+
+

१२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन, त्रिवि भन्छ- अब हुँदैन

नुनुता राई नुनुता राई
२०८० वैशाख ४ गते १२:४६

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

त्यसैगरी उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ८ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन समितिका सदस्य सचिव डा. पशुपति अधिकारीले जानकारी दिए ।

क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचनको सम्भावना न्यून भएको छ ।

त्रिवि पनि अब स्ववियु निर्वाचन नगराउने मुडमा छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव डा. अधिकारी अब बाँकी क्याम्पसमा स्ववियु निर्वाचन नहुने बताउँछन् । ‘अब चुनाव अवधि एक दिन बाँकी छ । विद्यार्थी संगठनहरुबीच सहमति हुन सकेको छैन । त्यसैले अब सम्भावना सकियो । अब चुनाव हुँदैन । त्रिविले परीक्षा, भर्ना गर्नुपर्छ । सधैंभर निर्वाचन गराएर मात्रै त हुँदैन ।’

सम्भावना के छ ?

वैशाख ५ गतेदेखि निर्वाचन समितिको म्याद सकिंदै छ । त्रिविले संशोधन गरेर अर्को मिति दिएन भने वैशाख ५ गतेबाट स्ववियु निर्वाचन समिति स्वतः अवैध हुन्छ । निर्वाचन हुन नसकेका क्याम्पस प्रशासनले त्रिविलाई आग्रह गरेको अवस्थामा कार्यकारी परिषदले निर्देशिका अनुसार काम गर्न सकिने सूचना गर्नसक्ने सम्भावना हुन्छ । यदि त्यस्तो भएन भने सोमबार साँझदेखि निर्वाचन समिति अवैध हुन्छ ।

निर्देशिकाले ‘चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसहरुको हकमा क्याम्पस प्रशासनले अर्को सूचना जारी गरेर ३० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने’ भनेको छ । त्यसैले वैशाख ५ गतेबाट निर्वाचन समिति स्वतः अवैध हुने भएकाले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृत पिताम्बर पन्तसहित समितिका सबैले चैत ३० गते नै सामूहिक राजीनामा बुझाइसकेका छन् ।

अनेरास्ववियु भने सोमबार वा मंगलबार बाँकी रहेका क्याम्पसहरुमा निर्वाचनको नयाँ मिति तोकेर कुनै पनि हिसाबमा चुनाव गर्नुपर्ने पक्षमा छ । त्यसका लागि डेलिगेसन जाने र क्याम्पसहरुमा चुनाव रोक्ने पक्षहरुलाई मुद्दा हाल्ने तयारीमा रहेको बताउँछन् अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकाया ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली भने १० गतेको उपनिर्वाचनपछि बाँकी रहेका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेमा आशावादी छन् । उनी भन्छन् ‘विविध कारणले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन । अब १० गतेको उपनिर्वाचन पछि स्ववियु निर्वाचन सम्पन्न गर्ने भनेर छलफल भइरहेको छ ।’

आरोप प्रत्यारोप

क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको भागबन्डा नमिलेका कारण निर्वाचन हुन नसकेको एक विद्यार्थी नेता बताउँछन् । उनी भन्छन्, ‘यी क्याम्पसहरुमा उनीहरुबीचको भागबन्डा नमिलेर हो । भागबन्डा नमिलेकोमा आफूले हार्ने, अर्कोले जित्ने भएपछि ताला झुन्डयाउँछन् हुन दिँदैनन् । सबैलाई हाम्रो संगठनले जित्छ भन्ने भ्रम बलियो नभएसम्म चुनाव हुन दिँदैनन् ।’

तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चैत २३ गते सहमति भएको थियो । तर फेरि भागबन्डा नमिल्दा उक्त सहमति पनि कार्यान्वयन नभएपछि ३० गतेको निर्वाचन स्थगित भयो र वैशाख ३ गते तोकिएको थियो । तर आइतबार पनि अस्कलमा बाहेक कतै चुनाव हुन सकेन । त्रिचन्द्र नेविसंघले, रत्नराज्य अनेरास्ववियुले, अस्कल क्रान्तिकारीले लिने र मीनभवन बाँड्ने कुरा नमिल्दा निर्वाचन हुन नसकेको एक विद्यार्थी नेता बताउँछन् ।

