१० मंसिर, विराटनगर । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको मोरङ जिल्ला अधिवेशन सुरु भएको १० दिन बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन । १५औं नियमित महाधिवेशनअन्तर्गत सुरु भएको जिल्लाको नेतृत्व चयन प्रक्रिया आन्तरिक सहमति जुट्न नसक्दा अनिश्चित बनेको हो ।
१ मंसिरमा सुरु भएको अधिवेशन भोलिपल्टै सम्पन्न गर्ने कार्यसूची तय गरिएको थियो । तर नियमित महाधिवेशन पक्षधर नेताहरूबीच सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने विषयमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया नै अनिश्चितकालका लागि रोकिएको छ ।
अधिवेशनमा जिल्ला सभापति पदमा सुवास पौडेल, खगेन्द्र थापा र विनायक पन्तले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपसभापतिमा ३ र सचिव पदमा ४ जनाको उम्मेदवारी परेको छ ।
निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिमै नेतृत्व टुङ्ग्याउने उद्देश्यले छलफल गरिएको थियो । तर लामो कसरतका बाबजुद सर्वसम्मतिबाट निकास निस्कन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।
सहमतिको प्रयास सफल नभएपछि मोरङका निर्वाचन अधिकृत अधिवक्ता सचिन सिंहले मंसिर ७ गते नै केन्द्रीय निर्वाचन समितिलाई पत्र लेख्दै निर्वाचन स्थगित गरिएको जानकारी गराएका थिए ।
निर्वाचन अधिकृत सिंहले पठाएको पत्रमा केन्द्रीय निर्वाचन समितिसँग आवश्यक सल्लाह र परामर्श गरी मतदानको नयाँ मिति निर्धारण गर्ने तथा अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
निर्वाचन स्थगन गरिएको जानकारी पन्ध्रौं नियमित महाधिवेशन केन्द्रीय कार्यालय चुनदेवी, कोशी प्रदेश समिति र मंसिर १ गते उम्मेदवारी दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई समेत बोधार्थमार्फत पठाइएको छ ।
अधिवेशन सुरु भएको १० दिन बितिसक्दा पनि न सहमति जुट्न सकेको छ न त निर्वाचनको अर्को मिति नै तय भएको छ । जसका कारण देउवा समूहको मोरङ कांग्रेसको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ ।
जिल्ला निर्वाचन अधिकृत सिंह मोरङको अवस्थाका बारेमा केन्द्रीय निर्वाचन समितिको निर्देशनपछि अघि बढ्ने बताउँछन् । ‘हामीले माथि लेखेर पठाएका छौं । केन्द्रीय निर्वाचन समितिको निर्णय कुरेर बसेका छौं,’ उनले भने ।
प्रतिक्रिया 4