८ मंसिर, पाँचथर । पाँचथर, इलाम र धनकुटाका विभिन्न क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने राँके–रवि–भेडेटार सडकको कालोपत्र गर्ने कामा ढिलाइ भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम चाँडै सम्पन्न गर्न दबाब दिएका छन । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्म एक सय किलोमिटर सडक स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई दबाब दिएका छन् ।
भारतीय लगानीमा भारतीय निर्माण कम्पनीले काम गरिरहेको यो खण्डको कालोपत्र गर्ने काममा ढिलाई भइरहेको छ । पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ, इलामको माङसेबुङ र फाकफोकथुम र धनकुटाका साँगुरीढी र चौबिसका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले सयुक्त रूपमा सडकको अनुगमन गरेका थिए । आयोजना कार्यालयका इन्जिनियर र निर्माण कम्पनीका प्रतिनिधि समेत सहभागी थिए ।
‘ठेक्का लागको आठ वर्षमा पनि काम सम्पन्न हुन सकेन । अझै कहिले सकिने टुङ्गो नभएपछि यो सडकमा पर्ने स्थानीय तहका जनप्रतिनिधले अनुगमन गर्दै निर्माण व्यवसायीलाई कामलाई तीव्रता दिन दबाब दिएका छौँ । दुई तीन ठाउँबाट काम थाल्न अनुरोध समेत गरेका थियौँ,’ पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वृजहाङ आङदेम्बेले भने, ‘१५ दिनमा देखिने गरी कामलाई तीव्रता दिन्छौँ भन्नु भएको छ । १५ दिन पछि राँकेमा बैठक गर्ने सहमति भएको छ । हामी दबाब दिइरहने छौँ ।’
उक्त कामको ठेक्काको म्याद सात पल्ट थपिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रवि बजारमा कालोपत्रको शिलान्यास गरेका थिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएको ऋण सम्झौतामा यो सडक कालोपत्र गर्ने काम पनि परेको थियो । २ डिसेम्बर २०२१ मा काम सक्ने गरी १९ नोभेम्बर २०१८ मा भारतीय ठेकेदार कम्पनी एफको इन्फ्रा टेक प्रालीसँग ठेक्का ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकन डलरमा कालोपत्रका लागि सम्झौता भएको थियो । ३६ महिनामा सक्ने सम्झौता भएको काम पटक पटक म्याद थपिँदा पनि सकिएको छैन।
जनप्रतिनिधिले सडक निर्माणमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जदाउँदै काम छिटो गर्न अनुरोध गरेका छन् । निर्माण कम्पनीले पनि जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिने जनाएको छ ।
धनकुटामा ४५.४,पाँचथरमा ३०.१८र इलाममा २२.१० सडक पर्छ भने २.६० किलोमीटर दुई जिल्लाको सिमाना पर्छ ।
निर्माण कम्पनीका परियोजना म्यानेजर अभय मिश्रले कोभिड–१९, इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि, यहाँको मौसम जस्ता कारणले ढिलाइ भएको बताए थिए ।
हालसम्म यो सडक ३५ किलोमीटर कालोपत्र भएको जानकारी दिइएको छ । काममा ढिलाइ भएकाले सडक आसपासका क्षेत्रका बासिन्दाले दुख: पाइरहेको धनकुटाको साँगुरीगडी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
प्रतिक्रिया 4