+
+
Shares

सामाजिक सुरक्षा कोषको रकम भौतिक पूर्वाधारमा जोड्न विशेष ऋणपत्र जारी गर्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १५:५४

११ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्न विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारमाथि छलफल भइरहेको बताएका छन् ।

शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरेर विशेष ऋणपत्र जारी गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।

‘सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सरकारले काम गरिरहेको छ,’ वाग्लेले भने, ‘अनिवार्य पेन्सनमा प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरी विशेष प्रकृतिको ऋणपत्र जारी गर्न सक्ने नीतिगत आधारका विषयमा छलफल भइरहेको छ ।’

यसैगरी, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विकल्पमाथि पनि छलफल चलिरहेको उनले बताए । स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको र आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गरिने र धेरै विषय विशेष रूपमा घोषणा गरिने बताए ।

कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै उनले सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्नेमा जोड दिए ।

आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिने उनको दाबी छ ।

बजेटको सीमिततातर्फ सङ्केत गर्दै उनले ठट्यौली शैलीमा भने, ‘यद्यपि, माग गरेकै रकम र माग गरेकै समयमा उपलब्ध गराउन नसकिएला । तर, हाम्रो दीर्घकालीन योजना यही अवधारणाअनुसार अगाडि बढ्नेछ । त्यसैले हाम्रा श्रममन्त्रीले एकपटक होइन, दसपटक नै फोन गर्नुपर्छ, तर काम भने अवश्य हुन्छ ।’ आगामी बजेटको तयारीका लागि सरोकारवालाहरूको सहयोग र सुझाव महत्त्वपूर्ण हुने उनले बताए ।

सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको व्याख्या गर्दै वाग्लेले अत्यन्त न्यून आय भएका, विपन्न तथा आयआर्जन गर्न नसक्ने वर्गलाई राज्यले क्रमश: सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्ने बताए ।

कमाउन र योगदान गर्न सक्ने आय भएका नागरिकलाई भने योगदानमा आधारित सामाजिक बीमाको दायरामा ल्याएर सामाजिक सुरक्षालाई सर्वव्यापी बनाउने दिशामा सरकार अघि बढेको उनको भनाइ छ ।

यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख गरिएको बताउँदै उनले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टीको नीतिअनुसार सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै जाने स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कार्यक्रमलाई खर्चका रूपमा मात्र नहेरी आर्थिक उत्पादकत्वसँग जोडेर हेर्नुपर्ने तर्क गरे । यसले श्रमिकको हित संरक्षण गर्नुका साथै समृद्धिको सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।

‘विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनहरूले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा उत्पादकत्वमा समेत वृद्धि हुने देखाएका छन् । विशेषगरी साना तथा मझौला उद्यमहरूमा यसको सकारात्मक प्रभाव परेको पाइएको छ,’ वाग्लेले भने, ‘सामाजिक न्यायका क्षेत्रमा काम गर्दा साधन र साध्य छुट्याइराख्नुपर्दैन, सामाजिक न्यायका नाममा गरिने लगानी आफैँमा साध्य हो । तर आर्थिक लगानीका सन्दर्भमा यो कुन साधन हो र यसले कुन साध्य प्राप्त गर्न सहयोग पुर्‍याइरहेको छ भन्ने पनि हेर्नुपर्ने हुन्छ ।’

जनसाङ्ख्यिक लाभ लिन तथा नयाँ पुस्तालाई राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउन पनि सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकाले सरकार पूर्ण प्रतिबद्धताका साथ यसको दायरा विस्तारमा जुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?