११ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा दशैंका बेला खेलिने सराय नाच संरक्षणमा युवाहरू लागेका छन् ।
पुरानो संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेसँगै गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ ताल्तुङका युवा सराय नाचको संरक्षणमा लागेका हुन् ।
जिल्लामा हराउँदै जान लागेको पुरानो मौलिक संस्कृतिसहितको सराय नाँच जोगाउन कतिपय स्थानमा अझै पनि एकजुट भएर नाच्ने गरेको पाइन्छ ।
तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाँच गुल्मी जिल्लालगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचल छ ।
प्राय: सराय नाच दशैंको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म नाच्ने चलन छ ।
सराय नाच संस्कृति बचाउन र नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले इस्मा गाउँपालिकाको ताल्तुङमा नाच प्रर्दशन गरिएको छ ।
मन्दिरमा चढाइएको खुँडा र दशैंको बेलामा राखिएको जमराको माला र धोती पासासहितको एउटै पहिरनमा सराय नाच प्रर्दशन गरिएको थियो । सराय नाच प्रर्दशनमा युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले घरबाट टाढा गएकाहरु दशैंंका बेलामा घरमा आएका साथीहरू-आफन्तसँग भेट्ने अवसर पनि हो ।
गुल्मीमा खेलिने सराय नाच केही ठाउँमा नयाँ पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुग्ने थालेको छ ।
गाउँमा नाच्नेभन्दा हेर्ने धेरै देखिने गरेका छन् । युवाहरुको राम्रै उपस्थिति र सहभागिता भए पनि नाच्न अगाडि सर्दैनन् । जसले गर्दा सराय नाच लोप हुने अवस्था आउने सक्ने भन्दै युवाहरुको सक्रियता बढाइएको इस्मा गाउँपालिका-२ का अगुवा युवा राजेन्द्रबिक्रम कुँवरले बताए ।
उनले पुराना पुस्ता सकिंदै जाँदा पुराना कला संस्कृति पनि मेटिदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताए ।
दशैंको अवसरमा खेलिने सराय नाँच इस्मा गाउँपालिकाको ताल्तुङको निकै लोकप्रिय मानिन्छ । तर, पछिल्लो समय यहाँ पनि खेल्ने भन्दा हेर्ने धेरै भएपछि यसपटकको दशैंको अवसरमा अभियानै चलाएर सराय नाँच संरक्षणमा युवाहरुले पनि चासो देखाइएको कुँवरको भनाइ छ ।
ताल्तुङमा स्थानीय स्तरमै आपसी सहयोग उठाएर सराय नाँच संरक्षण गरिदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर सारुले बताए । उनले अहिले पछिल्लो समय पहिला भन्दा हेर्ने, नाच्ने सबै घटदै जान थालेको बताए ।
यसको संरक्षण गर्नुपर्छ भनेर रातिमा गरिंदै आएको सराय नाचलाई केही वर्ष यता दिउँसोमा गरिंदै आएको सारुको भनाइ छ ।
परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनु पर्छ भने अहिले लागि पर्दै आएको राष्ट्रिय जनज्योति युवा क्लव ताल्तुङ्गका अध्यक्ष टिकाबहादुर रानाले बताए ।
उनले मन्दिरमा दशैंका बेला पूजाका क्रममा जम्मा भएका फूलपातीहरु बिर्सजन गर्ने र त्यही खुसीयालीमा सराय नाँच गरिदै आएको बताए । प्रविधिको विकाससँगै नयाँ पिँढीमा हेर्ने नाँच्नेको संख्या घटदै गएको रानाले बताए ।
परम्परागत रुपमा एकदमै राम्रो सराँच नाच देखाउने स्थानका रुपमा स्थापित गुल्मीका अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायत मुख्य गरि सरायँ नाच हुने स्थानमा खेल्नेको संख्या पहिले भन्दा घटदै जान थालेको छ ।
मन्दिरमा चढाएको तरवार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाँच हो ।
यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ । पञ्चेबाजा सहित तरबार र खुँडा नचाइ एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ ।
यसरी नाच्दा देवी भगवती प्रसन्न हुने पुराना पुस्ताको भनाइ छ । पछिल्लो समय युवा पुस्ताहरुमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधि भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको सराय नाच हेर्नेको संख्या पनि कम हुँदै गएको छ ।
पुराना पुस्ताहरु सकिंदै जानु र नयाँ पिँढीहरु विदेश पलायन हुनु र भएका पनि नाच्नतर्फ चासो नदेखाउनुले पुराना कला संस्कृति लोप हुँदै जान थालेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4