+
+
Shares

रोकिएन प्रि-आईपीओ नामबाट पैसा उठाउने क्रम

प्रिआईपीओ बिक्री गर्नका लागि विभिन्न एजेन्ट (व्यक्ति) सक्रिय रहेका छन् । ‘केही कम्पनीको प्रिआईपीओ सकिसकेको छ, धेरैको बाँकी नै छ’ प्रिआईपीओ बिक्रीमा संलग्न एक एजेन्टले भने ।

कमल नेपाल कमल नेपाल
२०८३ मंसिर ८ गते १८:२५

८ मंसिर काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने तयारीमा रहेका कम्पनीको नाममा प्रिआईपीओ भन्दै सर्वसाधारणबाट रकम संकलन गर्ने क्रम विगतदेखि नै चल्दै आएको छ ।

कम्पनीको आईपीओ निष्कासन हुनुअघि नै सेयर उपलब्ध गराउने भन्दै विभिन्न व्यक्ति तथा समूहले लगानीकर्तासँग रकम उठाउने गतिविधि गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डले प्रिआईपीओका नाममा सर्वसाधारणलाई सेयर बिक्री गर्ने कार्य गैरकानुनी भएको स्पष्ट पार्दै यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

बोर्डका अनुसार हाल प्रचलित कानुनमा प्रि–आईपीओ भन्ने कुनै व्यवस्था छैन । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) अनुसार कुनै संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्न चाहने हो भने त्यस्तो बिक्री सार्वजनिक निष्काशनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ । त्यसैले बोर्डको स्वीकृति विना कुनै पनि कम्पनी वा संस्थाले सर्वसाधारणसँग सेयर खरिदबिक्री गर्ने कार्य गर्न सक्दैन ।

जलविद्युत्, होटल, उत्पादनमूलक तथा अन्य क्षेत्रका कम्पनीको नाम जोडेर सामाजिक सञ्जाल मार्फत प्रिआईपीओमा लगानी गर्न आह्वान गर्ने गरिएको छ । सामाजिक सञ्जाल, व्यक्तिगत सम्पर्क तथा विभिन्न समूहका माध्यमबाट कम्पनीले भविष्यमा आईपीओ ल्याउने र त्यसअघि नै सेयर खरिद गरेमा उच्च प्रतिफल प्राप्त गर्न सकिने भन्दै सर्वसाधारण लाई आकर्षित गर्ने गरिएको छ ।

प्रिआईपीओ बिक्री गर्नका लागि विभिन्न एजेन्ट (व्यक्ति) सक्रिय रहेका छन् । ‘केही कम्पनीको प्रिआईपीओ सकिसकेको छ, धेरैको बाँकी नै छ’ प्रिआईपीओ बिक्रीमा संलग्न एक एजेन्टले भने ।

उनका अनुसार प्रिआईपीओ खरिद गर्न चाहनेलाई पहिले फारम उपलब्ध गराइन्छ । त्यसपछि फारम भरेर नागरिकताको प्रतिलिपि, कम्पनी वा आधिकारिक व्यक्तिको खातामा जम्मा भएको रकमको भौचर वा अन्य प्रमाणित कपी बुझाउनुपर्छ ।

बैंक खाता नम्बर एजेन्टमार्फत नै उपलब्ध गराइन्छ, त्यसपछि रकम जम्मा गरेको भौचरसहित कम्पनीसँग सम्पर्क गराएर सेयर प्रमाणपत्र प्रदान गरिन्छ । ‘यो पैसा कम्पनीमै जाने हो, कम्पनीबाटै सेयर प्रमाणपत्र प्रदान गरिने हो’ उनले भने । कम्तीमा १ हजार कित्ता सेयर खरिदको लागि रकम जम्मा गर्नुपर्ने उनले बताए । कतिपय कम्पनीका हकमा न्यूनतम ५ हजार कित्ता तोकिएको छ ।

उनका अनुसारपछि यो संस्थापक सेयर डिम्याट खातामा जम्मा हुन्छ । धितोपत्र बोर्डबाट जब कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाउँछ, त्यसपछि २ महिनाभित्र आईपीओ जारी हुन्छ ।

केहीबाहेक अधिकांश कम्पनीको अंकित मूल्यमा प्रिमियम रकम थप गर्दै प्रिआईपीओ बिक्री भएको छ । ‍

यसरी रकम संकलन गरिएका कम्पनीमा गोल्डस्टार सुज, हिमालयन बुलियन, फ्रन्टलाइन हस्पिटल, स्टार पोलिपाइप, बिराट एग्री, हुकाम फर्मास्युटिकल्स, लुम्बिनी प्यालेस, शान्त प्लाइउड, डोलेस्वर भिलेज रिसोर्ट, नगरकोट रिसोर्ट लगायत छन् । केही कम्पनीको प्रिआईपीओ सकिएको र केही बाँकी रहेको ती एजेन्टले बताए ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको ३ वर्षपछि अर्थात् लकइन अवधि खुलेपछि यो सेयर बजार मूल्यमै बिक्री गर्न पाइन्छ । यसरी अहिले प्रिआईपीओ भनेर बिक्री गरिएका अधिकांश कम्पनीले बोर्डमा आईपीओका लागि आवेदन नै दिएका छैनन् ।

