+
+

लुम्बिनीेमा कांग्रेसले ल्यायो घोषणापत्र : रेल र सुरुङमार्गका योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १८:०५

१७ कात्तिक, बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिले प्रदेशमा रेल चलाउने र सुरुङमार्ग बनाउने योजनासहित निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको बताए ।

प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल, भैरहवा, दाङको तुलसीपुर, घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्तै सिद्धबाबा, माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने उसको योजना छ ।

घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामूहिक कार्यक्षेत्रमा ल्याउनुपर्ने भनिएको छ । लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने उल्लेख छ ।

यस्तै कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धासित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविष्कार केन्द्र स्थापना, एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गर्ने भनिएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने कांग्रेसले घोषणा गरेको छ । अत्यावश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिस गर्नुपर्ने बिरामीलाई निशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा सञ्चालन गर्ने उल्लेख छ ।

नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय आयोजना अगाडि बढाउने कांग्रेसको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?