३० साउन, चितवन । चितवनको मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ ।
साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग र बागमती प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्ति पनि प्रदान गरिरहेको छ । ती निकायले छात्रवृत्तिमा छोरीबुहारीहरुलाई प्राथमिकता दिएपछि क्याम्पसमा २५ प्रतिशतभन्दा बढी विद्यार्थीले विभिन्न तहका छात्रवृत्ति पाएका हुन् ।
क्याम्पसका प्राचार्य भोजराज न्यौपाने क्याम्पसमा पढ्न चाहने जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण पढ्न नरोकिएको बताए । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव गरिएअनुसार अत्यावश्यक विद्यार्थीका लागि छात्रवृत्ति प्राप्त हुने गरेको छ । वार्षिक ५० जनाभन्दा बढीले आयोगबाट प्रत्यक्ष रुपमा छाात्रवृत्ति पाउने गरेका छन् ।
बागमती प्रदेश सरकारले दिएको छोरीबुहारी छात्रवृत्ति कार्यक्रमबाट २६ जना लाभान्वित भएका छन् । क्याम्पसमा कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पठनपाठन हुन्छ । कक्षा १२ मा दुई सय ६१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा भर्ना हुने क्रम जारी छ ।
स्नातकमा शिक्षा र व्यवस्थापन सङ्कायमा सात सय विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तरका यिनै दुई सङ्कायमा दुई सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार क्याम्पसमा आउने विद्यार्थीमध्ये ४० प्रतिशतभन्दा बढी जिल्ला बाहिरका छन् ।
देशका झन्डै ३६ जिल्लाबाट विद्यार्थीहरु यहाँ पढ्न आउने गरेको उनले बताए । समाजसेवी मैयादेवी श्रेष्ठले स्थापना गरिदिनुभएको यस क्याम्पसमा बिहानी कक्षा नेपाली र अङ्ग्रेजी विषयमा सञ्चालन हुँदै आएको छ ।
अध्ययनरत विद्यार्थीमध्ये झन्डै आधा दिनमा अन्यत्र काम गर्दछन् । अध्यक्ष पौडेलले भने, ‘हाम्रो क्याम्पसमा पढ्ने धेरैले दिउँसोमा जागिर गर्दै आएका छन् ।’
विगतका वर्षहरुमा क्याम्पसका प्राध्यापक, कर्मचारी विभिन्न जिल्लाहरुमा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए । पछिल्ला वर्षहरुमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए), भौतिक पूर्वाधार, पठनपाठनमा प्रयोग हुने प्रविधि, छात्रवृत्तिलगायत कारण विद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘अहिले हाम्रो क्याम्पसमा छिरेको विद्यार्थी भर्ना गरेर मात्र बाहिरिन्छन् ।’
‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी श्रेष्ठले भरतपुर महानगरपालिका–१० मा १२ कट्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झन्छन् । समाजसेवी श्रेष्ठको जीवनको अन्तिम क्षणसम्म सेवामा लाग्नुभएका पौडेल क्याम्पसको अध्यक्ष भएसँगै भएका परिवर्तनले पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढाउन सकेको हो ।
उनले भने, ‘आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट बनाउनका लागि हामी लागिरहेका छौ।” क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको पौडेलको भनाइ छ । समाजसेवी एवं राजनीतिकज्ञ मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उनको भनाइ छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4