+
+

गरिखाने खेत बगर बन्दा…

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ ।

शेरबहादुर सिंह/रासस शेरबहादुर सिंह/रासस
२०७८ मंसिर २४ गते १५:१२

२४ मंसिर, महेन्द्रनगर । गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर गाउँ पूरै डुबानमा पर्‍यो । महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे ।

सिङ्गो गाउँ बाढीका कारण विस्थापित बन्यो । अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन् । ‘भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन् ।’ दोधारा चाँदनी नगरपालिका-१० का वडाध्यक्ष नरबहादुर सुनारले भने, ‘ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ।’

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ । उनले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताए । ‘महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो।’ सुनारले भने, ‘बाढीका बेला मेरो वडामा मात्रै ९०० परिवार प्रभावित बनेका थिए।’ उनले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए ।

बाढीपीडितलाई तत्कालको राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ । दोधारा चाँदनीकै भौगोलिकरुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जिविका चलाउँदै आएका छन् । स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन् ।

‘राहत आउँदै गर्थ्यो, बरु डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो ।’ स्थानीय टेकबहादुर सुनारले भने, ‘गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने ?।’ उनले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको बताए ।

अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ । त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोख्नुभयो । “बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन् ।’ उनले भने, ‘गरिब त्यहीमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन्।’

दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्नलगायतका राहत वितरण गरिएको बताए । ‘विभिन्न सङ्घ-संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे।’ उनले भने, ‘पीडितको लगत सङ्कलन गरेर केन्द्रमा पठाएका छौँ, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?