११ मंसिर, काठमाडौं । सरकारले ८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेशमा खटाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।
विशेषज्ञ चिकित्सकको प्रदेशगत परिचालनसँगै नागरिकले विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएको छ। त्यस्तै कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक परिचालन गरिएको छ।
परिचालित चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। संघीय सरकारले प्रदेशमा पठाएका यी चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्ययोजनाका आधारमा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खटाउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चिकित्सक परिचालनपछि एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका विशेषज्ञ सेवा विस्तार हुनेछन्।
विशेषज्ञ चिकित्सकको उपलब्धताले विशेषगरी सुरक्षित प्रसूति सेवा, शल्यक्रिया र आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
यसबाट विशेषज्ञ स्वास्थ्य सेवाका लागि टाढाका सहर र ठूला अस्पताल पुग्नुपर्ने बाध्यता घट्ने तथा स्थानीयस्तरमै उपचारको पहुँच बढ्ने अपेक्षा गरिएको छ।
सरकारले विशेषज्ञ जनशक्तिको प्रदेश तथा स्थानीय तहसम्म विस्तारले स्वास्थ्य सेवामा रहेको भौगोलिक असमानता घटाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4