अहिले हाम्रो थालीमा अनेकथरी व्यञ्जन छन् । दाल, तरकारी, अचार, माछामासु, दही, दुध, घिउ, सागसब्जी, सलाद, मीठाई । यद्यपि भोक नै नभएपछि हाम्रो जिब्रोले यी व्यञ्जनको स्वाद कसरी पाउने ?
किनभने हामीलाई खान हतार छ । घडीको काँटा हेरेर गाँस टिप्नुपरेको छ । आफ्नो कामधन्दामा लाग्नुपर्ने हतारोले गर्दा हामीलाई खान फुर्सद नै छैन । भोक लागेको होस् वा नहोस् ? हामीलाई पेट भर्नुसँग सरोकार छ । जबकि शरीरलाई जीवित राख्न मात्र होइन, निरोगी, तन्दुरुस्त र उर्जावान राख्न पनि खानाको खास भूमिका छ ।
आयुर्वेद भन्छ, ‘खाना एकदमै आरमले खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । यतिबेला मनमा आनन्द भाव हुनुपर्छ ।’
हतार–हतार खाने र खानैपर्छ भनेर मात्र खाने प्रवृत्तिले गर्दा नै अहिले विभिन्न किसिमको रोगहरु लाग्ने गरेको छ । मोटोपन, मधुमेह, थाइराइड, उच्च रक्तचाप जस्ता दीर्घरोग बढ्नुमा पनि हाम्रो खराब खानपान शैली जिम्मेवार छ ।
मलाई खाना चाहिन्छ भनेर खानु भन्दा पनि शरीरलाई खाना चाहिए पछि खानु राम्रो हुन्छ ।
अहिले मान्छे व्यस्तताको कारण सबै काम हतार हतार गर्छन् । खाना पनि हतार हतार नै खान्छन् । यसरी हतार हतार खाना खाँदा मैले कति खाना खाईरहेको छु ? मलाई पुगेको छ वा छैन भन्ने कुरा पनि भेउ पाउँदैनन् । जसले गर्दा उनीहरुले आवश्यक्ताभन्दा बढी वा कम खाइरहेका हुन्छन् । त्यसमाथि हामी जिब्रोका स्वाद मात्र खोज्न थालेका छौं । जबकि खाना त शरीरको लागि हो । शरीरलाई कस्तो खानपान जरुरत छ, कति जरुरत छ भन्ने कुरामा हामीलाई मतलब छैन ।
खाना राम्ररी स्वाद लिएर शरीरलाई पुग्ने गरी खाना खानेको संख्या एकदमै कम छ । पहिले खानेकुरा सीमित हुन्थ्यो तर मान्छेहरुले त्यो खाना स्वाद लिएर विस्तारै खान्थे । अहिले खानाको परिकार धेरै हुन्छ । तर, मानिसहरु त्यो खानालाई राम्ररी स्वाद लिएर समय मिलाएर खाना खान पाउँदैनन् ।
त्यसैगरी विगतमा मान्छेहरु पर्याप्त शारीरिक श्रम गर्थे । यसरी शारीरिक श्रम गरेपछि भोक पनि मज्जाले लाग्ने नै भयो । उनीहरु भोक लागेपछि स्वादले खाना खान्थे ।
अहिले हामीले जसरी उनीहरु घडी हेरेर खाना खाँदैनथे । शरीरको आवश्यक्ता अनुसार खाना खान्थे । शरीरले मागेपछि खान्थे । तर, हामी घडीको काँटा अनुसार खानेकुरा खाने अभ्यास गरिरहेका छौं ।
पहिले पहिले पोषणविदले पनि दिनभरमा थोरै थोरै खाना समय समयमा खाइरहनु भनी सुझाव दिन्थे । यसरी थोरै थोरै खानेकुरा खाइरहेपछि पाचन प्रणालीमा सहज हुन्छ र भोक पनि लाग्दैन भन्ने बुझाई थियो ।
तर, अहिले पोषणविदले पनि भोक लागेपछि मात्रै खाना खानुपर्छ भन्न थालेका छन् । यसको अर्थ शरीरलाई आवश्यक भएपछि मात्र भोजन गर्नु उपयुक्त भन्ने हो । जब भोक लाग्छ, शरीरमा पाचन रसहरु उत्पादन हुन्छ । तब हामीले खाएको खानेकुरा राम्ररी पच्छ ।
यसको अर्थ समय तालिकालाई पूर्णत बेवास्ता गर्नु भन्ने होइन । यदि समय तालिका अनुसार आफ्नो शरीरलाई अभ्यस्त बनाइयो भने निर्धारित समयमा हामीलाई भोक लागेको महसुष हुन्छ । अतः त्यसबेला नै शरीरमा पाचन रस उत्पादन हुन्छ र त्यसक्षण हामीले खाना खान सक्छौं ।
पोषणविद् कार्कीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित
प्रतिक्रिया 4