+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आफ्नो कम्पनीबारे प्रश्न उठेपछि कड्किए ऊर्जा राज्यमन्त्री कान्छाराम

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते २०:२२

३० कात्तिक, काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) आफ्नो कम्पनीबारे प्रश्न उठाउनेहरूसँग कड्किएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तामाङको कम्पनी कालोसूचीमा परेको भनेर विषय प्रवेश गराएका थिए ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बिहीबार एउटा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा दुई वटा ठेक्कामा कान्छाराम कन्स्ट्रक्सनले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरको उल्लेख छ ।

सूचनामा पटक–पटक तोकिएको म्यादभित्र कार्य सम्पन्न गर्न मौखिक, लिखित रूपमा जानकारी गराउँदा पनि अटेर गरेको विषयमा निर्देशनालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सूचनालाई बेवास्ता गरेको खण्डमा ठेक्का सम्झौताका शर्तहरू र कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । सोही सूचनालाई लिएर सांसदहरूले प्रश्न उठाएका हुन् ।

तामाङलाई स्पष्टीकरणको मौका हुन्छ भन्दै महामन्त्री शर्माले ध्यानाकर्षण गराए, ‘उहाँ जोडिएको एउटा संस्था कालोसूचीमा परेको विवरण सार्वजनिक भएको छ, उहाँको ध्यानाकर्षण गम्भीर रूपमा गराउन जरुरी छ ।’

ऊर्जा राज्यमन्त्री तामाङले कुनै गलत काम नगरेको जिकिर गर्दै भने, ‘आजको यो बैठकको छलफलको विषय अनुसार कालोसूचीको वा सेतोसूचीको प्रस्ताव ल्याउने कुरा ठीक होइन । तथापि माननीय विश्वप्रकाश शर्माले विषय ल्याइहाल्नुभयो अब म यसको जवाफ दिन तयार छु ।’

कान्छाराम कन्ट्रक्सन कम्पनीबाट आफूले साढे दुई वर्ष अगाडि नै राजीनामा दिएको उनको प्रष्टीकरण थियो । ‘मैले माननीय हुनुभन्दा अगाडि, माननीय हुनका लागि टिकट पाउनुभन्दा अगाडि मैले त्यो संस्थाबाट हात उठाएर बसेको व्यक्ति’ ऊर्जा राज्यमन्त्री तामाङले प्रष्टीकरण दिए ।

प्रचलित कानुन नियम अनुसार आफूलाई पार्टीले पठाएपछि ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै तामाङले थपे, ‘कानुनभन्दा ठूलो केही पनि हुँदैन । कानुनले ठहर्‍यायो भने म अहिले एक मिनेटमै मन्त्री छोडेर आफ्नो पेशा, व्यवसाय, परिवारमा काम गर्न तयार छु ।’

२०४४ सालमा दर्ता भएको कान्छाराम कन्ट्रक्सनबाट सांसदमा उम्मेदवारी दिने तयारीसँगै अलग भएको दोहो¥याउँदै तामाङले ‘गलत गरेको पुष्टि गर्न’ चुनौती दिए ।

आफ्नै पार्टीको महामन्त्रीले प्रश्न गरेको भन्दै जवाफ दिनेक्रममा तामाङले पटकपटक विश्वप्रकाश शर्माको नाम लिए । ‘महामन्त्रीज्युले नै आज प्रश्न उठाउनुभयो । यहाँ महामन्त्रीज्यु हुनुहुन्छ, माननीय हुनुहुन्छ, तपाईंलाई धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘तर, अहिले कानुनले, नीतिले, नेपालको संविधानले मलाई गलत ठह¥यो भने म माननीयबाट मात्रै होइन कि राजनीतिबाटै बाहिरिन तयार छु ।’

ऊर्जा राज्यमन्त्री तामाङले यति स्पष्टीकरण राखेर रोकिएसँगै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रश्न उठ्नुलाई अन्यथा लिन नहुने भन्दै तामाङसँग थप जवाफ खोजे ।

‘माननीयले कानुनी रूपमा कम्पनी छोड्नुभयो होला तर, कतिपयले प्रश्न उठाएका छन्’ पन्तले भने, ‘तपाईंले हिजो लगाउनुभएको ठेक्काको धेरै सडक अधुरो र अपूरो छोडेको भन्ने छ । मन्त्रीकै कम्पनीले यसो गरिरहेको छ अरुको के कुरा भन्ने प्रश्न आएको छ ।’

सांसद पन्तले ठेक्का लागेका सडकहरूको काम छिटो सकाउने भूमिका खेल्न पनि ऊर्जाराज्यमन्त्री तामाङलाई आग्रह गरे ।

जवाफमा तामाङले समस्या के भयो भन्दा पनि किन भयो हेर्न आग्रह गरे । गलत गरेको भए त्यसको सजाय भोग्न कम्पनी तयार रहनुपर्ने उनको तर्क थियो ।

‘कानुन छ त्यहाँ, अनुगमनको नीति नियमहरू छन् । राज्यले त्यसै ज्वाईंलाई छोरी मागे झैँ त्यो (ठेक्का) दिएको छैन, अर्बौंको सम्पति राखेर काम गरेको छ’ उनले भने, ‘भोलि त्यो काममा कानुन बमोजिम तिर्न कान्छाराम कन्सट्रक्सन तयार छ ।’

बहस लम्बिन खोजेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले नै रोक्दै भने, ‘धन्यवाद माननीय ज्यु, काम होस्, कुरा त्यति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?