
काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौ सिजन आयोजना हुने भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमन्डका अध्यक्ष बाबुराजा महर्जनले ४ र ५ माघमा कार्यक्रम हुने जानकारी दिए ।
उत्कृष्ट मोडलले शीर्ष उपाधिसहित डेढलाख रुपैयाँ र एक वर्षसम्म व्यवसायिक दूतको जिम्मेवारी पाउने जनाइएको छ । बलिउडमा पनि प्रस्तुति दिने अवसर पाउने उनले जनाए ।
प्रतियोगितामा सहभागी हुन दर्ता खुला गरिएको छ । अघिल्ला संस्करणका विजेता साम्राज्ञी शाहले घरेलु फिल्ममा, अञ्जली लामाले अमेरिकाको न्यूयोर्क फेसन सप्ताहमा र मुना गौचनले भारतीय फिल्ममा आफूलाई स्थापित गरेको अध्यक्ष महर्जनले उदाहरण पेश गरे ।
‘क्लासिक डायमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेसन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्धन गर्दै आएका छौँ’ उनले भने ।
प्रतियोगिताको लागि काठमाडौं र पोखरामा अडिसन गरिने भएको छ । अडिसनमा छनोट हुनेलाई एक महिनाको प्रशिक्षण दिइनेछ । उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेसन तथा ज्वेलरी शोमा प्रस्तुत गरिने भएको छ ।
अमेरिकामा समेत तीन आउटलेट चलाउँदै आएको क्लासिक डायमन्डले त्यहाँस्थित नेपाली मोडलबीच पनि अडिसन लिने भएको छ । अडिसनमा चयन भएका दुईजना मोडललाई नेपालमा हुने प्रतिस्पर्धामा मौका दिइनेछ ।
शीर्ष विजेताले एक लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ र सहविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डायमन्ड’का विजेतालाई पुरस्कृत गरिनेछ ।
प्रतियोगितालाई रेहान शाहले कोरियोग्राफी गर्नेछन् । पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘फेस अफ क्लासिक डाइमन्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडललाई यो क्षेत्रमा ल्याएको बताइन् । यो प्रतियोगिताका धेरै विजेता तथा सहभागीले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले बताइन् ।
अर्की पूर्वमिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डायमन्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् । मोडल सविता कार्कीले पनि प्रतियोगिताबारेको अनुभव पत्रकारलाई सुनाइन् ।
प्रतिक्रिया 4