११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक र राजनीतिक रूपमा तयारीमा जुट्न आह्वान गरेकी छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले ‘हामी तयार छौं’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरी संगठन सुदृढीकरणमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् ।
निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको उल्लेख गर्दै महामन्त्री संग्रौलाले अब आन्तरिक विवाद र वैधानिकताको बहसभन्दा माथि उठेर संगठन निर्माण र निर्वाचनको तयारीमा लाग्नुपर्ने बताइन् ।
‘अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै,’ उनले भनिन्, ‘हामी नै आधिकारिक कांग्रेस हौं भन्ने स्पष्ट र आत्मविश्वासपूर्ण सन्देश देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म पुर्याउनुपर्छ ।’
उनले ‘हामी तयार छौं’ अभियानलाई घरघरमा पुगेर जनसम्पर्क विस्तार गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
संग्रौलाले मुलुकमा देखिएका विपद्, अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित आर्थिक चुनौती र नागरिकका मौलिक अधिकारसँग जोडिएका विषयलाई कांग्रेसले गम्भीरतापूर्वक उठाउनुपर्ने धारणा राखिन् ।
सरकारका गतिविधिबारे टिप्पणी गर्दै संग्रौलाले प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भएको आरोप लगाइन् । पत्रिकाको कार्यालयमै पुगेर धरपकड गर्ने, प्रहरी अनुसन्धानमा हस्तक्षेप गर्ने र प्रधानमन्त्रीका सल्लाहकारले प्रमाण वा मोबाइल फोन नियन्त्रणमा लिने जस्ता गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4