त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले र मीनभवनमा नेविसंघले ताला लगाएका कारण निर्वाचन स्थगित भएको थियो । त्रिचन्द्रमा अवैधानिक रुपमा विद्यार्थी भर्ना भएको भन्दै छानबिन हुनुपर्ने माग राख्दै अनेरास्ववियुले ताला लगाएको थियो । तर त्रिचन्द्रका नेविसंघ अध्यक्ष शान्त सिवाकोटीले त्रिचन्द्रमा अनेरास्ववियु हार्ने निश्चित भएपछि हुन नदिनका लागि ताला लगाएको आरोप लगाउँछन् । उनी भन्छन् ‘उनीहरुले हार्ने भएपछि यहाँ ताला लगाएका हुन् । अरु केही होइन ।’

मीनभवनमा नेविसंघले ताला लगाउनुको कारणबारे उनी भन्छन् ‘यहाँ हामीले जित्नेमा उनीहरुले ताला लगाए, यहाँ हुन नदिए मीनभवनमा पनि हुनुहुँदैन भनेर लगाइएको हो ।’
तर, विद्यार्थी संगठनकै कारण क्याम्पसहरुमा स्ववियु निर्वाचन नहुनु दुःखद भएको बताउँछन् उनी । विद्यार्थीहरुको लागि, विद्यार्थीले नेता चुन्ने अवसरबाट बन्चित नगरिनुपर्ने उनको भनाइ छ । केन्द्रीय नेताहरुबीच सहमति हुन नसक्दा क्याम्पसमा निर्वाचन नभएको भन्दै उनी भन्छन्, ‘केन्द्रीय तहका नेताहरुबीच सहमति हुन नसक्दा यहाँ चुनाव हुन सकेन । विद्यार्थीको लागि दुःखद हो यो ।’

तर अखिल क्रान्तिकारीका उपत्यका अध्यक्ष सन्जिव रेग्मी भने त्रिविले चासो नदिँदा सबै आंगिक क्याम्पसमा चुनाव हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘त्रिविले गर मात्रै भनेर हुँदैन । नभएको क्याम्पसमा चुनाव गराउने नेतृत्व त्रिविले गरेन । यो त क्याम्पस मात्रै नभएर त्रिवि निर्वाचन समितिकै असफलता हो ।’

अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया अनेरास्ववियु चुनावको पक्षमा रहेको दाबी गर्छन् । त्यहीकारण त्रिचन्द्रमा लगाएको ताला पनि खोलिसकेको उनले बताए । उनले भने, ‘साथीहरुले निर्वाचन हार्छौं भन्ने भएपछि अनेक बाहानामा रोकिराख्नु भएको छ । बाँकी रहेका १३ आंगिकहरुमा त्रिचन्द्र बाहेक सबैमा अनेरास्ववियुले जित्छ भनेर उहाँहरुले रोक्नुभएको हो ।’

त्रिचन्द्रमा भर्नाको विवादको कारण अनेरास्ववियुले ताला लगाएको र त्यसलाई पनि चुनाव विथोल्न ताला लगाएको भनेर आरोप लगाएपछि ताला खोलिसकेको जिकिर उनले गरे । नेविसंघकै एक समूहका कारण चुनाव बिथोलिएको उनको भनाइ छ ।

अनेरास्ववियुले ताला खोलेपछि त्रिचन्द्रका तत्कालीन निर्वाचन अधिकृत राजेन्द्र गौतमले चैत ३० गतेका लागि कार्यतालिका सार्वजनिक गरेका थिए । कार्यतालिका टाँस गर्नेवित्तिकै अरु विभिन्न संघसंगठनले ताला लगाए । निर्वाचन अधिकृतलाई प्रवेश निषेध गरेपछि उनले राजीनामा दिएका थिए ।

कतिपय संगठनको प्रभावशाली उम्मेदवार नभएर, कतिपयको जनमत नभएकाले, कतिपय संगठनभित्रैको गुट उपगुट लगायतका कारण त्रिचन्द्रमा चुनाव हुन नदिएको निर्वाचन अधिकृत पिताम्बर पन्त बताउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?