+
+
Shares

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते २२:०४

७ मंसिर, काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।

कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन् ।

चिकित्सकहरूका अनुसार उनीहरूले कलेजका कार्य तथा अभ्यासविरुद्ध गत ३१ साउन देखि शान्तिपूर्ण धर्ना र आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा पछिल्लो दुई महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफलसमेत भएको थियो ।

छलफलका क्रममा आफूहरूमाथि भएका विभिन्न आरोप र समस्यासँग सम्बन्धित प्रमाणहरू प्रस्तुत गरेको उनीहरूको दाबी छ । तर, सरोकारवाला निकायले समस्या समाधान गर्न नसकेको र समाधान हुने आश्वासन मात्रै दिएको चिकित्सकहरूले आरोप लगाएका छन् ।

‘हामीले प्रत्येक आरोपका सम्बन्धमा आवश्यक सबै प्रमाणहरू प्रस्तुत गर्‍यौं । तर पनि सरोकारवाला निकायहरूले समस्याको समाधान गर्न सकेनन् र हामीलाई समाधान हुने झुटो आशामा राखियो,’ राजीनामा पत्रमा भनिएको छ ।

समस्या समाधानका लागि पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?