१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाको जोडीले स्वर्ण पदक जितेको छ ।
आइतबार बर्दियाको गुलरियामा भएको फाइनलमा प्रदीप र करणको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० को सेटमा पराजित गर्यो ।
यस स्पर्धामा बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा नेपाल पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेस्रो भए ।
मिक्स डबल्समा भने आर्मीका राजवीर प्रधान र शिवाली गुरुङको जोडी च्याम्पियन बन्यो । फाइनलमा राजवीर र शिवालीको जोडीले आर्मीकै प्रणव खनाल र स्वस्तिका विष्टको जोडीलाई ६–२, ५–७ र १०–८ ले हरायो । बागमतीका प्रकृति श्रेष्ठ र निसान श्रेष्ठ तथा गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडी तेस्रो भए ।
पाँच स्पर्धा समावेश टेनिसमा अहिलेसम्म तीन स्वर्ण पदकको टुंगो लागेको छ । शनिबार भएको महिला डबल्समा आर्मीका शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले स्वर्ण जितेको थियो ।
टेनिसको अन्तिम दिन दुई फाइनल खेल हुनेछन् । महिला सिंगल्समा आर्मीका शिवाली गुरुङ र स्वस्तिका विष्ट तथा पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्का र करणबहादुर थापा उपाधिका लागि भिड्नेछन् ।
प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा आर्मी, पुलिस, एपीएफ र एनआरएनका ३८ पुरुष र १३ महिला गरी ५१ खेलाडी सहभागी छन् ।
प्रतिक्रिया 4