११ मंसिर, काठमाडौं । कांग्रेसको देउवा समूहको १५ औं महाधिवेशन नजिकिँदै गर्दा महामन्त्रीका आकांक्षीहरू पनि देखिन थालेका छन् ।
२१ मंसिरदेखि सुरु हुने महाधिवेशनमा पूर्व केन्द्रीय सदस्य र केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेकासम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका छन् ।
देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।
महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखकले १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने चाहना राखेका छन् ।
उनले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिनेबारे निकटस्थहरूलाई बताइसकेका छन् ।
स्रोतका अनुसार नेता लेखकले उम्मेदवारीका विषयमा नेता एनपी साउद र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसँग छलफल गरिसकेका छन् ।
‘रमेश दाइले हामीसँग महामन्त्रीमा उम्मेदवारी दिने भन्नुभएको छ,’ उनीनिकट एक महाधिवेशन प्रतिनिधिले भने, ‘यसबारेमा एनपी दाइ र वीरबहादुर दाइसँग पनि कुरा गर्नुभएको छ ।’
ती महाधिवेशन प्रतिनिधिका अनुसार छलफलमा नेताद्वय साउद र बलायरले महामन्त्रीमा उम्मेदवारी नदिने बताएपछि लेखक महामन्त्रीमा उम्मेदवार बन्न तयार भएका हुन् ।
गृहमन्त्री हुँदा सचिवालयमा काम गरिसकेका स्रोतअनुसार नेता लेखकले महामन्त्रीका लागि आन्तरिक तयारीमा जुट्न भनिसकेका छन् ।
१४औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रहेका लेखक गत भदौमा सम्पन्न देउवा समूहको राष्ट्रिय भेलामा विधान समिति संयोजक थिए ।
देउवा समूहका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । निकटस्थ स्रोतले पूर्वकेन्द्रीय सदस्य बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेको जानकारी दिएको छ ।
बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले पनि महामन्त्रीका आकांक्षी छन् । उनी १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विभिन्न जिल्ला र प्रदेश अधिवेशनहरूमा सहभागी हुँदै आएका काफ्ले महामन्त्रीका लागि मत माग्दै आएका छन् ।
उनले प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि औपचारिक रुपमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिए । ‘प्रदेश अधिवेशन सकिएपछि घोषणा गर्छु,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘अहिले त महामन्त्री भन्दै हिँडेको छु । साथीहरू के मा उठ्ने भन्नुहुन्छ, महामन्त्रीमा भोट हाल्नुहोला भनिरहेको छु ।’
यस्तै १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता गुरु बरालले पनि आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘महामन्त्री पदको उम्मेदवार हो ।’
राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत पनि देउवा समूहका महामन्त्रीका आकांक्षी हुन् । जिल्ला अधिवेशनका लागि रौतहट पुगेको बस्नेतले आफू महामन्त्रीको उम्मेदवार भएको बताए ।
‘म अहिले रौतहतको अधिवेशनमा छु । महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ उनले अनलाइनखबरसँग भने, ‘म त साथीहरूसँग महामन्त्रीका लागि मत माग्दै हिँडेको छु ।’
नेता बस्नेत नेपाल तरुण दलको अध्यक्ष रहँदा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
पूर्वकेन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पनि महामन्त्रीको आकाक्षां राख्ने नेताको सूचीमा पर्दछन् । देउवा समूहका नेताहरूले उनी पनि आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
यस्तै युवा नेता भुपेन्द्रजंग शाही पनि महामन्त्रीको तयारीमा लागेका छन् । उनी सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेर विभिन्न जिल्लाहरूमा पुगिरहेका छन् ।
नेता शाही १४औं महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्याशी थिए । तत्कालीन समयमा उनी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।
नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीलाई कांग्रेसले दोस्रो संविधानसभा र प्रतिनिधिसभा निर्वाचन २०७४ मा कालिकोटमा उम्मेदवार बनाएको थियो ।
१४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता उमाकान्त चौधरी पनि सम्भावित महामन्त्रीका उम्मेदवार हुन् । यद्यपि, उनले उम्मेदवारीको विषयमा मुख खोलेका छैनन् ।
प्रदेश अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेका कारण उम्मेदवारीको विषयमा नेताहरू मुखरित भइनसकेको देउवा समूहकानेताहरूको भनाइ छ । प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि पदाधिकारीका आकांक्षीहरू खुल्ने नेताहरू बताउँछन् ।
देउवा समूहले विधान संशोधन गरेर पदाधिकारीहरूको संख्या बढाउने तयारी गरेको छ । स्रोतका अनुसार उक्त समूहले उपसभापति र महामन्त्रीमा दुई–दुई जना बढाउने तयारी गरेको छ ।
‘विधान संशोधनको काम भइरहेको छ । पदाधिकारीको संख्या बढ्न सक्छ,’ विधान मस्यौदा समिति सदस्य रंगमती शाहीले भनिन् ।
एक महिलासहित चार उपसभापति र एक महिलासमित चार महामन्त्री रहने व्यवस्था विधानमा गर्ने सम्भावना रहेको देउवा समूहका नेताहरू बताउँछन् । यो समूहले नेता शिव हुमागाईंको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।
देउवा समूहले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा उक्त समूहको अधिवेशन सम्पन्न भइसकेको छ ।
गण्डकीको अधिवेशनबाट प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र लुम्बिनी अधिवेशनबाट रोज राणा निर्वाचित भएका महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए ।
उनका अनुसार १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोशी र १८ मंसिरमा बागमती प्रदेश अधिवेशन हुने भएको छ ।
देउवा समूहले २१–२३ मंसिरमा काठमाडौंको खुलामञ्चमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको नेता कुइँकेलले जानकारी दिए ।
प्रतिक्रिया 4