+
+
Shares

किन आर्थिक संकटमा परे अभिनेता शरद कपूर ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १८:०२

सन् १९९० को दशकमा थुप्रै चर्चित फिल्ममा अभिनय गरेका अभिनेता शरद कपूर यतिबेला आफ्नो निजी जीवनको कठिन अवस्थाका कारण चर्चामा छन् ।

हालै सामाजिक सञ्जालमा उनको एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा शरद निकै चिन्तित देखिन्छन् । उनले आफ्ना चारवटा पाल्तु कुकुरलाई केही समयका लागि पशु आश्रयस्थलमा पठाउनुपरेको छ । उनी ती कुकुरलाई आफ्नै सन्तानसरह माया गर्छन् ।

यो भिडियो सार्वजनिक भएपछि उनको आर्थिक र मानसिक अवस्थाबारे पछिल्ला केही दिनदेखि चर्चा भइरहेको छ ।

कुनै समय ‘दस्तक’ र ‘जोश’ जस्ता फिल्मबाट परिचय बनाएका शरदले ४० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

‘स्वाभिमान’ का ग्रोभरदेखि बलिउडसम्म

अभिनेता शरद कपूरसँग जोडिएको मेरो पहिलो सम्झना सन् १९९१ मा दूरदर्शनबाट प्रसारित धारावाहिक ‘स्वाभिमान’ हो । महेश भट्टको निर्देशनमा बनेको उक्त धारावाहिक त्यो समयको चर्चित कार्यक्रम थियो । यसले थुप्रै प्रतिभाशाली कलाकारलाई पर्दामा आउने अवसर दियो ।

ती कलाकारमध्ये मनोज बाजपेयी, आशुतोष राणा, रोहित रोय, हर्ष छाया र ‘ग्रोभर’ को भूमिकामा देखिएका युवा शरद कपूर पनि थिए । उनको आत्मविश्वास र दमदार आवाजले दर्शकलाई निकै प्रभावित पारेको थियो ।

कोलकाताको एक पञ्जाबी परिवारमा जन्मिएका शरदको हिन्दी फिल्म उद्योगसँग पारिवारिक सम्बन्ध थिएन । तर फिल्मप्रतिको गहिरो रुचिले उनलाई मुम्बई पुर्‍यायो।

उनको सुरुवाती यात्रा भने सहज थिएन । उनी केही वर्ष चर्चित निर्देशक शशिलाल नायर र सुनील सिकन्दका सहायक निर्देशक बनेर काम गरे । टेलिभिजनमा साना भूमिका पाए । केही फिल्ममा अभिनय गर्ने अवसर पनि पाए । तर ती फिल्मले खासै चर्चा कमाउन सकेनन् ।

संघर्षबाट थाकेर एकपटक कोलकाता फर्किएका थिए । तर केही गर्ने अठोटका साथ सन् १९९४ मा फेरि मुम्बई आए । यसपटक भने उनलाई भाग्यले साथ दियो।

‘स्वाभिमान’ मार्फत शरदलाई पर्दामा ल्याएका महेश भट्टले सायद उनमा लुकेको प्रतिभा चिनेका थिए । उनले शरदलाई ठूलो अवसर दिए । त्यो फिल्म थियो ‘दस्तक’ (१९९६) । फिल्म घोषणा भएदेखि नै चर्चामा थियो । किनभने यसबाट सन् १९९४ की मिस युनिभर्स सुष्मिता सेनले बलिउडमा प्रवेश गर्दै थिइन् ।

फिल्ममा सुष्मिताको जोडीका रूपमा कुनै चर्चित अभिनेतालाई नभई मुकुल देवलाई लिइएको थियो । शरद कपूरले भने खतरनाक र सनकी खलनायकको भूमिका पाएका थिए ।

फिल्ममा सुष्मिताले मिस युनिभर्सकै भूमिका निर्वाह गरेकी थिइन् । शरदको पात्र उनीप्रति अस्वाभाविक रूपमा आकर्षित हुन्छ र उनको पछि लाग्छ ।

