१२ मंसिर, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार राम छन् ।
जाँचका क्रममा उनीहरूको साथ तथा मोटरसाइकलको डिकीबाट ५०० रुपैयाँ दरका ८०० थान नेपाली नोट गरी चार लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै, ५०० रुपैयाँ दरका दुई थान भारतीय नोट र दुई थान मोबाइलसमेत फेला परेको छ ।
नगद, मोटरसाइकल र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4