+
+

हलिउड हड्तालले ठूला फिल्महरुको रिलिज मिति धकेलिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १६:३७

काठमाडौं । हलिउडमा चलिरहेको हड्तालको असर अब ठूला स्टुडियोको रिलिज योजनामा पर्न थालेको छ । सोनीजस्ता ठूला स्टुडियोले यस वर्ष प्रदर्शन तयारीमा रहेका फिल्मलाई पोस्टपोन्ड गर्दै सन् २०२४ मा पुर्‍याएका छन् । द न्युयोर्क टाइम्सका अनुसार अन्य स्टुडियोले पनि ठूला फिल्मको रिलि मिति धकेल्न सक्छन् ।

स्टुडियोको यो निर्णयले दर्शकलाई नि:सन्देश रिस उठाउन सक्नेछ । ठूला फिल्मको प्रदर्शन मिति स्थगित हुँदा नयाँ हललाई स्वभाविक रुपमा संकट हुनेछ । सोनी पिक्चर्स इन्टरटेनमेन्टले शुक्रबार दुईवटा प्रमुख फिल्महरु मार्वल कमिक्समा आधारित ‘क्राभेन द हन्टर’ र ‘घोस्टबस्टर्स आफ्टर लाइफ’को सिक्वेल रिलिजलाई पछाडि धकेलेको छ, जुन यस वर्षको अन्त्यसम्ममा हलमा प्रदर्शन गर्ने तयारी थियो ।

साथै, सोनीले सन् २०२४ मा प्रदर्शन तयारीमा रहेका धेरै ठूला फिल्मको रिलिजलाई पनि धकेलेको छ । ‘स्पाइडरम्यान : बियोण्ड द स्पाइडर भर्स’ अब मार्चमा प्रिमियर हुनेछैन । ‘कराँते किड’को नयाँ फिल्म पनि जुनमा आउनेछैन ।

अहिलेसम्म सन् २०२३ को प्रदर्शन तालिकालाई जुलाई १४ देखि सुरु भएको कलाकार र लेखकको हड्तालले असुरक्षित तुल्याइसकेको छैन । तर अन्य स्टुडियोले पनि सोनीको यस्तो निर्णयलाई पछ्याउने सम्भावना अधिक छ ।

वार्नर ब्रदर्सले नोभेम्बर ३ मा हलमा आउने भनिएको ‘ड्युन पार्ट २’ लाई स्थगित गर्ने कि नगर्ने भन्नेबारे बहस गरिरहेको छ । सन् २०२३ को छुट्टीको सिजनमा प्रदर्शन तयारीमा रहेका ठूलो बजेटका सुपरहिरो फिल्महरु ‘आक्वाम्यान : एण्ड द लास्ट किङडम’ र संगीतमा आधारित फिल्म ‘द कलर पर्पल’को प्रदर्शन पनि ढिलिने अनुमान गरिएको छ ।

ठूला स्टुडियोको चिन्ता छायांकन सेटमा उल्लेखनीय कलाकार चाहिने कुरामा होइन (किनभने धेरै फिल्मको छायांकन समाप्त भइसकेको छ) । बरु उनीहरुलाई फिल्मको प्रवर्द्धन गर्न स्टार नआउने अर्को चिन्ता छ ।

हड्तालको समाधान नभएसम्म हलिउड कलाकार संघको संस्था साग–अफ्ट्राले आफ्ना सदस्यलाई पहिले नै सम्पन्न भइसकेका फिल्म र टिभी कार्यक्रमको प्रचारमा संलग्न हुन रोक लगाएको छ । यसको अर्थ कुनै रेडकार्पेटमा स्टारको उपस्थिति हुनेछैन र सामाजिक सञ्जालमा कुनै पोस्ट हुनेछैनन्, समाचार कार्यक्रमलाई अन्तर्वार्ता दिइनेछैन र लेखहरुमा सहभागिता हुनेछैन ।

आर्टहाउस स्टुडियो सर्चलाइट पिक्चर्सले सोमबार एक वास्तविक विज्ञान कथामा आधारित फिल्म ‘पोर थिङ्स’को प्रदर्शन पोस्टपोन्ड गरेको छ । अभिनेत्री एम्मा स्टोनको शीर्ष भूमिका रहेको फिल्म सेप्टेम्बरमा आउने तयारीमा थियो ।

साग–अफ्ट्राले आउँदो वर्षसम्म हड्ताल जारी रहने संकेत गरेको छ । राम्रो तलब सुविधा, एआईबाट सुरक्षा र अन्य लाभको माग गर्दै हड्ताल गरिरहेको छ । हड्तालमा एक लाख ६० हजार कलाकारसहित ११ हजार ५०० फिल्म र टिभी कार्यक्रमका लेखक पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?