फिल्म प्रदर्शन हुनुअघि नै यसको संगीत लोकप्रिय भइसकेको थियो । विशेषगरी ‘जादू भरी आँखों वाली सुनो’ र शरद कपूरमाथि छायांकन गरिएको ‘तुम्हें कैसे मैं बताऊं’ गीत निकै चर्चित भए ।

तर फिल्म प्रदर्शन भएपछि बक्स अफिसमा असफल भयो । धेरै दर्शकले यसलाई यश चोपडाको फिल्म ‘डर’ को कमजोर नक्कल माने ।

‘डर’ (१९९३) मा शाहरुख खानले निर्वाह गरेको भूमिकासँग शरदको पात्रको तुलना हुन थाल्यो । तर फिल्ममा मुख्य अभिनेताभन्दा शरदको अभिनय बढी प्रभावशाली देखिएको थियो ।

फिल्मको समीक्षा गर्दै पत्रकार अनुपमा चोपडाले शरदको अभिनयको प्रशंसा गरेकी थिइन् । उनका अनुसार नकारात्मक भए पनि शरदको पात्र बढी रोचक र चुनौतीपूर्ण थियो । खतरनाक, संवेदनशील, सनकी र आकर्षक चरित्रलाई उनले प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए ।

‘दस्तक’ बाट सबैभन्दा बढी फाइदा सुष्मिता सेनलाई भयो । उनलाई ठूला ब्यानर र चर्चित कलाकारसँग काम गर्ने अवसर मिल्यो । उनको फिल्मी करियरले गति लियो । मुख्य अभिनेता मुकुल देव र खलनायक शरद कपूरले भने अपेक्षाअनुसार सफलता पाएनन् ।

पहिलो फिल्म असफल भएपछि ठूला ब्यानर शरदजस्ता बाहिरबाट आएका कलाकारमाथि लगानी गर्न तयार भएनन् । यद्यपि ‘दस्तक’ ले उनका लागि केही ढोका भने खोलिदिएको थियो ।

त्यसपछि उनले थुप्रै फिल्ममा काम गर्ने अवसर पाए । ज्याकी श्राफसँग अभिनय गरेको ‘विश्वविधाता’ (१९९६) मा एआर रहमानको संगीत चर्चित भयो । तर फिल्म चलेन ।

त्यसपछि मुख्य भूमिकामा अभिनय गरेका ‘आँखों में तुम हो’ (१९९७), ‘इसकी टोपी उसके सर’ (१९९८) र मधुर भण्डारकरको ‘त्रिशक्ति’ (१९९९) पनि लगातार असफल भए ।

त्यसपछि शरदको करियरमा एउटा महत्त्वपूर्ण फिल्म आयो । त्यो थियो मन्सुर खान निर्देशित ‘जोश’ (२०००) ।

फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए भने उनको विपक्षी पात्रका रूपमा शरद देखिएका थिए ।

त्यतिबेला आजजस्तो सामाजिक सञ्जाल र मिमको चलन थिएन । तर पर्दामा शाहरुख र शरदबीचको टकरावले निकै चर्चा पाएको थियो । उनीहरूको अभिनयको प्रतिस्पर्धाबारे सञ्चारमाध्यममा पनि समाचार प्रकाशित भएका थिए ।

शरदले यस फिल्मबाट ठूलो अपेक्षा राखेका थिए । शाहरुखसँगका उनका दृश्य पनि प्रभावशाली थिए । तर यसपटक पनि उनको भाग्यले साथ दिएन ।

‘जोश’ प्रदर्शन हुने समयसम्म बलिउडमा शाहरुख र शरदको प्रतिस्पर्धाभन्दा शाहरुख र ऋतिक रोशनको चर्चा बढी हुन थालिसकेको थियो ।

