+
+

संसारबाट लामखुट्टे मासियो भने के होला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:५१

२ असार, काठमाडौं। रातमा सुतेको बेला जब लामखुट्टेले हामीलाई टोक्दछ वा कानको नजिक भुन्भुनाउँछ तब त्यो दुख दिने लामखुट्टे उन्मुलन भएपनि हुन्थ्यो भन्ने लाग्दछ । न रह्यो बाँस, न बज्यो बाँसुरी भनेझैँ लामखुट्टे मासियो भने न त लामखुट्टेले टोक्ने चिन्ता, न त कुनै रोग सर्ने चिन्ता ।

वास्तवमा लामखुट्टेका कारण सर्ने औलो लगायतका विभिन्न रोगका कारण विश्वमा वर्षेनी लाखौँ मानिसको ज्यान जाने गर्दछ । लामखुट्टेबाट जोगिन तथा लामखुट्टे नष्ट गर्नका लागि विभिन्न उपाय अपनाउने गरिन्छ । तर जति गर्दापनि विश्वबाट लामखुट्टेको उन्मुलन भएको छैन ।

वास्तवमा प्रकृतिको यो एउटा जीव लामखुट्टेले मानिसलाई टोकेर दु:ख दिने र रोग सार्ने भए पनि प्रकृतिका लागि यो लामखुट्टेको ठूलो महत्व भएको जीव वैज्ञानिकहरुको दाबी छ । यदि पृथ्वीबाट लामखुट्टे लोप भयो भने के असर पर्दछ त ?

विश्वमा विभिन्न ३ हजार ५ सय प्रजातिका लामखुट्टे पाइन्छन् । ती मध्ये कतिपय लामखुट्टेले मानिस तथा अन्य जीवको रगत चुस्ने र विभिन्न रोग सार्ने गर्दछन्। कुनै लामखुट्टे रातमा सक्रिय हुन्छन् त कुनै दिनमा । रोचक कुरा के भने केवल पोथी लामखुट्टेले मात्र मानिसको रगत चुस्दछ र रगतकै पोषणका सहयोगमा उसले अण्डा पार्न सक्दछ ।

मानिसलाई दु:ख दिने लामखुट्टे पृथ्वीबाट हरायो भने त्यसको असर के होला त ? यदि मानिसमा विभिन्न खालका रोग सार्ने लामखुट्टेहरु मात्र लोप भए भने त मानिसलाई राम्रै होला । तर यदि सबै प्रजातिका लामखुट्टे लोप हुँदा त्यसको असर चाहीँ नकारात्मक हुन्छ । यसले पर्यावरण चक्रमा असर पार्दछ ।

वास्तवमा कतिपय जीव यस्ता हुन्छन् जो लामखुट्टेलाई खाएर बाँच्दछन् । लामखुट्टेलाई आफ्नो आहारा बनाउने जीवहरुमा भ्यागुता, ड्रागन फ्लाई, माकुरा, छेपारो तथा चमेरो लगायतका रहेका छन् । यदि लामखुट्टे लोप भएमा यी मध्ये कतिपय जीवका लागि खाने कुराको विकल्प निकै कममात्र बँच्नेछ । जसका कारण उनीहरुको अस्तित्व नै खतरामा पर्न सक्दछ ।

लामखुट्टे लोप हुनाले वनस्पतीमा परागसेचनमा पनि असर पर्दछ । मौरीले जस्तै लामखुट्टेले पनि फूलमा परागसेचन गर्नमा सहयोग गर्दछ । त्यसैले यदि लामखुट्टे लोप भयो भने त्यसले वनस्पतीको जीवनचक्रमै नकारात्मक असर पर्दछ, यसले विभिन्न रुख विरुवा नै लोप हुने जोखिम रहन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?