 
																			१५ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको भन्दै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुँदा वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।
लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।
उक्त अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवम् संस्थागत व्यवस्था गरेको जानकारी गराउँदै यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका काम थालनी गरेको समेत जानकारी दिए ।
उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए ।
नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए ।
बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए ।
यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।
विशेष गरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवम् शिक्षा क्षेत्रमा लगानी भित्राउने बारे केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरुका बारेमा ब्रिटिश कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गरेका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिवद्ध रहेको लगानीकर्तालाई आश्वासन दिए ।
लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरुको बारेमा प्रस्तुति दिंदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताए ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरु, भारत तथा चीनसँग विद्युत् विकास तथा खरीदका लागि भएका सम्झौताहरु एवम् जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पूजीको आवश्यक रहेकोले लगानीकर्ताहरुको लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4