‘संस्थापक सेयर पूर्ण रुपमा बिक्री भएपछि आईपीओका लागि आवेदन दिने कार्य हुन्छ, केही कम्पनी त पाइपलाइनमै पनि छन्’ उनले भने । ३ वर्षदेखि आईपीओको लागि आवेदन दिएका कम्पनीलाई अझै पनि बोर्डले स्वीकृत गरेको छैन । ‘बोर्डमा आवेदन दिँदैमा आईपीओ स्वीकृति हुँदैन’ अध्यक्ष गोपाल भट्टले भने ‘प्रिआईपीओ भनेर सेयर बेच्नु अवैधानिक हो, कम्पनी सूचीकृत हुने सुनिश्चिता हुँदैन ।’

हाल बोर्डमा १ सयभन्दा धेरै कम्पनी आईपीओको पाइपलाइनमा छन् । राज्यले कानुनविपरीतका कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाइ छ । प्रिआईपीओका रुपमा रकम संकलन गर्ने क्रम चलिरहँदा त्यस्तो लगानीको वैधानिकता, रकमको सुरक्षा तथा भविष्यमा सेयर प्राप्त हुने सुनिश्चिततामाथि प्रश्न उठेको छ ।

कम्पनी सञ्चालक भने प्रिआईपीओ भनेर सार्वजनिक रुपमा सेयर बिक्री नगरिएको दाबी गर्छन् । ‘कम्पनी ऐनमा रहेर संस्थापकका रुपमा केही साझेदार बनाएर सेयर प्रदान हुन सक्छ, तर सार्वजनिक सूचना नै निकालेर कसैले बेचेको छैन’ एक संस्थापक सेयरधनीले भने ।

कम्पनीहरूले नै सार्वजनिक सूचना जारी नगरे पनि व्यक्तिमार्फत भने सूचनाहरू छरपष्ट हुने गरेका छन् । कम्पनी ऐनले सार्वजनिक कम्पनीका हकमा संस्थापक सेयरधनीको अधिकतम संख्या पनि तोकेको छैन । ‘पब्लिक कम्पनीमा संस्थापक सेयरधनी हजारौं, लाखौं हुन सक्छन्, त्यसकारण हामीले कम्पनी ऐनलाई मान्ने हो, कम्पनी सूचीकृत नभएसम्म धितोपत्र बोर्ड हाम्रो नियामक हुँदैन’ ती सेयरधनीले भने ।

बोर्डले २०८२ भदौ ९ गते सार्वजनिक सूचना जारी गर्दै प्रिआईपीओका नाममा सर्वसाधारणलाई सेयर बिक्री नगर्न तथा नगराउन सचेत गराएको थियो ।

सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाको सेयर निकट भविष्यमा आईपीओ जारी हुने भन्दै सामाजिक सञ्जाल, इमेल तथा एसएमएसमार्फत बिक्री प्रस्ताव गरी अनधिकृत रूपमा रकम उठाइएको गुनासो प्राप्त भएपछि बोर्डले यस्तो सूचना जारी गरेको थियो ।

प्रिआईपीओका नाममा रकम संकलन गर्नेहरूले प्रायः सम्बन्धित कम्पनी भविष्यमा सर्वसाधारणमा सेयर निष्कासन गर्ने तयारीमा रहेको तर्क गर्ने गरेका छन् । तर, कुनै कम्पनीले भविष्यमा आईपीओ निष्कासन गर्ने योजना बनाएको वा त्यसका लागि तयारी गरिरहेको भन्दैमा अहिले नै सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने कानुनी अधिकार प्राप्त नहुने बोर्डका प्रवक्ता निरन्जय घिमिरे बताउँछन् ।

‘प्रिआईपीओ वैधानिक होइन, कसैबाट स्वीकृति दिइएको हुँदैन, सार्वजनिक रुपमा बिक्री गर्न पाइँदैन’ उनले भने । सार्वजनिक रूपमा सेयर बिक्री वितरण गर्दा धितोपत्रसम्बन्धी कानुन र नियामकीय प्रक्रिया पालना गर्नुपर्ने उनले बताए ।

कम्पनीले पूँजी जुटाउन संस्थापक तथा अन्य सीमित लगानीकर्ताबाट लगानी प्राप्त गर्नु र सर्वसाधारणलाई सेयर बिक्रीका लागि सार्वजनिक आह्वान गर्नु फरक विषय हुन् ।

सूचीकृत नभएका यस्ता कम्पनीको नियमन गर्ने अधिकार बोर्डले राख्दैन । अर्कोतर्फ, प्रिआईपीओ भन्दै रकम बुझाउने लगानीकर्ताले भविष्यमा सम्बन्धित कम्पनीको आईपीओ निष्कासन हुने, आफूले खरिद गरेको भनिएको सेयर आधिकारिक रूपमा आफ्नो नाममा आउने वा अपेक्षित मूल्यमा बिक्री गर्न पाउने सुनिश्चितता प्राप्त गर्दैनन् ।

कम्पनीले आईपीओ निष्कासन नगरेमा, निष्कासनको अनुमति नपाएमा वा व्यावसायिक अवस्था बिग्रिएमा लगानीकर्ताको रकम जोखिममा पर्न जानेछ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?