+
+
Shares

जावेद अख्तरको सुझाव : ‘धुरन्धर’ को नक्कल गरेर केही उपलब्धि हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:३८

गीतकार तथा लेखक जावेद अख्तरले फिल्म ‘धुरन्धर’ को प्रशंसा गरेका छन् । साथै उनले अन्य फिल्ममेकरलाई यसको नक्कल नगर्न सुझाव दिएका छन् । कोमल नाहटासँगको कुराकानीमा जावेदले आफूलाई ‘धुरन्धर’ निकै मन परेको बताए ।

फिल्म हेरेपछि उनले यसको निर्देशक आदित्य धरको फोन नम्बर खोजेर फोन गरेका थिए र बधाई दिएका थिए । जावेदका अनुसार अब सबै फिल्ममेकर ‘धुरन्धर’ जस्तै फिल्म बनाउन चाहनेछन् । तर, उनीहरूले त्यस्तो फिल्म बनाउन सक्ने छैनन् ।

अन्तर्वार्ताका क्रममा बलिउडको सबैभन्दा ठूलो कमजोरीमध्ये एउटा देखासिकी गर्ने प्रवृत्ति भएको प्रसंग उठाइएको थियो । त्यसको जवाफमा जावेदले भने, ‘देखासिकीमा सबै भेडा एकै किसिमका हुन्छन् । तर, तपाईं आदित्य धरजस्तो हुनुहुन्न । उनी तपाईंभन्दा केही राम्रो छन् ।’

उनले थपे, ‘तपाईंले यस्ता प्रयास गरेर केही उपलब्धि हासिल गर्न सक्नुहुन्न । उनले जे गरेका छन्, त्यो काम उनी मात्रै गर्न सक्थे । यो काम एकाएक भएको होइन । यसका लागि उनले निकै गहिरो अनुसन्धान गरेका होलान् ।’

जावेदले फिल्ममा देखाइएको संसार वास्तविक लाग्ने पनि बताए । सडक, गल्ली र वरपरका मानिसलाई जसरी प्रस्तुत गरिएको छ, त्यसमा केही पनि बनावटी नलाग्ने उनको भनाइ छ ।

लेखक अख्तरले आदित्य धरको नक्कल गर्न नसकिने बताए । यद्यपि, अरूले त्यस्तो प्रयास भने अवश्य गर्ने उनको अनुमान छ ।

यसअघि पनि ‘धुरन्धर’ बारे धारणा राखेका थिए जावेदले

जावेद अख्तरले ‘धुरन्धर’ बारे आफ्नो धारणा राखेको यो पहिलोपटक होइन । सन् २०२६ को मे महिनामा कोलकातामा आयोजित एक कार्यक्रममा उनलाई फिल्मलाई प्रोपोगान्डा भनिएको विषयमा प्रश्न गरिएको थियो ।

त्यसको जवाफमा उनले आफूलाई ‘धुरन्धर’ मन परेको बताएका थिए । उनले पहिलो भाग दोस्रो भागभन्दा बढी मन परेको पनि बताएका थिए ।

जावेदका अनुसार हरेक कथाको आफ्नै दृष्टिकोण हुन्छ । कुनै वर्गलाई फिल्मको कथा मन परेन भन्दैमा त्यसलाई प्रोपोगान्डा भन्न मिल्दैन । हरेक फिल्ममेकरलाई आफ्ना विचार प्रस्तुत गर्ने अधिकार रहेको उनको भनाइ थियो ।

आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर’ को पहिलो भागमा रणवीर सिंह मुख्य भूमिकामा थिए । फिल्ममा अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर. माधवन, सारा अर्जुन र राकेश बेदी पनि देखिएका थिए।

फिल्म सन् २०२५ डिसेम्बर ५ मा प्रदर्शनमा आएको थियो । स्याकनिल्कका अनुसार फिल्मले विश्वभरबाट १ हजार ३०७ करोड ३५ लाख भारुको कुल कमाइ गरेको थियो ।

यसको दोस्रो भाग ‘धुरन्धर : द रिभेन्ज’ सन् २०२६ मार्च १९ मा हलमा आएको थियो । उक्त फिल्मले विश्वभरबाट १ हजार ८१३ करोड ३९ लाख भारुको कुल कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?