सन् २००० को सुरुवातमा प्रदर्शन भएको ‘कहो ना प्यार है’ ले सफलताको नयाँ कीर्तिमान बनाएको थियो । ऋतिक रोशनको चर्चा चारैतिर फैलिएको थियो । त्यसअघि शाहरुखको ‘फिर भी दिल है हिन्दुस्तानी’ बक्स अफिसमा असफल भएको थियो ।

ऋतिकको उदयसँगै शाहरुखको स्टारडमलाई चुनौती दिने नयाँ अभिनेताका रूपमा उनलाई हेरिन थालिएको थियो । यही कारण ‘जोश’ प्रति पनि दर्शकको चासो बढेको थियो ।

‘जोश’ ले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । तर ‘कहो ना प्यार है’ को ऐतिहासिक सफलताका अगाडि यसको चर्चा केही ओझेलमा पर्‍यो ।

शाहरुख खानले उत्कृष्ट अभिनेताको र शरद कपूरले उत्कृष्ट खलनायकको विधामा फिल्मी पुरस्कारका लागि मनोनयन पाए । तर त्यो वर्षको चर्चा र सफलता भने ऋतिक रोशन र ‘कहो ना प्यार है’ कै नाममा रह्यो ।

त्यसपछि शरदले ठूलो र मुख्य भूमिका पाउन सकेनन् ।

‘दस्तक’ र ‘जोश’ मा दमदार उपस्थिति जनाएका शरद क्रमशः ‘क्योंकि मैं झूठ नहीं बोलता’, ‘हथियार’, ‘जानी दुश्मन’, ‘एलओसी कारगिल’, ‘लक्ष्य’ र ‘वान्टेड’ जस्ता फिल्ममा साना तथा नकारात्मक भूमिकामा सीमित हुँदै गए ।

बिस्तारै उनी पर्दाबाट टाढिँदै गए । दर्शकले पनि उनलाई बिर्सन थाले ।

सन् २०१४ मा सलमान खानको फिल्म ‘जय हो’ मा ‘दस्तक’ का पुराना सहकर्मी मुकुल देव र शरद कपूर फेरि सँगै देखिए । तर दुवैलाई खासै महत्त्व नभएका भूमिकामा देख्दा उनका प्रशंसक निराश भए ।

विवाद र यौन दुर्व्यवहारको आरोप

सन् २०२४ को नोभेम्बरमा ३२ वर्षीया एक महिलाले शरद कपूरमाथि दुर्व्यवहार र यौन उत्पीडनको आरोप लगाउँदै मुम्बईको खार प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।

त्यतिबेला शरदले यस विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

यो मुद्दा अझै चलिरहेको छ । हालै शरदले भनेका छन्, ‘जब कुनै कारणबिना तपाईंलाई दोषी ठहर्‍याइन्छ, त्यसले स्वाभाविक रूपमा पीडा दिन्छ ।’

समाचार एजेन्सी पीटीआईका अनुसार ती महिलालाई आफ्नै घरमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा शरदमाथि मुद्दा दर्ता भएको थियो ।

शरदले उक्त घटनापछि आफू डिप्रेसनमा गएको दाबी पनि गरेका छन् ।

आर्थिक अवस्था किन बिग्रियो ?

‘मुम्बई मिरर’ को एउटा रिपोर्टअनुसार शरद कपूरको आर्थिक अवस्था अहिले राम्रो छैन ।

रिपोर्टमा उल्लेख भएअनुसार उनले सन् २०१९ मा खारस्थित आफ्नो फ्ल्याट बेचेका थिए । त्यसपछि लखनउमा जग्गाको कारोबारमा करोडौँ रुपैयाँ लगानी गरे । तर उनी ठगीमा परे ।

आर्थिक समस्याका कारण उनले आफ्ना कारसमेत बेचेको चर्चा छ । ‘टाइम्स अफ इन्डिया’ लाई दिएको अन्तर्वार्तामा शरदले कार बेच्नुको कारण फरक बताएका छन् । उनले भनेका छन्, ‘मैले कारहरू बेचें, किनभने अब मलाई तिनको आवश्यकता थिएन ।’

सोही अन्तर्वार्तामा उनले आफ्नो आर्थिक अवस्था ठीक रहेको तर कामको आवश्यकता भएको बताएका छन् । ‘म आर्थिक रूपमा ठीक छु । तर मलाई काम चाहिएको छ,’ उनले भनेका छन् ।

निजी जीवन कस्तो छ ?

