८ मंसिर, धनकुटा । धनकुटाको शहीदभूमिका राई समुदायको मौलिक पर्व वाडाङ्मी (पापानी) सुरु भएको छ ।
नयाँ बाली भित्र्याएको खुसीयालीमा शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायले वाढाङ्मी (पापानी) पर्व मनाउने गर्दछन् ।
शहीदभूमि गाउँपालिका–३ स्थित साकेन्वा थानमा सामूहिक पूजाआराधना गरेसँगै राई समुदायको वाढाङ्मी पर्व सुरु भएको छ ।
सामान्यतया कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबारदेखि सुरु हुने यो पर्व यसवर्ष पूर्णिमाकै दिन(आज) परेकाले आजैदेखि सुरु भएको स्थानीयवासी नरेन्द्र कश्चित राईले बताए ।
नयाँ बाली भित्र्याएको खुसीयालीमा मनाइने यो पर्वमा ढोल, झ्याम्टा बजाउँदै सामूहिक नाचगान गर्ने, इष्टदेवताको पूजाआराधना गर्ने र आपसमा खुसी साटासाट गर्ने परम्परा रहेको छ ।
६ दिन ६ रातसम्म मनाइने वाडाङ्मी पर्वमा सहभागीहरू गोलो घेरा बनाएर एकअर्काको काँधमा हात राख्दै तीन कदम अगाडि र पछाडि सरेर नाच्ने गर्दछन् ।
पर्वको पहिलो दिन गाउँभरिका गढीघरका ढोलहरू मूल पुजारीको घरमा भेला भई पूजाआराधना गरेर पर्वको सुरुवात गरिएको छ ।
दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने र माङ्ला अर्थात् जोखाना हेर्ने परम्परा छ ।

त्यसैगरी, पर्वको अन्तिम चरणमा इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीकका रूपमा ङाङसुबाथिङको घर हुँदै गढीघर, पथ्थरे र मझियाको गढीघरमा पूजाआराधना गर्ने चलन रहेको छ ।
स्थानीय जनविश्वासअनुसार पापानी शब्द पामाआनीबाट अपभ्रंश भएर बनेको हो । राई भाषामा ‘पा’ भन्नाले पुरुष र ‘मा’ भन्नाले महिला बुझिने भएकाले पामाआनीले महिला र पुरुष गोलो घेरा बनाएर बाजागाजासहित नाच्ने परम्परालाई जनाउने विश्वास गरिन्छ ।
धनकुटामा आठपहरियाको मार्गा पूजा
यता, धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आफ्नो प्रमुख पर्व वडाङ्मेट पनि धुमधामका साथ मनाइरहेको छ ।
आपसी सद्भाव, एकता र खुसीयालीका साथ मनाइने यस पर्वअन्तर्गत मंगलबार नगर क्षेत्रका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थानमा भेला भएर विधिपूर्वक मार्गा पूजा गरिएको छ ।
पूजाका लागि सोमबार नै सबै मार्गा थान सरसफाइ गरिएको थियो । पूजाका क्रममा प्रत्येक घरबाट ल्याइएका सुँगुर र कुखुराको बलि दिने परम्परा रहेको छ । आठपहरिया समुदायमा ५२ चुले अर्थात् ठूलो घरमा माङ्लाङ् उठाएपछि वडाङ्मेट पर्व सुरु भएको हो ।
पर्वका क्रममा बुधबार र बिहीबार घरघरमा पितृ पूजा गर्ने तथा बरखी बारिरहेका परिवारका सदस्यले सेतो लुगा फेर्ने कार्यक्रम रहेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताए ।
यस अवसरमा तेन कोक्मा अर्थात् ठूलो घर, पुजारी, सुब्बा र कारोबारीको घरमा परम्परागत नाच प्रस्तुत गरिन्छ । विगतमा हरेक घरमा नाच्ने चलन भए पनि अहिले घरपरिवारको संख्या बढ्दै गएको र समय अभावका कारण मुख्य घरहरुमा मात्रै नाच्ने गरिएको उनले बताए ।
विशेषगरी दु:खबाट उक्सिएको खुसीयाली, घरको जेठो छोरो जन्मिएको अवसर तथा नयाँ घर निर्माण गरेको खुसीमा वडाङ्मेट पर्व मनाउने गरिन्छ ।
तेन कोक्मापछि जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको खुसीयालीमा घरघरमा भोजभतेर तथा नाचगान गर्ने परम्परा रहेको छ । यो क्रम आगामी औँसीसम्म जारी रहने भएको छ ।
पर्वका अवसरमा आठपहरिया समुदायभित्रका हुम्वारक, छिर्लिङे र खावाडो तीन पाछाको डल्ले नाचसमेत प्रस्तुत गरिन्छ ।
यसैबीच, वर्षभरि आमा वा बुबा गुमाएका आठपहरिया समुदायका सदस्यले दु:खबाट उक्सिने परम्पराअनुसार धनकुटाबाट पैदल यात्रा गरी सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा त्यसलाई दसीसहित खोलामा बगाउने धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेका छन् ।
गत शनिबार धनकुटाबाट हिँडेका उनीहरु आइतबार बराहक्षेत्र पुगेर विधि पूरा गरी मंगलबार बिहान धनकुटा आइपुगेका हुन् । उनीहरू आइसकेपछि मार्गा पूजा तथा घरघरमा पितृ पूजा गर्ने परम्परा रहेको छ ।
धनकुटामा मात्रै मुख्य बसोबास रहेको तथा फरक संस्कार र संस्कृति रहेको आठपहरिया समुदायले वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा वडाङ्मेट पर्व मनाउँदै आएका छन् ।
यी तीन वटा पर्व मनाउन विश्वको जहाँसुकै रहेपनि धनकुटा नगरपालिका क्षेत्रमा आउनुपर्ने मान्यता रहेको छ ।
प्रतिक्रिया 4