७ मंसिर, काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो ।
नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । यो मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर हो । नयाँ रङ थपिएसँगै एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ ।
नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा यामाहाको जापानी विरासतलाई जोड्दै नयाँ भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सन् १९५५ मा स्थापना भएको यामाहा मोटरले ७१ वर्षको यात्रा पूरा गरेको अवसरलाई समेत कार्यक्रममा स्मरण गरिएको थियो ।
कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको लामो समयदेखिको मित्रता तथा सहकार्यको चर्चा गर्दै जापानले प्रविधि, पूर्वाधार र विकासका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा उल्लेख गर्दै नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन एमएडब्लू ग्रुप प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गरेको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सवका अवसरमा नयाँ रङको भेरियन्ट सार्वजनिक गर्न पाउनु गौरवको विषय भएको उनले बताए ।
फेस्टिभलमा परम्परागत जापानी कोटो संगीत, ताइको ड्रम, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो ।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधियुक्त इन्जिन, डेल्टा बक्स फ्रेम, ६ स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन् । यी विशेषताले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4