रतिस्पर्धीमध्ये कसैको आलोचना गर्न भनिएको थियो । तर उनले अरूलाई छाडेर आफ्नै ‘रोडीज’ ग्याङका साथी गुल्लूलाई नै कमजोर खेलका लागि प्रश्न गरे ।

यसले घरभित्रका सदस्यलाई समेत आश्चर्यमा पार्‍यो । सलमानले पनि अरूको व्यवहार र गतिविधिमा गुल्लूले प्रभावकारी प्रतिक्रिया दिन नसकेको भन्दै प्रश्न उठाए ।

कनिकासँग गुल्लूको फ्लर्ट

कार्यक्रमको सुरुवात भने रमाइलो माहोलबाट भएको थियो । गुल्लू अभिनेत्री कनिका मानसँग नजिकिँदै गएको देखिए ।

कुराकानीकै क्रममा उनले कनिकाप्रति आफ्नो मनमा ‘सफ्ट कर्नर’ बन्न थालेको बताएका थिए । उनको यस्तो कुरा सुनेर कनिका पनि हाँस्दै लजाएकी थिइन् ।

यता, काजी तौकीर र माही विजले गुल्लूको कनिका मान र लव गिलसँगको बढ्दो निकटताबारे चर्चा गरिरहेका थिए । अर्कोतर्फ, अरिश्फा खान र स्काउट ओपीले काजीसँग गीत गाउने अभ्यास गरेका थिए ।

यसैबीच, टेलिभिजन अभिनेता करण वाहीले भिडियो सन्देशमार्फत काजी तौकीरको खेलमाथि प्रश्न उठाए । उनले काजीले घरभित्र वास्तविक व्यवहारभन्दा अभिनय बढी गरिरहेको आरोप लगाएका थिए ।

तर काजी र उदितीले भने करणको टिप्पणीप्रति असहमति जनाए ।

कार्यक्रमको अन्त्यमा सलमानले आइतबार एक प्रतिस्पर्धी घरबाट बाहिरिने जानकारी दिए । यससँगै घरभित्रका सदस्यको तनाव पनि बढेको छ ।

अब गुल्लूले आफ्नो खेलमा सुधार ल्याउँछन् कि काजीमाथि उठेका प्रश्नको प्रभाव उनको यात्रामा पर्छ, त्यो भने आगामी एपिसोडमा देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?