१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका घटनाहरू दोहोरिरहेका आरोप लगाउँदै महामन्त्री पौडेलले प्रधानमन्त्रीलाई सरकार सञ्चालन गरिरहेको हो कि गुण्डाराज भन्दै प्रश्न गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सरकार चलाइरहनुभएको छ कि गुण्डाराज गरिरहनुभएको छ ? सरकार यस्तो हुन्छ ?,’ प्रश्न गर्दै उनले भने, ‘तपाईंको अधीनस्थ, तपाईंको मातहतमा रहेको जेलभित्र कसैलाई ज्यानको धम्की दिएर बयान दिइँदो रहेछ ।’
महामन्त्री पौडेलले जेलभित्रै व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान दिन बाध्य पारिएको दाबी गर्दै प्रधानमन्त्री मातहतका कर्मचारीले स्वेच्छाले गरेको भए कारबाही गर्न माग गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, यो तपाईंको निर्देशनमा भएको हो कि त्यो भन्नेले आफैं भनेको हो ?,’ उनले भने, ‘भन्नेले आफैं भनेको हो भने त्यसलाई कारबाही गरेर निकाल्नुस् । तपाईंकै निर्देशनमा भएको हो भने यो त सरकारमा बसेर गर्न मिल्छ र ?’
महामन्त्री पौडेलले यो एउटा घटनामा मात्र सीमित नभई घटनापछि घटना दोहोरिरहेको आरोप लगाए । कसैलाई फसाउन वा ठेगान लगाउन जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिने र प्रक्रियागत औपचारिकता पूरा गर्ने काम भइरहेको उनको दाबी छ ।
‘एउटा घटना होइन । घटनापछि घटना निरन्तर दोहोरिरहेको छ । कसैलाई ठेगान लगाउनुपर्यो भने जेलभित्र रहेका मान्छेहरूलाई धम्की दिएर बयान लिने, रित पु¥याउने ?,’ पौडेलले प्रश्न गरे, ‘राज्यसत्ताको दुरुपयोग यो ढंगबाट गर्न मिल्छ ?’
जेलभित्र रहेका व्यक्तिको मोबाइल खोसेर आफूलाई आवश्यक पर्ने सामग्री राख्ने र नचाहिने सामग्री मेटाउने गरिएको भन्दै उनले आपत्ति जनाए । ‘मोबाइल खोसेर आफूलाई चाहिने राख्ने, नचाहिने मेट्ने ? यस्तो गर्न मिल्छ ?,’ महामन्त्री पौडेलले भने, ‘यस्तो त अहिलेसम्म कहिले पनि हुँदैनथ्यो ।’
प्रतिक्रिया 4