 
																			३२ साउन, काठमाडौं । पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ ।
पोखरा, काठमाडौं र चितवनमा ‘बाराही’ ब्राण्डमा होटेल तथा सिरोर्ट सञ्चालन गरिरहेको बाराही हस्पिटालिटीले नयाँ लक्जरी होटेल निर्माण गर्न लागेको कम्पनीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।
पोखराको फेवातालको दक्षिणी मोहडा नजिक निर्माणाधीन होटेलको ४६ प्रतिशत काम सकिइसकेको कम्पनीले जानकारी दिएको छ ।
थापाका अनुसार यो होटेलमा कुल ६ अर्ब लगानी हुने अनुमान छ । यसमा सर्वसाधारणको समेत स्वामित्व रहने गरी कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना रहेको समेत उनले बताए । ‘हामी यो होटललाई सन् २०२६ सम्म सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।
होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहने भएको छ । १० प्रतिशत आइपिओ जारी गर्ने र ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको उनले जानकारी दिए ।
भीभीआइपी सुविधा सम्पन्न हुने
यो होटेल प्रोपर्टीलाई लगानीकर्ताहरुले सार्क सम्मेलन वा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि उपयुक्त हुने गरी सुविधा सम्पन्न बनाउने योजना बनाएका छन् ।
थापाका अनुसार यहाँ १० वटा प्रेसिडेन्टल सुइट रुम रहने छन् । जसमा कम्तिमा १० जना राष्ट्रप्रमुख वा सो स्तरको सेवा आवश्यक पर्ने पाहुनाका लागि सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।
‘नेपालमा सार्क सम्मेलन हुँदा पाहुनाका लागि सबैभन्दा राम्रो गन्तव्य पोखरा मानिन्छ,’ उनले भने, ‘तर भीभीआईपीका लागि आवश्यक स्तरको होटेल पूर्वाधार नहुँदा यो सम्भव भइरहेको छैन, अब यो अभाव हामी पूरा गर्ने योजनामा छौं ।’ क्यासिनोमा रहने होटलमा १२ सय जना क्षमताको सभाहल बन्ने भएको छ । उक्त हल निर्माणपछि यो नेपालका होटेलमा रहेको सबैभन्दा ठूलो सभाहल बन्ने थापाको दाबी छ ।
होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल सुइट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहने भएका छन् । कम्पनीले वातावणीय प्रभाव मूल्यांकन (इआईए) तथा नक्सा पासको प्रक्रिया पूरा गरी होटलको भौतिक निर्माणको काम गरिरहेको थापाले बताए ।
सडकबाट लिफ्ट चढेर लबीमा पुग्ने सुविधा
यो होटेलमा फेवातालको किनारबाट पैदल यात्रा गर्दै जाँदा सडकबाटै लिफ्ट चढेर लबीमा पुग्न सकिने गरी पूर्वाधार बनाइने भएको छ । निर्देशक थापाका अनुसार लिफ्टबाट झरेपछि स्काईवाक (सिसामा हिँडेर) होटेलको लबीसम्म पुग्ने गरी पूर्वाधार बन्ने भएको छ । गाडीबाट जानेहरु भने सडक हुँदै सिधै लबीमा पुग्न सक्नेछन् ।
४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गरेर आतिथ्य सेवामा आएको बाराहीले पोखरा, चितवन र काठमाडौंमा चार तारे स्तरको होटेल सञ्चालनमा ल्याइसकेको छ । बाराही सेदी उसको पहिलो पाँचतारे होटेल हुने बताइएको छ ।
बाराहीले चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं सञ्चालनमा ल्याएको छ । यस ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लजसमेत चलाइरहेको छ ।
बाराहीले निकट भविष्यमा कागबेनी र लुम्बिनीमा समेत होटेल बिस्तारको योजना बनाइरहेको थापाले जानकारी दिए । ‘आर्थिक मन्दीको अवस्था नरहेको भए यी दुबै योजना पनि अगाडि बढिसकेका हुन्थे,’ उनले भने, ‘अब हामी उपयुक्त समयमा लगानी बिस्तार गर्नेछौं ।’
यसबाहेक बाराहीले अब विदेशमा समेत व्यवस्थापन बिस्तारको तयारी गरिरहेको उनले जानकारी दिए । ‘गैरआवासीय नेपालीले विदेशमा खोलेका धेरै होटेलमा व्यवस्थापनका लागि माग आइरहेको छ,’ उनले भने, ‘उपयुक्त समयमा निर्णय गर्छौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4