शरदको निजी जीवनबारे पनि अहिले चासो बढेको छ ।

कोलकाताको पञ्जाबी परिवारमा जन्मिएका शरदको सम्बन्ध पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ज्योति बसुकी नातिनी कोयल बसुसँग रहेको थियो ।

सन् २००६ डिसेम्बर ४ मा ‘मुम्बई मिरर’ लाई दिएको अन्तर्वार्तामा शरदले कोयलसँग इन्गेजमेन्ट भएको पुष्टि गरेका थिए ।

उनले भनेका थिए, ‘हिजो साँझ कोयलसँग मेरो इन्गेजमेन्ट भएको हो । यो प्रेम र परिवारको सहमतिमा तय भएको सम्बन्ध हो । कोयलसँग मेरो भेट छ महिनाअघि कोलकाताको ओबेरोय होटलमा भएको थियो । उनी त्यहाँ काम गर्थिन् । त्यसपछि छिट्टै हाम्रा परिवारबीच कुराकानी भयो ।’

शरदले सधैँ आफ्नो निजी जीवनलाई सञ्चारमाध्यमको पहुँचबाट टाढा राख्न खोजेका छन् । त्यसैले कोयलसँगको सम्बन्ध र पारिवारिक जीवनबारे धेरै जानकारी सार्वजनिक छैन ।

अहिले शरदको अवस्था र उनका कुकुरलाई हेरचाहका लागि पशु आश्रयस्थलमा पुर्‍याउने विषय सार्वजनिक गर्ने उनकी साथी हेमा चौधरीले एउटा पोडकास्टमा कोयल र शरदको इन्गेजमेन्ट मात्रै भएको बताएकी छिन् । उनीहरूबीच विवाह भने नभएको उनको भनाइ छ ।

शरदको वर्तमान अवस्था र सम्बन्धबारे कोयल बसुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यता ‘टाइम्स अफ इन्डिया’ सँगको कुराकानीमा शरदले आफ्नी ३३ वर्षीया प्रेमिकासँग गतमहिना सन्तान जन्मिएको जानकारी दिएका छिन् ।

उनले भनेका छन्, ‘हामी चार वर्षअघि भेटेका थियौँ । उनी पछिल्लो दुई वर्षदेखि मसँगै बसिरहेकी छिन् । उनले मलाई निकै साथ दिएकी छिन् । हाम्रो सम्बन्ध निकै सुखद् र समझदारीपूर्ण छ । प्रेम मेरा लागि महत्त्वपूर्ण छ । यसले मेरो जीवनमा विशेष चमक ल्याउँछ ।’

कस-कसले सहयोगको प्रस्ताव गरे ?

शरदले सहयोगको अपिल गरेपछि फिल्म क्षेत्रका कलाकारहरू उनको साथमा उभिन थालेका छन् । ‘वान्टेड’ र ‘जय हो’ मा उनीसँगै काम गरेका सलमान खानले आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

सोनु सूदले उनको उपचारसम्बन्धी सम्पूर्ण सहयोगको जिम्मेवारी लिने बताएका छन् । उनले शरदसँग व्यक्तिगत रूपमा सम्पर्कसमेत गरेका छन् ।

निर्देशक रोहित शेट्टी र अहमद खानले पनि फोन गरेर उनको अवस्थाबारे जानकारी लिएका छन् ।

शरदका अनुसार शाहरुख खानले पनि आफूलाई आवश्यक परेको सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?