+

७ तरिका, घरेलु विधिबाट निको हुन्छ टन्सिल

२०८० मंसिर  २४ गते १८:३६ २०८० मंसिर २४ गते १८:३६
७ तरिका, घरेलु विधिबाट निको हुन्छ टन्सिल

घाँटीको भित्री भागमा हुने एक प्रकारको संक्रमण टन्सिलाइटिस हो । जसलाई बोलीचालीको भाषामा टन्सिल भनिन्छ ।

जबकि, टन्सिल एक प्रकारको रोग नभएर हाम्रो जिब्रोको अन्तिम भागमा रहेको मासुको डल्लो आकारको ग्रन्थी हो । यसले श्वासप्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्छ । यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने  हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं ।

टन्सिल हुँदा घाँटीमा पोल्ने, दुख्ने, केही खान, पिउन र थुक निल्नसमेत गाह्रो हुन्छ । हल्का ज्वरो पनि आउन सक्छ ।

टन्सिल भएमा घरेलु उपचार गर्न सकिन्छ । यसका केही विधि प्रचलित र प्रभावकारी छन् ।

१. दालचीनी र मह

महले धेरैजसो रोगमा रामवाण जस्तै काम गर्छ । टन्सिलको समस्यामा दालचीनी र मह दुबै लाभदायक हुन्छ । दालचीनीमा दुखाइ कम गर्ने गुण हुन्छ । साथै, महमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण गराउने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

टन्सिल निको पार्न एक चम्चा महमा दुई चिम्टी दालचीनीको धुलो मिसाएर दिनमा दुईदेखि तीन पटक पिउन सकिन्छ ।

२. दूध, बेसार र कालो मरिच

टन्सिलको अर्को प्रभावकारी घरेलु उपचार भनेको दूध, बेसार र मरिचको मिश्रण हो । यसको मिश्रण एकसाथ खाँदा टन्सिलको समस्या निको हुन्छ । बेसारमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले घाँटी दुख्ने र सुन्निने समस्यालाई कम गर्छ । साथै, मरिचले घाँटी सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ ।

यसका लागि एक गिलास तातो दूधमा एक चिम्टी बेसार र आधा चम्चा कालो मरिच मिसाएर राति सुत्नुअघि पिउनुपर्छ ।

३. अदुवा र मह

अदुवामा एन्टी-ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । घाँटीको संक्रमण र दुख्ने समस्याबाट छुटकारा पाउन अदुवा पोलेर मुखमा राख्नुपर्छ । यसमा मह मिसाएर पनि खान सकिन्छ ।

४. त्रिकटु चुर्णर मह

टन्सिलको समस्याबाट छुटकारा पाउन त्रिकटु चुर्ण सेवनगर्न सकिन्छ । त्रिकटु चुर्ण अर्थात् तीनवटा पिरो तत्व सुकेको अदुवा, पिपली र कालो मरिचको बराबर मात्रा मिसाएर बनाइएको मिश्रण हो । यो मिश्रणमा  एन्टी —ब्याक्टेरियल, दुखाइ निवारक र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।

५. तुलसी पानी

तुलसी औषधीय गुणयुक्त वनस्पती हो । तुलसीमा प्रतिरोधात्मक क्षमता बढाउने, ब्याक्टेरिया मार्ने गुण हुन्छ । त्यसैले, टन्सिल हुँदा पाँचवटा जति तुलसीको पात पानीमा उमालेर पनि पिउन सकिन्छ । कुनै समस्या नै नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म  तातो पानीसँग पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

६. नुन पानी कुल्ला गर्ने

टन्सिल भएमा मनतातो पानीमा नुन राखेर कम्तिमा ५ मिनेट कुल्ला गर्न सकिन्छ । यसरी कुल्ला गर्दा मुखमा भएको हानिकारक जिवाणु पखाल्ने काम गर्छ । र, घाँटी सुन्निएको ठीक पार्छ ।

७. कागती पानी

कागतीमा भिटामिन सि पर्याप्त पाइन्छ । कागतीको रसमा तातो पानी मिसाएर पिउँदा टन्सिल निको हुन्छ ।

सुझाव

टन्सिलको सामान्य अवस्थामा घरेलु उपचार विधि लाभदायक हुन्छ । यद्यपि यो लामो समयसम्म भइरहेको छ र धेरै दुःख दिएको छ भने चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ ।

घरेलु विधि टन्सिल टन्सिल निको बनाउने उपाय टन्सिलाइटिस
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?