+
+

रामेछापमा गठबन्धन गर्न विद्यालयको अध्यक्ष फिर्ता गर्नुपर्ने कांग्रेसको शर्त

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:१६

६ वैशाख, रामेछाप । स्थानीय तह चुनावमा रामेछापमा सत्तारुढ गठबन्धनबीच सहकार्य हुनका लागि नेपाली कांग्रेसले अनौठो शर्त राखेको छ ।

र कांग्रेसको त्यो सर्त हो – सदरमुकाममा रहेको मन्थली माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फिर्ता ।

काग्रेसले यो सर्त राख्नुको कारण हो – विद्यालय व्यवस्थापन समिति चयन गर्दा नेकपा माओवादी केन्द्रबाट पाएको धोका ।

चुनावी तालमेलबारे सहमति गर्ने भनेर बस्ने हरेक बैठक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फिर्ताको मुद्दामा अल्झिने गरेको छ ।

१० फागुन २०७८ मा मन्थली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्यका लागि चुनाव भएको थियो । चुनावमा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । चार सदस्यका लागि भएको चुनावमा दुई पार्टीले एक/एक महिला र एक/एक पुरुष सदस्य लिएका थिए । विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस–माओवादी गठबन्धन नै विजयी भयो ।

नेपाली कांग्रेसका रामेछाप जिल्ला सभापति कान्छाराम तामाङका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कांग्रेसले लिने र मनोनित दुई सदस्यमा दुई पार्टीले एक/एक सदस्य लिने सहमति भएको थियो । तर माओवादीले त्यो सहमति तोड्यो ।

‘माओवादीले धोका दियो । दुबै सदस्य मनोनित गर्‍यो र अध्यक्ष पनि आफैं घोषणा गर्‍यो’ तामाङ थप्छन् भन्छन्, ‘आसन्न स्थानीय चुनावमा गठबन्धन गर्दा फेरि धोका हुँदैन् भनेर माओवादीले विश्वासिलो वातावरण बनाउनु पर्नेछ । जुन हालसम्म भएको छैन् ।’

कांग्रेस नेताहरुले मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फिर्ता गरे विश्वासिलो वातावरण बन्ने सर्त राखिरहेका छन् ।

तर, माओवादी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फिर्ता गर्न तयार छैन् । तीन वर्षीय कार्यकाल आधा आधा बाँड्ने प्रस्ताव माओवादी केन्द्रको छ ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चुनाव र स्थानीय चुनाव फरक विषय हो । तै पनि विश्वास छैन भने आधा आधा कार्यकाल नेतृत्व गर्ने गरी जाउँ भनेर लिखित रुपमै प्रतिबद्धता गरेका छौं’ माओवादी केन्द्रका रामेछाप जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठले भने ।

विद्यालय व्यवस्थापन समितिको नेतृत्व विधिसम्मत चयन भएको भन्दै अहिले हटाउँदा राम्रो सन्देश नजाने विषयलाई पनि कांग्रेसले बुझिदिनुपर्ने श्रेष्ठ बताउँछन ।

विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर स्थानीय तहमा गठबन्धन गर्ने निर्णयलाई लत्याउने वा बढी भाग खोज्ने प्रवृति कांग्रेसले देखाएको माओवादी नेताहरुको आरोप छ ।

पालिका नेतृत्वमा आधा दाबी

रामेछापमा ८ वटा पालिका छन् । जसमध्ये कांग्रेसले पाँच वटा पालिका प्रमुखको नेतृत्वमा दाबी गरेको छ । माओवादी केन्द्रले पनि पाँच वटा पालिका प्रमुखका दाबी गरेको छ ।

मंगलबार बिहान पनि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरु छलफलमा जुटेका थिए । तर, सहमति जुटेन् ।

‘पहिला त विश्वाशिलो वातावरण चाहियो । दोस्रो कांग्रेसलाई पाँच वटा पालिका प्रमुख चाहियो । अन्यथा गठबन्धन गरिरहनुको औचित्य रहन्न’ नेपाली कांग्रेसका रामेछाप जिल्ला सभापति तामाङले भने ।

२०७४ सालको चुनावमा एमालेले पाँच वटा पालिका प्रमुख जितेको थियो भने माओवादी केन्द्रले दुई र कांग्रेसले एउटा पालिका प्रमुख जितेको थियो । गत चुनावको आधारसमेत आफूहरुले पाँच पालिका प्रमुख पाउनुपर्ने माओवादी केन्द्रको पनि दाबी छ ।

माओवादी केन्द्रका रामेछाप जिल्ला इन्चार्ज श्रेष्ठ भन्छन्, ‘केन्द्रीय नीति नै गठबन्धन गर्ने भएकाले कांग्रेसलाई चार वटा पालिका प्रमुख लिनुहोस् बाँकी चार वटामा एकीकृत समाजवादीलाई समेत समेटेर हामी लिन्छौं भन्ने प्रस्ताव राखेका छौं, तै पनि मानिरहेको छैन् ।’

कांग्रेसका रामेछाप जिल्ला सभापति तामाङले भने आफूहरु चार वटा पालिका प्रमुख लिने गरी सहमतिमा जान नसक्ने बताउँछन् ।

‘विश्वास र इमान्दारिता चाहियो । साथसाथै पाँच वटा पालिका प्रमुख चाहियो । यो नहुँदा कांग्रेस एक्लै चुनाव लड्छ’ तामाङले भने ।

केन्द्रले हस्तक्षेप गरेमा के के गर्नुहुन्छ ? भन्ने प्रश्नमा कांग्रेस नेता तामाङको जवाफ छ, ‘केन्द्रको राजा शेरबहादुर देउवा हो भने यहाँको राजा म हुँ ।’

बुधबारबाट टिकट वितरण गरेर घरदैलो अभियान सुरु गर्ने आफूहरुको तयारी रहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?