+
+

धनीको चिन्ता : आफ्नो शेषपछि छोराछोरी बिग्रने हुन् कि ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते ११:४४

काठमाडौं । आफ्ना सन्ततिका लागि सम्पत्ति जम्मा गर्ने कार्य आम मानवीय विशेषता हो । भावी पुस्ताको आर्थिक सुरक्षामा यसले महत्वपूर्ण भूमिका समेत खेलेको हुन्छ । तर कतिपय छोराछोरीमा बाबुआमाले मेहेनत गरी कमाएर राखेको सम्पत्ति जथाभावी खर्च गर्ने वा उडाउने प्रवृत्ति पाइन्छ ।

हालैको एक अध्ययनले समेत आफ्ना छोराछोरी वा उत्तराधिकारीको हातमा ठूलो मात्रामा पैत्तृक सम्पत्ति छोड्दा यसबाट उत्पन्न हुने असरलाई लिएर धनाढ्य बाबुआमाहरू चिन्तित भएको देखाउँछ । धनाढ्य बाबुआमामा बढ्दै गएको यही चिन्ताका कारण आफ्नो शेषपछि सन्तानलाई केही पनि नदिने भनेर कैयौं सेलिब्रिटीको घोषणा गरेका छन् ।

मोटले फुलले गरेको नयाँ अध्ययनका क्रममा १ मिलियन डलरभन्दा बढी सम्पत्ति भएका २ हजार धनी व्यक्तिसँग पैत्तृक सम्पत्तिको उत्तराधिकारबारे कुराकानी गरिएको थियो । यसमध्ये दुई(तिहाई व्यक्तिले आफ्ना उत्तराधिकारीलाई ठूलो मात्रामा सम्पत्ति छोड्दा उत्पन्न हुन सक्ने असरबाट चिन्तित भएको बताएका थिए ।

अध्ययनमा सहभागीले यस्तो चिन्ताको कारण समेत बताएका थिए । आफूले कमाएको सम्पत्ति छोराछोरीले जथाभावी प्रयोग गर्ने गर्ने हुन् कि भन्ने अधिकांशको चिन्ता थियो । त्यस्तै कतिपय आफूले छोडेर जाने सम्पत्तिका कारण छोराछोरीहरू अल्छी हुन सक्ने भन्दै चिन्तित देखिन्थे ।

फ्याशन बल नामक सेलिब्रिटी वेबसाइटका अनुसार हलिउडका दम्पत्ति एश्टन कुचर र मिला कुनिसले आफ्ना छोराछोरीको नाममा कुनै सम्पत्ति छोड्ने योजना नभएको घोषणा गरेका छन् । ठूलो मात्रामा आर्थिक कोष र पैतृक सम्पत्ति छोड्दा अर्को पुस्ताले काम नगर्ने र आफ्नै विरासत नबनाउने संभावना बढी हुने उनीहरूले दाबी गरेको बताइन्छ ।

समाचार अनुसार कुनिस र कुचरले बाँकी रहेको सम्पत्ति सामाजिक कार्यमा लगाउने योजना बनाएका छन् । तर बाँचुन्जेल आफ्ना छोरोलाई आर्थिक रूपमा सहयोग गर्ने समेत उनीहरूको भनाइ छ ।

त्यस्तै एल्टन जोन र उनका पति डेभिड फर्निसले समेत मृत्युपछि आफ्ना छोराछोरीलाई सम्पत्ति हस्तान्तरण नगर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । दुबैजनाले ६६ मिलियन डलर च्यारिटीका लागि दान गर्ने निर्णय गरेका छन् । यस्तो कदमबाट आफ्ना छोराछोरीले कडा परिश्रम र परिश्रमको सम्मान गर्न सिक्ने उनीहरूले अपेक्षा गरेका छन् ।

तपाईँले आफ्ना छोराछोरीलाई चाँदीको चम्चा दिनु हुँदैन किनभने यसले उनीहरूको जीवन बिगार्छु, केही समयअघि जोनले भनेका थिए ।

यसबाहेक, अनुसन्धानमा सहभागी ६८ प्रतिशत धनाढ्यले निश्चित शर्त पूरा हुने अवस्थामा मात्रै छोराछोरीलाई पैतृक सम्पत्ति दिने योजना रहेको बताए । पैतृक सम्पत्ति स्वरूप ५ लाख वा सोभन्दा बढी रकम पाएका व्यक्तिहरू अति धेरै सम्पत्ति छोड्ने कुराप्रति चिन्तित देखिन्थे । शर्तबमोजिम पैतृक सम्पत्ति प्राप्त गर्ने कुरा समेत यो चिन्तासँग जोडिएको थियो ।

त्यस्तै छोराछोरीलाई पैतृक सम्पत्ति छोड्ने विषयमा धनी व्यक्तिका लागि कर समेत महत्वपूर्ण देखिएको थियो । जबकि, एकतिहाई धनी व्यक्तिले आफ्नो सम्पत्तिको कम्तिमा ५० प्रतिशत हिस्सा आफ्ना उत्तराधिकारीलाई पैत्तृक सम्पत्तिको रूपमा दिने योजना बनाएको सुनाए ।

अध्ययनले दुईतिहाईँ धनी मानिसहरूले आफ्नो सम्पत्तिको केही हिस्सा सामाजिक कार्यमा लगाउने योजना बनाएको देखाउँछ ।

मोटेले फुलका अनुसार अमेरिकाका सबैभन्दा धनी मानिसले पैत्तृक सम्पत्ति स्वरूप औसतमा ७ लाख १९ हजार डलर प्राप्त गर्छन् भने आर्थिक रूपले सबैभन्दा तल रहेका ५० प्रतिशतले औसतमा ७ हजार ९ सय डलर प्राप्त गर्छन् ।

यसबाट के प्रस्ट हुन्छ भने धनी मानिसहरू आफ्ना छोराछोरीलाई ठूलो परिमाणमा पैत्तृक सम्पत्ति छोड्दाको प्रभावबारे चिन्तित देखिन्छन्, मोटले फुलका अनुसन्धान विश्लेषक ज्याक कपोरलले सिएनबिसी मेक इटलाई बताए, उत्तराधिकारीलाई कडा परिश्रम, विद्यालयमा राम्रो गर्नुपर्ने र राम्रो क्यारियर खोज्नुपर्ने जस्ता आफ्ना मूल्यहरू आत्मसात गर्न प्रोत्साहित गर्ने शर्तसहितको पैत्तृक सम्पत्ति छोड्नुपर्ने कुरामा उनीहरू सचेत र सक्रिय छन् ।

स्रोत : अलाराबिया न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?