+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तस्करी रोक्न खोज्दा सशस्त्रका सईको ‘हत्या’ मा प्रयोग भएको स्कर्पियो भारतीय

भारतीय नम्बर प्लेटको स्कर्पियो खुलेपछि सिरहा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १४:०१
एसएसबीका हेड कन्सटेबल देवराज शर्मा (बायाँ) र सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादव (दायाँ)

१७ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी भारतीय नम्बर प्लेटको रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा उक्त स्कर्पियो भारतीय नम्बर प्लेटेको रहेको खुलेको हो। सिरहाका एसपी रमेश पण्डितले स्कर्पियोको नम्बर प्लेट भारतीय रहेको खुलेको अनलाइनबरलाई जानकारी दिए।

भारतीय नम्बर प्लेटको स्कर्पियो खुलेपछि सिरहा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो। यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।

यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।

सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो ।

४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन् । सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दुबै जना नेपाली रहेको एसपी पण्डितले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको र अहिले नै संलग्नता रहे/नरहेको भन्ने यकिन हुन बाँकी नै रहेको उनले बताए ।

सशस्त्रका सई यादवको मात्रै होइन २ वर्षअघि मदिरा तस्करकै समूहबाट एसएसबीका जवानले समेत ज्यान गुमाएका थिए । २०७९ भदौ १३ को राति मदिरा तस्कर समूहले नेपालबाट भारतर्फत मदिरा तस्करी गर्दै थियो ।

सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कर्पियो जीप तीव्र गतिमा जोगिया हुँदै जयनगरतर्फ जाँदै गरेको सूचना एसएसबीले पाएको थियो । भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई एसएसबीका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजेका थिए ।

तर त्यो स्कर्पियो हेड कन्सटेबल शर्मालाई किच्दै अगाडि बढ्यो । एसएसबीका कन्सटेबल शर्माले घटनास्थलमै ज्यान गुमाए । त्यतिबेला भारतीय पक्षले सशस्त्र प्रहरीकै ‘सेटिङ’ मा भारततर्फ घरेलु मदिरा तस्करी हुने गरेको आरोप समेत लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?