+
+
नेपाली कांग्रेस अधिवेशन :

काठमाडौंका ७ पालिकाको परिणाम सार्वजनिक, कुन पालिकामा को विजयी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:५४

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा सम्पन्न नगर अधिवेशनको परिणाम आउन थालेको छ । ११ पालिका रहेको काठमाडौं जिल्लामा शनिबार काठमाडौं महानगरसहित १० नगरपालिका कांग्रेसको नगर अधिवेशन भएको थियो । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएकाले नगर अधिवेशन नभएको कांग्रेसले जनाएको छ ।

नगर अधिवेशन भएका सात पालिकाको नेतृत्व चयन भइसकेको छ भने काठमाडौं महानगरपालिकामा अहिले मतदान जारी छ । कीर्तितपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा शनिबार अधिवेशन उद्घाटन गरिए पनि सहमतिमा नेतृत्व चयको प्रयास भइरहेको बताइएको छ ।

काठमाडौंको अधिवेशनमा दुई समूहबीच प्रतिस्पर्धा भएको छ । काठमाडौंमा संस्थापन भनेर चिनिने प्रकाशमान सिंह र अर्का नेता गगनकुमार थापाको एउटा समूह छ भने पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँमा देखिएका छन् । अहिलेसम्म परिणाम सार्वजनिक भएका बहुमत नगरपालिकामा सिंह-थापा समूह विजयी भएको छ ।

बुढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ मत पाए । सभापति पदका अर्का उम्मेदवार राजुविक्रम थापाले ४८ मत पाएको निर्वाचन समितिले जनाएको छ।

विजयी बुढाथोकी सिंह-थापा समूहका उम्मेदवार हुन् । सोही समूहबाटै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् ।

कागेश्वरी-मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भएका छन् । सभापति देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भए । सभापति पदका प्रत्यासी मिठ्ठाराम दाहालले एक सय ३८ मत पाए । मिठ्ठाराम सिंह निकट नेता हुन् ।

तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनी सिटौला समूहबाट उम्मेदवार बनेका थिए । सभापतिमा तीन जना उम्मेदवार रहेकोमा महर्जनले एक सय ३५ मत प्राप्त गरी विजयी भए भने सिंह-थापा समूहका उम्मेदवार श्रीराम थापाले एक सय १४ मत ल्याए । सभापतिका अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् भने सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

शंखरापुर नगरपालिकाको कांग्रेस सभापतिमा दीलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेता प्रकाशमान सिंह निकट श्रेष्ठले संस्थापन समूहका उम्मेदवार सत्यमान लामालाई पराजित गरेका हुन् । उपसभापतिमा मिलन खड्का र अमित प्रधान विजयी भए भने सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन् ।

टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन् । सिटौला समूहका उम्मेदवार विमलीले दीपक जोशीलाई पराजित गरेका हुन् । विमलीले एक सय १७ मत प्राप्त गरे भने जोशीले एक सय ६ मत पाए । नगर कार्यसमितिको उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी निर्वाचित भएका छन् भने सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल विजयी भएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मत परिणाम आइतबार बिहान सार्वजनिक भएको छ । गोकर्णेश्वरमा कुमार लामा नगर सभापतिमा विजयी भएका छन् । लामाले एक सय नौ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे । नगर सभापतिमा निर्वाचित लामा कांग्रेस नेता सिंह निकट हुन् । उपसभापतिमा विकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल निर्वाचित भएका छन् भने सचिवमा जयराम विष्ट र रमेश रिजाल विजयी भएका छन् । सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् ।

शनिबार नै सम्पन्न नागार्जुन नगरअधिवशेनबाट नयाँ नेतृत्व चयन भएको छ । मतदानबाट निर्वाचित नयाँ नगर कार्यसमितिको सभापतिमा दुर्गा गौतम विजयी भएका छन् । उनले सभापति पदका प्रत्यासी अच्यूत पाण्डेलाई पराजित गरेका हुन् । गौतम र पाण्डे दुवै सिंह निकट हुन् ।

काठमाडौं महानगरपालिको नयाँ नेतृत्वका लागि जारी मतदान सकिएलगत्तै मतगणना हुने निर्वाचन समितिले जनाएको छ । काठमाडौं महानगरको नेतृत्वका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्य प्रतिस्पर्धामा छन् । रञ्जित संस्थापन निकट हुन् भने शाक्यलाई सिंह-थापाको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?