 
																			काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड नेपथ्य अब सुनिने मात्र हैन, पढिने सामग्रीका रुपमा समेत आउँदैछ । स्थापनाको साढे तीन दशकपछि नेपथ्यको जीवनीमा आधारित पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन बुधबारदेखि खुला हुँदैछ ।
‘हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिंदै आएका छौं,’ ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले भने, ‘आजसम्म नसोधिएका थुप्रै प्रश्नको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’
पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतको खोजीमा गरिएका संघर्षको अनुभव पढ्न सकिन्छ । संगीतबाट आर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नको जानकारी पनि यसले समेटेको छ । पुस्तकमा ब्याण्डका उज्याला पक्ष मात्र नभई भए गरेका अँध्यारा पाटा र सिकाइलाई प्रस्तुत गरिएको नेपथ्यले जनाएको छ ।
ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् । लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगञ्ज : मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन् ।
‘विद्यार्थी कालमा ब्याण्डको प्रशंसक, त्यसपछि कला पत्रकार हुँदै कालक्रममा नेपथ्यको नजिक बस्ने अवसरले मलाई ब्याण्डका धेरै पाटोबारे परिचित हुने मौका दियो,’ गिरी भन्छन्, आफूले थाहा पाएका कुरामा थप खोजी र अध्ययन मिसाएर नेपथ्य पुस्तक तयार पारेको छु ।’
‘गैरआख्यानको जीवनी विधामा उभिएको पुस्तकले नेपथ्य ब्याण्डको अन्तरंग कथा त भन्छ नै, नेपाली संगीतको एक कालखण्ड–कलाखण्ड अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी खुराक दिने अपेक्षा गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सन् २०२२ मा नेपथ्यले महिना दिन लामो देशव्यापी सांगीतिक यात्रा गरेको थियो । पुस्तकले पाठकलाई ब्याण्डसँगै सांगीतिक यात्रामा सहभागी गराउने विज्ञप्तिमा उल्लेख छ । यो पुस्तकलाई पब्लिकेसन नेपालयले ल्याएको हो ।
‘यो वर्ष नेपालय र नेपथ्य एकअर्कासँग मिलेर अघि बढेको २५ वर्ष मनाउने अवसर पनि जुरेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘नेपालयले आफूलाई नेपाली वाङमयसँग जोड्ने हिसाबले पब्लिकेसन नेपालयको थालनी गरेको पनि २० वर्ष पुगेको मौका पारेर नेपथ्य पुस्तक आउनुलाई उत्सवकै रूपमा लिएका छौं ।’
‘नेपथ्य पुस्तकबाट हामीले नेपाली प्रकाशनको बजार व्यवस्थापनमा फेरि एउटा नयाँ मार्गको सम्भावना खोज्ने प्रयास गरेका छौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसपालि पाठकसम्म पुस्तकको सहज पहुँच स्थापना गर्न नौलो योजनासहित हामी अघि बढ्दैछौं ।’
पुस्तक सार्वजनिकसँगै ब्यान्डको वेबसाइटबाट अग्रिम बुकिङका लागि १३ वटा फरक स्किम उपलब्ध गराइने जनाइएको छ । यो योजनामा सहभागी हुने पाठकले २५ रुपैयाँ तिरेर पुस्तक हात पार्न सक्नेछन् । जबकि सोही पुस्तक खरिद गर्नेले दुई हजार २५ रुपैयाँ पनि तिर्न सक्नेछन् । योजनामा सहभागी पाठकले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्नेछन् ।
नेपथ्यको नेपथ्य कथा रहेको, ‘नेपथ्यः लोकप्रिय यात्राको अन्तरंग’ २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुने जनाइएको छ । ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ छ ।
यसैबीच, नेपथ्य ब्याण्डले आगामी मार्च महिनामा अस्ट्रेलिया टुर गर्ने तयारी गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4