१२ मंसिर, सर्लाही । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत छ भने कारबाही गरेर देखाउनुहोस् । यो लास र दासको पार्टी होइन । हामी कारबाहीसँग डराउँदैनौं । आम नेपाली जनताको हकहितका लागि हिजो पनि लडेका थियौं, आज पनि लड्छौं र भोलि पनि लड्नेछौं ।’
आफूहरू राजनीति पेसाका रूपमा नभई युवालाई अगाडि बढाउन र पार्टीका अग्रजलाई सम्मान गर्न आएको उनले बताए । तर, नेताहरूले परिवारका सदस्यलाई नेतृत्वमा अघि बढाउने र अरूका परिवारका सदस्यको राजनीतिक क्षमतामाथि प्रश्न उठाउने प्रवृत्ति देखिएको भन्दै आलोचना गरे ।
‘तपाईं आफ्नो ससुरालाई वरिष्ठ नेता बनाउनुहुन्छ, अनि चुनावमा महेन्द्र निधिका छोरा, गणेशमान सिंहका छोरा र अरू नेताका परिवारका सदस्यको अनुहार बिक्दैन भनेर प्रश्न उठाउनुहुन्छ । यस्तो दोहोरो मापदण्ड किन ?’ बस्नेतले प्रश्न गरे ।
पार्टीभित्र आफूहरूमाथि प्रश्न उठाइए त्यसको जवाफ दिन तयार रहेको भन्दै उनले अरूमाथि प्रश्न उठाउँदा आफैं पनि इमानदार हुनुपर्ने बताए ।
कांग्रेसको नेतृत्व र पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि भ्रष्टाचार तथा आर्थिक अनियमितताका आरोप उठेको भन्दै त्यसको जवाफ दिनुपर्ने माग गरे । उनले निर्वाचनका क्रममा कांग्रेसलाई बेचिएको भन्ने आरोपसमेत लागेको उल्लेख गर्दै पार्टी नेतृत्वले त्यसबारे स्पष्ट पार्नुपर्ने बताए ।
‘अरूलाई राजनीति छोड्न भन्नुपर्ने, आफूलाई चाहिँ राजनीति छोड्न नपर्ने ? तपाईंमाथि पनि प्रश्न उठेको छ । कार्यकर्ताले प्रश्न गरेका छन्, आम नेपाली जनताले प्रश्न गरेका छन् । कांग्रेसको जिम्मेवारीमा रहेकाहरूको संलग्नताबारे प्रश्न उठेको छ । त्यसको जवाफ दिनुपर्दैन ?’ उनले भने ।
बस्नेतले कांग्रेसको इतिहास त्याग, संघर्ष र बलिदानसँग जोडिएको भन्दै पार्टीलाई परिवारवाद र स्वार्थको राजनीति गर्नेहरूको नियन्त्रणमा जान दिनु नहुने बताए ।
‘हामी पार्टी बनाउन आएका हौं । हिजो कांग्रेसका नेता तथा कार्यकर्ता राजाको गोलीसँग डराएनन्, माओवादीको गोलीसँग डराएनन्, सेनाको गोलीसँग डराएनन् र राणा शासनको दमनसँग पनि डराएनन् । लोकतन्त्र, प्रजातन्त्र, मानव अधिकार र जनताको मौलिक अधिकारका लागि उनीहरूले संघर्ष गरेका हुन्,’ उनले भने ।
उनले कांग्रेसले सबै जातजाति, भाषाभाषी र समुदायलाई एकताबद्ध गर्दै देशलाई समृद्ध बनाउने उद्देश्य राख्नुपर्ने बताए ।
भदौ २३ र २४ गते भएको घटनालाई स्मरण गर्दै बस्नेतले सुरुमा युवाहरूले भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्ध आवाज उठाएको भए पनि त्यसपछि आन्दोलन हिंसात्मक गतिविधिमा परिणत भएको टिप्पणी गरे । आन्दोलन हिंसात्मक बन्दा नेपाली सेना मुकदर्शक बनेको आरोपसमेत उनले लगाए ।
प्रतिक्रिया 4